सुदुरपश्चिमः एक मन्त्री गए, अर्का मन्त्री आए



हेटौंडा ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचना भट्टले प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट बर्खास्त गरेकै दिन नयाँ मन्त्री नियुक्ति गर्नुभयो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त हुनुभयो । ‘पदीय मर्यादाविपरीत गतिविधि गरेको’ भन्दै मुख्यमन्त्री भट्टले सोडारीलाई मन्त्री पदबाट मंगलबार विहान बर्खास्त गरी साँझ नयाँ मन्त्रीलाई सपथ खुवाउनु भएको थियो ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले पनि भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितलाई बर्खास्त गर्नुभएको थियो । तर, प्रदेश–३ मा नयाँ मन्त्री नियुक्त भएका छैनन् । प्रदेश–३ मा भने मन्त्री बर्खास्त भएको करिब २ साता बित्दा पनि मन्त्री नियुक्त हुन सकेका छैनन् । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा मुख्यमन्त्री आफैंले लिनुभएको छ ।

मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई कात्तिक १६ गते पदबाट बर्खास्त गर्नुभएको थियो । प्रदेश–३ मा मन्त्री नियुक्तिमा ढिलाई हुनुको कारण प्रदेश मुकामसँग जोडिएको दाबी गरिएको छ ।

स्थापित मन्त्रीबाट बर्खास्त भएपछि मुख्यमन्त्री फेर्ने र प्रदेशको स्थायी मुकाम हेटौंडाबाट सार्ने योजनामा लागेको जनाइएको छ । त्यसका लागि पूर्वमन्त्री स्थापितले काठमाडौंमा गोप्यरुपले छलफल गरिरहेको बताइएको छ ।

स्थापितलाई मन्त्रीबाट हटाएलगत्तै उहाँ प्रदेश सरकारको समीकरण नै फेर्ने खेलमा लागेपछि मुख्यमन्त्री पौडेललाई तत्काल अर्को मन्त्री नियुक्त गर्न समस्या भएको स्रोतको भनाइ छ ।

देशको केन्द्रीय राजधानीसमेत यही प्रदेशमा पर्ने भएकाले मुख्यमन्त्री नयाँ मन्त्री नियुक्ति गर्ने प्रक्रियामा ‘उचित समय’, प्रधानमन्त्री केपी ओलीको सल्लाह र निर्देशनको प्रतिक्षामा रहनुभएको बुझिएको छ । हेटौंडामा नयाँ मन्त्रीका आकांक्षी धेरै देखिएपछि मुख्यमन्त्री द्विविधामा पर्नुभएको छ ।

हेटौंडालाई नै स्थायी राजधानी बनाउन चाहने मुख्यमन्त्री र यहाँबाट सार्न लबिङ गर्दै आउनुभएका स्थापितबीच हाल चर्किएको वाकयुद्धका कारण पनि मुख्यमन्त्रीलाई नयाँ मन्त्री नियुक्तिमा अप्ठ्यारो परेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्