प्रचण्ड र गृहमन्त्री थापाद्वारा राहुघाट जलविद्युत आयोजनाको स्थलगत निरीक्षण



म्याग्दी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापाले आज राहुघाट जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । धर्मपत्नी सीताको उपचारका लागि म्याग्दीको तातोपानी कुण्डमा पुग्नुभएका अध्यक्ष प्रचण्ड र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्घाटनमा म्याग्दी आउनुभएका गृहमन्त्री थापाले जलविद्युत आयोजनाको अवलोकन गर्नुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले मङ्गलबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका–३, तिल्केनीचौरमा निर्माणाधीन अवस्थामा रहेको ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएको छ । २०६६ सालदेखि निर्माण सुरु गरिएको राहुघाट जलविद्युत आयोजनाले निर्माणको गति लिन नसकेपछि यसअघिको ठेकदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामार्फत पुनः निर्माणकार्य थालिएको छ । विद्युत उपयोग गर्ने समयसम्म पनि आयोजनाको सीमित संरचना निर्माणबाहेक अन्य कामले तीव्रता नपाएपछि सर्वत्र चासोको विषय बन्दै गैरहेको छ ।

यसैगरी प्रचण्डसहितको टोलीले बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरको दर्शन गरेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापालाई मन्दिरमा स्वागत गर्नुभएको थियो । गलेश्वरमा झण्डै १५ मिनेटको समय बिताउनुभएका प्रचण्डले गलेश्वर क्षेत्रका बारेमा अध्यक्ष केसीबाट जानकारी लिनुभएको छ । भेटघाटका क्रममा अध्यक्ष केसीले धार्मिक पर्यटनको केन्द्र बन्दै गैरहेको हुँदा गलेश्वर मन्दिरमा आवश्यक पूर्वाधार विकासको माग गर्नुभएको थियो । प्रचण्ड र थापाले मन्दिरका पुजारीबाट फुलप्रसाद र टिकाग्रहण गर्नुभएको थियो । विशिष्ट व्यक्तित्वको भ्रमणले गलेश्वर मन्दिर र तातोपानी कुण्डको प्रचारप्रसार तथा विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले म्याग्दी सदरमुकाम बेनीस्थित बेनीबजार संरक्षण आयोजनाको पनि स्थलगत रुपमा अवलोकन गर्नुभएको छ । नेताद्वयले गत भदौ महिनाको अन्तिमतिर आएको बाढीका कारण भत्किएको तटबन्धको अवलोकन गर्नुभएको थियो । प्रचण्ड र गृहमन्त्री थापाको टोलीमा गण्डकी प्रदेशका सांसद विनोद केसी, पूर्व सभासद गोविन्दप्रसाद पौडेल, नेकपा नेता हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर लगायतको उपस्थिति थियो । प्रचण्ड र थापाले मल्लाज जाने पदमार्गमा मर्निङ वाक गर्नुभएको थियो ।

लामो समयदेखि बिरामी पर्नुभएकी प्रचण्डकी धर्मपत्नी सीता दाहालको डाक्टरको सल्लाहमा तातोपानी कुण्डमा उपचारका लागि प्रचण्ड म्याग्दी आउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँसँगै छोरी गंगा दाहाल, स्वकिय सचिव जोगबहादुर महारा, गृहमन्त्री थापा, उहाँकी धर्मपत्नी नैनकला थापा, छोरी ज्वाँईसहित २४ जनाको टोली म्याग्दीमा रहेको छ । सदरमुकाम बेनीको होटल याक एण्ड रेष्टुरेण्टमा बसेको अध्यक्ष प्रचण्डसहितको टोलीलाई लक्षित गरेर म्याग्दीमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । बुधबार नेकपा म्याग्दीले आयोजना गर्ने कार्यक्रममा नेताहरु सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्