देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट रक्त क्यान्सर पीडितलाई ३ लाख संकलन



????????????????????????????????????

लमजुङ, (नेस)। लमजुङमा रक्त क्यान्सर पीडित ५ वर्षीय बालकको उपचारका लागि देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट ३ लाख रुपियाँ संकलन गरिएको छ। बेसीशहर नगरपालिका–३ को गाउँशहरस्थित थुम्काडाँडाका प्रशान्त मजाकोटीको उपचारका लागि सो गाउँको जनज्योति युवा क्लबका युवाहरूले देउसीभैलो र सांस्कृतिक कार्यक्रममार्फत रकम संकलन गरेका हुन्।

थुम्काडाँडाका सुकबहादुर र प्रमिला मजाकोटीका छोरा प्रशान्तको उपचारमा ठूलो रकम आवश्यक पर्ने भएपछि रकम संकलन गरिएको हो। रक्त क्यान्सर पीडित बालकको उपचारमा ठूलोराशी खर्च हुने चिकित्सकले बताएपछि आफूहरूले देउसीभैलो र सांस्कृतिक कार्यक्रम गर्दै सहयोग रकम जुटाएको क्लबका सल्लाहकार एवम् बालकका ठूलोबुबा अजय मजाकोटीले बताए।

उहाँका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट २ लाख ८५ हजार रुपियाँ जुटेको छ। सांस्कृतिक कार्यक्रममा गायक तथा संगीतकार शिवराज गौतम, गायक डीबी मजाकोटी, लमजुङ कलाकार संघका अध्यक्ष सुवास कुँवर, गायक मिलन घिमिरे, नवगायक सुजन नेपाली, विद्या लम्साललगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै, जनज्योति युवा क्लब र छिमेकी क्लबमा सहभागी युवायुवतीले पनि गीत तथा नृत्य प्रस्तुत गरेर आर्थिक संकलनमा सहयोग पु¥याएको क्लबका पूर्वअध्यक्ष अम्भिरप्रसाद विकले बताए। सो अवसरमा बेसीशहरस्थित मञ्जरी नाट्य समूहमा आबद्ध कलाकारले लागूऔषध दुव्र्यसनका विरुद्धमा सचेतनामूलक सडक नाटकसमेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्