ऐतिहासिक तान्त्रिकमाथि बन्यो जामनः गुभाजु



ऐतिहासिक विषयमा निर्मित नेपाल भाषाको फिल्म जामनः गुभाजु प्रदर्शनका लागि तयार भएको छ।

फिल्मका निर्मातामध्येका एक तथा निर्देशक रवि सायमीले फिल्म तत्कालीन नेवार समाज, नेवार संस्कृति तथा देश हितका लागि अमूल्य योगदान दिने नामुद तान्त्रिक जामन गुभाजुको जीवन कथालाई लिएर बनाइएको बताए। उनका अनुसार काठमाडौंको मुसुम्वहा निवासी जामनः गुभाजु करिब ४ सय वर्षअघि राजा प्रताप मल्लको शासनकालका नामुद तान्त्रिक थिए।

उनले देशमा सहकाल ल्याउन प्रताप मल्ललाई दीक्षा दिई काठमाडौंको ब्रम्हटोलस्थित जप तुं १२ वर्षे इनारभित्र पठाई स्वयम्भूको शान्तिपुरबाट निकालेको अत्यन्तै प्रख्यात किंबदतीमाथि फिल्म बनाइएको हो। ‘देशमा पानीको हाहाकार भएपछि जनता राजा प्रताप मल्लकहाँ गुहार्न गए। सिन्दुर जात्रा गरी देशमा सहकाल ल्याउनका लागि जामनः गुभाजुबाटै दीक्षित राजाले शान्तिपुरमा गएर नागको रगतबाट लेखिएको पुस्तक ल्याएर गुभाजुलाई दिएको कथा पनि यसमा समावेश छ’, निर्देशक सायमीले भने– ‘त्यतिबेला हिन्दुस्तानबाट आएका एक चटकेले देशमा भ्रम फैलाइरहेकाले उनलाई आफ्नो तन्त्र विद्याबाट आछुआछु पार्दै देशबाटै लखेटेको कथालगायत जामनः गुभाजुको निजी जीवनलाई फिल्ममा उतारेको छु। यो फिल्म पैसा कमाउने उद्देश्यले नभई जामनः गुभाजुको जीवनीलाई अगाडि ल्याउने उद्देश्यले बनाएका हौं।’

फिल्मको निर्माण संस्था द वाइल्ड बसल्स प्रोडक्सनका मन्दिरा मानन्धर तथा जेस्सी पेन्नी इन्टरटेन्टमेन्टका राजेन्द्रभक्त श्रेष्ठले फिल्म ४० लाख रुपियाँ बढीको लागतमा बनेको बताए। फिल्मले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत विशेष छाप छोड्ने दाबी निर्माण तथा निर्देशन पक्षको छ। निर्माता निर्देशक सायमिका अनुसार मंसिर महिनामा रिलिज गर्ने तयारीमा रहेको फिल्ममा भीएफएक्स र कलर ग्रेडिङमै धेरै खर्च भएको छ। ‘तत्कालीन परिवेश र समयलाई हुबहु ढाल्नका लागि विशेष भीएएफएक्सको सहारा लिएका छौं। फिल्ममा ४० प्रतिशत भीएफएक्स प्रविधि प्रयोग गरेका छौं।

नेपाल भाषाका फिल्म कम बजेटको हुने हुनाले प्रायशः कलर ग्रेडिंग हुने गर्दैनथ्यो’, सायमी भन्छन्– ‘तर यति धेरै लगानी गरेर फिल्म बनाउँदा पनि नेपाल भाषाका फिल्मलाई रिलिजमा भने समस्या छ। भाषिक फिल्म भएकाले फिल्म वितरणमा नै प्रमुख समस्या भइरहेको छ। अहिलेको अवस्थामा फिल्म हलमा लगाउने त सम्भवै छैन भने पनि हुन्छ।’ सायमीको गुनासो छ– ‘हल नपाइने कारण नेपाल भाषाका फिल्महरू पहिलेदेखि नै च्यारिटी शोमा सीमित हुँदै आएको छ। अहिले हामीले पनि त्यस्तै गर्नुपर्ला। यसका लागि नेपाल भाषाका विभिन्न संघसंस्थाले सहयोग गर्दै छन्। फिल्ममा साउन्ड सिस्टमदेखि लिएर सबैमा अत्याधुनिक एवं गुणस्तरीय प्रविधि प्रयोग गरिएकाले पनि हामी यस फिल्मलाई रामै्र हलमा निरन्तर प्रदर्शन गर्ने पक्षमा रहेका छौं।’

फिल्ममा मुख्य पात्र जामनः गुभाजुको भूमिका सुशील राजोपाध्यायले निर्वाह गरेका छन् भने अन्य कलाकारमा सरस्वती मानन्धर, अर्णपूर्णेश्वरी श्रेष्ठ, पुष्करभक्त माथेमा, ओमशंकर श्रेष्ठ, साकार पन्त, संघरत्न शाक्य, सुलोचना श्रेष्ठ, उदेन न्हुसायमि, मन्दिरा मानन्धर, लक्ष्मीनाथ तिमिल्सिनालगायत रहेका छन्। सुशील राजोपाध्यायको कथा र पटकथामा बनेको फिल्ममा भवानी सिलाकारको छायांकन रहेको छ। फिल्मको अंग्रेजी सवटाइटल ओमशंकर श्रेष्ठले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्