मेसी फर्केको खेलमा बार्सिलोना हा¥यो



लन्डन, (एजेन्सी)
चोटका कारण तीन साता पछि कप्तान लियोनल मेसी मैदान फर्किएको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ ।
आइतबार राति घरेलु मैदानमा भएको ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना बेटिससँग ४–३ गोलले पराजित भएको हो । बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ३४ औं मिनेटमा जोआकिनले बेटिसको अग्रता दोब्बर पारे ।
यता ६८ औं मिनेटमा लियोनेल मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तरलाई घटाएका थिए । तर त्यसको तीन मिनेटमा नै बेटिसका जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३–१ को अग्रता दिलाए ।

भिडालले ७९ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले अग्रता ३–२ मा झारेका थिए । इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । ८३ औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै ४–२ गोलको अग्रता बनाए । इन्जुरी टाइममा मेसीले गोल गरे पनि बार्सिलोनाको हार टार्न सकेन । हारपछि पनि लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १२ खेलबाट २४ अंक रहेको छ ।

मेड्रिडको शानदार जित
स्पेनिस ला लिगामा रियल मेड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ४–२ ले पराजित गरेको हो ।

रियलका लागि करीम बेन्जेमाले २३ औं मिनेटमा गोलको खाता खोलेका थिए । दोस्रो हाफको ५६ औं मिनेटमा बेन्जेमाको प्रहार पोस्टमा लागेर फर्कंदा डिफेन्डर गुस्ताभो कब्राललाई लाग्दै गोलमा परिणत भयो । लगत्तै सेल्टाले पनि गोल फर्कायो । भिगोका ह्युगो माल्लोले उत्कृष्ट भली प्रहार गर्दै अग्रता एक गोलमा झारे ।

रियलका लागि सर्जियो रामोसले ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै रियललाई ४–१ को फराकिलो अग्रता दिलाए । यता भिगोका ब्रेस मेन्डेजले अन्तिम मिनेटमा गोल फर्काए पनि हारबाट पर्याप्त भएन । रियलले सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेयता क्लबको यो लगातार चौथो जित हो । जितसंगै रियलले अंक तालिकामा १२ खेलबाट २० अंक जोडेको छ ।

सिटीद्वारा यूनाइटेड पराजित

म्यानचेस्टर डर्बी म्याचमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले युनाइटेडलाई ३–१ गोलअन्तरले पराजित गरको हो । सिटीको जितमा डेभिड सिल्भा, सर्जियो अग्यूरो र गोन्डोगानले गोल गरे । युनाइटेडका लागि एन्थोनी मार्सियालले एक गोल फर्काए ।
खेलको १२ औं मिनेटमा सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो । ४८ औं मिनेटमा अग्यूरोले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ५८ औं मिनेटमा सिटीका गोलकिपर एर्डसनले युनाइटेडका रोमेलु लुकाकुलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा मार्सियालले गोल गर्दै अग्रता २– १ मा झारे ।

मार्सियालको गोल पछि युनाइटेडले खेलमा फर्केने संकेत गरेपनि ८६ औं मिनेटमा गोन्डुगानले गोल गर्दै सिटीलाई ३–१ गोलको जित दिलाए । उक्त गोल हुन अघि सिटीका खेलाडीले ४४ पास सिर्जना गरेका थिए । जितसँगै ३२ अंक जोडेको सिटी अंक तालिकोको शिर्ष स्थानमा छ । समान खेलबाट युनाइटेडको २० अंक रहेको छ ।

आइतबार नै भएको अर्को खेलमा चेल्सी एभर्टनसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको हो ।
यस्तै घरेलु मैदानमा भएको खेलमा आर्सेनलले समेत फाइदा उठाउन सकेन । आर्सेनल वोल्भ्ससँग बराबरीमा रोकिएको हो । १३ औं मिनेटमा वोल्भ्सका कालाभिरोले गोल गर्दै आर्सेनलाई पछि पारेका थिए । तर ८६ औं मिनेटमा हेनरिक मेकातरियनले बराबरी गोल गरेपछि आर्सेनल हारबाट जोगिएको हो ।

प्रतिक्रिया दिनुहोस्