प्रधानमन्त्री निवासका २१ वटा कुकुरको बन्ध्याकरण



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यालयलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरलाई बन्ध्याकरण गरेको हो ।

मनुमित्र कार्यक्रमअन्तर्गत कामपाले ती कुकुरहरु व्यवस्थित गरेको हो । मनुमित्र कार्यक्रमका भेटेरिनरी कोअडिनेटर प्रविन थापाले कामपा र जेन गुडल इन्टिच्युटको सहकार्यमा ती कुकुरलाई उपचारसहित बन्ध्याकरण गरिएको जानकारी गराउनुभयो । प्रधानन्त्री निवासले निवास परिसरमा रहेका सबै कुकुर व्यवस्थापन गर्न आग्रह गरेपछि सबै कुकुरलाई बन्ध्याकरण गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले प्रधानमन्त्री निवासले आग्रह गरेपछि सो क्षेत्रमा रहेको कुुकुरलाई बन्ध्याकरण गरिएको जानकारी दिनुभयो । बन्ध्याकरण गरिएका सबै कुकुर स्वस्थ भएपछि पुनः प्रधानमन्त्री निवास परिसरमै छाडिने भएको छ । ‘तिहारअघि ल्याइएका सबै कुकुरको बन्ध्याकरण भइसकेको छ । स्वस्थ हुनासाथ सबै कुकुरलाई प्रधानमन्त्री निवास परिसरभित्रै छाड्नेछौं’ –संयोजक थापाले भन्नुभयो ।

महानगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुर व्यवस्थापन गर्ने कार्यक्रमअनुसार मनुमित्र कार्यक्रमअन्तर्गत सरकारको मुख्यालय रहेको सिंहदरबार परिसरका १ सय ६ वटा कुकुरको बन्ध्याकरण गरिसकेको छ । तीमध्ये केही कुकुरमा माइक्रोचिप्स जडान गरिएको छ । मनुमित्र कार्यक्रमअन्तर्गत विद्यालय, अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालयलगायत दुई दर्जनभन्दा बढी महत्वपूर्ण क्षेत्रमा रहेको घुमुवा कुकुरलाई बन्ध्याकरण गर्ने योजना बनाएको वातावरण व्यवस्थापन प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

कुकुर बन्ध्याकरण गर्न मनुमित्र कार्यक्रमका संयोजक थापा, व्यवस्थापक गौतम, अनुसन्धानकर्ता मनीष नेपाल र पशु चिकित्सक विकास श्रेष्ठको टोलीले कुकुरलाई उपचारसहित बन्ध्याकरण गर्ने गरेको छ । मनुमित्रका व्यवस्थापक निरज गौतमले महानगरपालिकाले निरन्तर सहयोग गरे सबै सरकारी निकाय परिसरमा रहेका सामुदायिक कुकुरलाई व्यवस्थापन गरिसक्ने बताउनुभयो ।

दुई निकायले महानगर क्षेत्रका कुकुर बन्ध्याकरण परियोजना सञ्चालन गरेपछि विभिन्न निकायबाट कुकुर बन्ध्याकरण गर्न आग्रह हुने गरेको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले समुदायलाई अघि बढाएर कुकुर व्यवस्थापनलाई अघि बढाउने योजना बनाइएको जानकारी दिनुभयो । टोलीले हालसम्म नेपाली सेनाको छाउनी परिसर, प्रहरी एकेडेमी, सिंहदरबार, आधा दर्जन विद्यालय, अस्पताललगायत क्षेत्रका कुकुर बन्ध्याकरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्