तिहारमा खालबाट एकाउन्न जुवाडे पक्राउ



नरेन्द्र केसी, घोराही, दाङ
दाङमा प्रहरीले तिहारको समयमा ५१ जना जुवाडे सहित ५ लाख २१ हजार ५ सय ७२ रुपैयाँ बरामद गरेको छ ।
कार्तिक २१, २२ र २३ गते लगातार जिल्लाका ४ ठाउँमा छापा मार्दा ५१ जुवाडेका साथबाट ५ लाख बढी रुपैयाँ सहित जुवा खेल्न प्रयोग भएका कौडा र तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसैक्रममा आइतवार राति दंगिशरण गाउँपालिका २ सरुवाडाँडाँबाट जुवा खेलिरहेका २४ जनालाई १ लाख ९ हजार ४ सय ६० रुपैयाँ र ४८ थान कौडा सहित पक्राउ गरिएको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिनुभएको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १२ टरीगाउँबाट जुवा खेलिरहेका १५ जनालाई ८७ हजार ३ सय रुपैयाँ र दुई गड्डी तास बरामद गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

यस अघि २१ गते दाङ प्रहरीले गढवा गाउँपालिका ६ परिचोकमा जुवा खेलिरहेका ७ जनालाई १ लाख ७५ हजार ७ सय २० रुपैयाँ सहित पक्राउ गरेको थियो । सोही दिन कै राती बबई गाउँपालिका ४ हापुरेबाट जुवा खेल्ने ५ जनालाई ६० हजार ९२ रुपैयाँ र १६ थान कौडा बरामद भएको पनि निमित्त प्रहरी प्रमुख घर्तीमगरले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई जुवा ऐन सम्वन्धी मुद्दा चलाएर कारवाहीको प्रकृया सुरु हुने प्रहरीले जानकारी दिएको छ ।

आगलागीमा एकको मृत्यु
तुलसीपुरमा एक घरमा आगो लाग्दा एक जनाको जलेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँ स्थित एक घरमा आगो लाग्दा ३३ बर्षीय अजय उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगो लाग्दा सुनसरी जिल्लाको भोक्ता गाउँपालिका ६ निवासी उराउको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

विद्युत सर्ट भएर आगो लाग्दा उराउ घरमा एक्लै सुतेको र आगोले ग्याँस सिलिण्डर विष्फोट भएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । उराउ ग्याविन तारको जाली बुन्ने कामका लागि दाङ आएका थिए । ठेकेदार दिलिप गुरुङको सम्पर्कमा उराउसहित चार जना तुलसीपुरमा आएर उक्त काम गर्दै आएको र अन्य तीन जना तिहार मान्न घर गएको समयमा घटना भएको हो ।

त्यस्तै दाङकै देउखुरी स्थित एक घरमा आगलागी हुदा दुई लाख बरावरको क्षती भएको छ । लमही नगरपालिका वडा नं. ७ कप्तानगञ्ज निवासी देबहादुर घर्तिको घरमा विद्युत सर्ट भएर आगलागी हुदा २५ क्विन्टल धान, दश क्विन्टल मकै, लत्ता कपडा र महत्वपूर्ण कागजात जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । आगलागी नियन्त्रण गर्न स्थानिय बासिन्दा, सुरक्षाकर्मी र दमकलको साहेताले भएको थियो ।

प्रतिक्रिया दिनुहोस्