कालीगण्डकी करिडोरको पर्वत खण्डमा काम द्रुत गतिमा



दुर्गाप्रसाद शर्मा, बिहादी, पर्वत ।

बहुप्रतिक्षित उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मिर्मी–कुस्मा–मालढुंगा खण्डको काम समयमा हुन नसकेको भन्ने जनगुनासो पछि पर्वतका सांसद पदम गिरीले समयमा काम गर्न निर्माण कम्पनीलाई दवाव दिनुभएको छ ।

व्यापक दवाव पछि सो सडक खण्डको कार्यले तिव्रता पाएसँगै स्थानीयवासीहरु समेत आशावादी बनेका छन् । कालीगण्डकी करिडोर सडक आयोजनाले प्रयाप्त बजेट विनियोजन गरेको भएपनि निर्माण कम्पनीले समयमा काम गर्न सकेको थिएन ।

आयोजनाका अनुसार यस वर्ष ३ वटा मोटरेवल पुलका लागि २१ करोड रकम बिनियोजन गरि ठेक्का प्रक्रियामार्फत काम जिम्मा लिएर पनि समयमा काम गर्न सकेको थिएन । आयोजनाले यस आर्थिक बर्ष भित्रमा ट्रयाक खोल्न बाँकी २ किलोमिटर र ३ वटा मोटरेबल पुलको कामलाई तिव्रता दिएर आगामी वर्ष हिउँदमा सडक संचालन गर्ने तयारी गरेको बताइएको भएपनि काम हुन नसक्दा स्थानीयहरु निराश बन्दै आएका थिए ।

समयमा काम सक्न निर्देशन दिएको छु सांसद गिरीले भन्नुभयो– अर्थ मन्त्रालयदेखि निर्माण कम्पनीलाई जिम्मेवार भएर काम गर्न आग्रह समेत गरिएको छ । लोकमार्गमा पर्ने पर्वतको फलेवासदेखि स्याङ्गजाको मिर्मी जोड्ने सडक अन्तर्गत खबरको भिरमा काम तिब्र पारिएको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त यो आयोजनालाई केही समय पहिला बाग्लुङ्ग खण्डबाट सुरु गरेपछि सडक निर्माणले तिव्रता पाउन सकेको थिएन । राष्ट्रिय सडकलाई पहुँचको भरमा क्षेत्रिय सडकमा झारेका कारण काम हुन नसक्दा पर्वतका सर्वसाधारण निराश बनेका थिए ।

भारत र चिनसँगको व्यापारिक सडकको रुपमा नेपाल सरकारले राष्ट्रिय योजना बनाएर शुरु गरिएको यस सडकमा भएको राजनीतिका कारण विभिन्न समयमा सडकको नाम तथा रेखाङ्कन समेत बदलिएको थियो ।

सडकमा भएको राजनीतिकरणका कारण भारतसंगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने सुनौली–मिर्मी–फलेबास–जोमसोम–कोरल्ला’ ३ सय ७७ किलोमिटर लामो सडकलाई क्षेत्रिय सडकमा झारिएको थियो भने मिर्मी–बागलुङ्ग–जोमसोम ४ सय ५७ किलोमिटर लामो कालीगण्डकी करिडोरलाई यस बर्षदेखि राष्ट्रिय गौरबको योजनाको रुपमा राखि काम तिव्र पारिएको हो ।
कालीगण्डकी करिडोरको बाग्लुङ्ग खण्डभन्दा ८० किलोमिटर छोटो तथा भौगोलिक हिसाबले पनि महत्वपुर्ण यस सडक निर्माण पछि उत्तर दक्षिण जोड्न सहज हुने कार्यालयको भनाई छ ।

कार्यालयका अनुसार यस लोकमार्गमा पर्ने पर्वतको मोदीबेणीमा मोदी नदीको पुल ९ करोड लागतमा, फलेवास र कुर्घाको बिचमा पर्ने लमायाखोलाको पुल ५ करोड ७४ लाख लागतमा, सेतीबेणीमा सेतीखोलाको पुलका लागि ६ करोड लागतमा निर्माणका लागि ठेक्का सम्झौता भई काम अगाडी बढिसकेको भएपनि निर्माण कम्पनीहरुले जिम्मा लिएर काम गरेका छैनन् ।

बाँकी रहेको मिर्मीमा आँधीखोलामा पुल निर्माणका लागि पनि आँफूले दवाव दिइरहेको सांसद गिरीले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्