पुरुष क्लब लिग भलिबल हुने



काठमाडौं, (नेस)
नेपाल भलिबल संघको आयोजनामा यही पुष १ देखि ७ गतेसम्म पोखरामा राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता गर्ने भएको छ।

पहिलो पटक काठमाडौं बाहिर संघले आयोजना गर्न लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहने आइतबार भएको पत्रकार सम्मेलनमार्फत गराइएको हो। यसअघि गत वर्षको फागुनमा भएको एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाएको १२ टिममध्ये शीर्ष ८ मा पर्न सफल टिमले लिगमा भाग लिनेछन्। संघले यो प्रतियोगिता गत जेठमा नै गर्ने बताए पनि सो बेला एसियाडको बन्द प्रशिक्षणका कारण स्थगित भएको थियो।

संघले वार्षिक कार्यक्रममध्ये क्लब लिगलाई पहिलोपटक काठमाडौं बाहिर गर्न लागेको हो। प्रतियोगितामा हरेक टिमले तीन जना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाएको छ। प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपियाँ पाउनेछन्। यस्तै चौथो हुनेले २५ हजार रुपियाँ हात पार्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले ५–५ हजार रुपियाँ हात पार्नेछन्।

प्रतियोगिताका लागि कुल २१ लाख रुपियाँ बजेट अनुमान गरिएको छ। जसमा पुरस्कारमा मात्रै ४ लाख ३० हजार रुपियाँ छुट्याइएको छ।

प्रतियोगितामा नयाँ बजार सामाजिक युथ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब (बुटवल), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्नेछन्।

शर्मा र चन्द वल्र्ड कंग्रेसमा जाने

मेक्सिको कान्कुनमा नोभेम्बर १५ र १६ तारीखमा सञ्चालन हुने एफआईभीवी को ३६ औं वल्र्ड कंग्रेसमा सहभागी हुन जाने नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महसचिव जितेन्द्रबहादुर चन्दलाई राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठले आइतबार बिदाइ गरेका छन्। सो अवसरमा राष्ट्रिय बाणिज्य बैंकका डीजीएम टेकराज जोशी, मार्केटिङ प्रमुख सुनिता मानन्धर र नेपाल भलिबल संघका पदाधिकारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्