अस्ट्रेलियाको स्ट्रबेरी काण्डमा एक महिला पक्राउ



सिड्नी, (एजेन्सी)
फलफूलभित्र सियो लुकाइएका घटना ‘स्ट्रबेरी स्केर’ सँग संलग्नता रहेको आशंकामा अस्ट्रेलियाको क्विन्सल्यान्डमा आइतबार एकजना महिलालाई प्रहरीले गिरफ्तार गरेको छ। प्रहरीले गम्भीर र विस्तृत अनुसन्धानपछि नाम नखुलाइएकी एक ५० वर्षीया महिलालाई पक्राउ गरिएको बताएको छ।

उनलाई आइतबार साँझ नै अस्ट्रेलियाको अदालतमा आपराधिक अभियोग लगाइने सुरक्षा सूत्रले जनाएको छ। गत सेप्टेम्बरमा थुप्रै क्रेतालाई स्तब्ध हुने गरी पसलमा राखिएका स्ट्रबेरीलगायतका अन्य फलफूलमा सियो भेटिन थालेपछि राष्ट्रव्यापी अनुसन्धान शुरू गरिएको थियो।

त्यतिबेला स्ट्रबेरी भेटिएका सयवटा घटनाको उजुरी परेको थियो। यद्यपि सामाजिक संजालले घटनालाई बढाइचढाई गरेको आरोप पनि लगाइएको थियो। जसका कारण कृषकहरुले हजारौं टन बेर्री कुहाउनुपरेको थियो भने पसलेहरुले बेर्री बिक्री गर्नैै छाडेका थिए।

स्ट्रबेरी खाएर पेट दुखेका एकजना मानिसलाई अस्पतालमा पुर्याइएपछि क्विन्सल्यान्डमा पहिलो घटना सार्वजनिक भएबो थियो। यसै घटनालाई मध्यनजर राख्दै अस्ट्रेलियाली सरकारले फलफूललाई अखाद्य बनाउने कसुरदारलाई १० देखि १५ वर्षसम्म लामो काराबास सजाय हुनसक्ने नयाँ प्रावधान बनाएको थियो।

यस घटनाका कारण निकै आक्रोशित बन्न पुगेका प्रधानमन्त्री स्कट मोर्रिसनले भनेका थिए– ‘यस घटनामा सरिक जोसुकैलाई पनि पक्राउ गरी कडा कारबाही गरिनुपर्दछ। परिश्रमी अस्ट्रेलियालीहरुको जीविका नै खतरामा पार्नु भनेको कुनै ख्यालठट्टा पक्कै होइन। यसबाट बालबालिका पनि निकै सन्त्रसित भएका छन्।’

क्विन्सल्यान्डमा वर्षेनी करिब १६ करोड अस्ट्रेलियाली डलर बराबरको कारोबार हुने गर्दछ। स्थानीय सरकारले पीडित कृषकहरुलाई सहयोगस्वरूप १० लाख डलर दिने घोषणा गरेको थियो। यस घटनामा संलग्न अपराधीका बारे सूचना दिने वा तिनीहरुलाई पक्रिन मद्दत गर्नेलाई सरकारले १ लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। पक्राउ परेकी यी महिलालाई सोमबार ब्रिस्वेनको अदालतमा पेश गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्