प्रथम विश्वयुद्धको सम्झनामा विश्वभरि विभिन्न कार्यक्रम,पेरिसमा थुप्रै नेताको जमघट



पेरिस, (एजेन्सी)
शान्ति सम्झौताका कारण प्रथम विश्वयुद्ध समाप्त भएको स्मरणमा फ्रान्सको राजधानी पेरिसमा आइतबार आयोजित शताब्दीयौं कार्यक्रममा विश्वका नेताहरु सहभागी भएका छन्। आर्क डी ट्रिओम्फेमा आयोजित सो विशेष समारोहमा अमेरिका र रसियाका राष्ट्रपतिद्वय डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोन र अन्य विशिष्ट व्यक्तित्वले पानी परिरहेकाले कालो छाता ओढेर मार्च गर्दा शहरभरि सुनिने गरी चर्चका घन्टा बजाइएको थियो। प्रथम विश्वयुद्धको यस ऐतिहासिक घटनाको स्मरणमा विश्वभरि विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन्।

सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्धको दौरान करिब ९७ लाख सेना र १ करोड सर्वसाधारणको ज्यान गएको थियो। उक्त दुःखद घटनाको स्मरण गर्न पेरिसमा विश्वका करिब ७० जना नेता आइपुगेका थिए। सो युद्धको दौरान मारिएका ज्ञात र अज्ञात सेनाप्रति श्रद्धान्जलि व्यक्त गर्ने कार्यक्रमको अगुवाइ राष्ट्रपति म्याक्रोनले गरेका थिए।

यसैबीच आइतबार अपरा≈न नै म्याक्रोन र जर्मनका चान्सलर एन्जेला मर्केललगायत भ्लादिमिर पुटिन र तुर्केली राष्ट्रपति रिसेप तायिप एर्दोगानले शान्ति सम्मेलन अर्थात् पेरिस पिस फोरममा सहभागिता जनाएका छन्।
शनिबार म्याक्रोन र मर्केलले उत्तरी फ्रान्सको शहर कोम्पिएनेको भ्रमण गरेका थिए। तिनीहरुले सन् १९१८ को शान्ति सम्झौताको प्रतीकका रूपमा रहेको एउटा रेलवे डिब्बाभित्र म्याक्रोन र मर्केलले स्मरण पुस्तिकामा हस्ताक्षर गरेका थिए।

तर खराब मौसमका कारण जनाउँदै युद्धमा मारिएका योद्धाहरुको समाधिमा जाने कार्यक्रम रद्द गरेपछि राष्ट्रपति ट्रम्प भने विवादमा मुछिएका छन्। त्यसै गरी आइतबार नै अमेरिकी नेताको फ्रान्स भ्रमणको विरोधमा करिब ५० जना अभियन्ताको पेरिसमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

अस्ट्रेलियामा पनि क्यानबेर्रास्थित राष्ट्रिय युद्ध स्मारकमा एक विशेष कार्यक्रममको आयोजना गरिएको छ। एडेलेडमा एउटा विमानले हजारौं संख्यामा रातो कागजले बनेका कुकुरका छाउरा खसालेका छन्।
न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा पनि प्रथम विश्वयुद्धमा मारिएकाहरुको सम्झनामा सम्मान गारद अर्पण गरिएको छ। भारतमा पनि प्रथम विश्वयुद्धमा ज्यान गुमाउने आफ्ना ७४ हजार सेनाको सम्मान र सम्झनामा विभिन्न कार्यक्रको आयोजना गरिएको छ। यसै प्रसंगलाई लिएर संयुक्त अधिराज्यमा पनि एक विशेष कार्यक्रमको आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्