भवन निर्माण गर्न दोहोरी प्रतिष्ठानले देउसीबाट एकै ठाउँमा उठायो २५ लाख



राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेर २५ लाख रुपियाँ संकलन गरेको छ। केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसी कार्यक्रमबाट एकै ठाउँमा २५ लाख रुपियाँ उठेको छ।

गत मंगलबार साँझ ५ बजेदेखि ९ बजेसम्म विभिन्न व्यवसायी तथा समाजसेवीलाई निमन्त्रणा गरी खेलिएको देउसीमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी सहभागी भई देउसी खेलेका थिए। प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनीका अनुसार देउसीबाट उठेको सम्पूर्ण रकम भवन निर्माणमा लगाइनेछ। देउसीमा विभिन्न संघसंस्थाका व्यक्तिले भवन निर्माणमा चाहिने गिटी, बालुवालगायतका सामग्रीहरू पनि सहयोग गर्ने घोषणा गरेका थिए।

कार्यक्रममा गायक खुमन अधिकारी, पशुपति शर्मा, दीपक खड्का, गायिका राधिका हमाल, पूर्णकला बिसीलगायतले भट्याएका थिए भने मोडल शंकर बिसी, रश्मी तामाङ, करिश्मा ढकाल, रीना थापामगर, अन्जली अधिकारीलगायतले नृत्य गरेका थिए। चन्द्र शर्माले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ गायक दुर्गा रायमाझीले पनि आफ्नो प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्