बन्ने भयो विद्यालय  हरित क्षेत्र



ईश्वरराज ढकाल,
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय परिसरलाई हरित क्षेत्र बनाउन  हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ सार्वजनिक गरको छ। वातावरण संरक्षणप्रतिको ज्ञान, सीप र धारणा विकास मन्त्रालयले शिक्षा नियमावली, २०५९ को नियम १९२ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको हो। विशेष गरी सामुदायिक विद्यालयहरूको आकर्षण वृद्धि गरी बालबालिकालाई स्वच्छ वातावरणमा पठनपाठन गराउन पहिलोपटक यो निर्देशिका सार्वजनिक गरेको हो।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तिहार सुरुआतसँगै यो निर्देशिका सार्वजनिक गर्नुभएको हो।  सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न, बालबालिकाहरूको स्वास्थ्य स्थितिमा सुधार ल्याउन, दिगो विकाससम्बन्धी लक्ष्यलाई सफल बनाउन र एक विद्यालय एक बगैंचा बृहत हरित क्षेत्र निर्माण गर्न यो निर्देशिका ल्याइएको मन्त्री पोखरेलले बताउनुभयो।
मुलुकभर सरकारी र निजी प्रकृतिका ३५ हजार विद्यालयमा यस्तो व्यवस्था गर्न लागिएको हो। कात्तिक १५ गते मन्त्रीस्तरीय निर्णयले निर्देशिका स्वीकृत गरेको हो। मन्त्रालयले यसअघि एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रम घोषणा गरेको थियो।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्देशिका तयार गरेको हो। कार्यक्रम कार्यान्वयनका लागि केन्द्रीयस्तरमा मन्त्रालयका सचिवको अध्यक्षतामा १६ सदस्यीय समिति गठन भएको छ। प्रदेशस्तरमा भने सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा १३ सदस्यीय कार्यक्रम कार्यान्वयन तथा अनुगमन समिति छ। निर्देशिकाअनुसार सबै विद्यालयले काम थाल्नुपर्ने शिक्षा तथा मावनस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी गराउनुभयो।
 ‘निर्देशिका जारी गरेका छौं, यसलाई कार्यान्वयन गर्न मातहतका सबै निकाय लागि पर्नेछौं’ –उहाँको भनाइ थियो। मन्त्रालयले जारी गरेको निर्देशिकामा समेटिएका विषयहरू ः
कार्यक्रमको लक्ष्य तथा उद्देश्य
लक्ष्य
एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रमको मुख्य लक्ष्य प्रत्येक विद्यालयमा कम्तिमा पनि एउटा बगैंचा निर्माण र विद्यालय सेवाक्षेत्रका सार्वजनिक स्वामित्वमा रहेको खाली जमिनमा वृक्षारोपण गरी हरियालीयुक्त वातावरण बनाउनु रहेको छ।
उद्देश्य
– विद्यालयको वातावरण सफा, शान्त, सुरक्षित र हरियालीयुक्त बनाउने।
– विद्यार्थीहरूलाई परियोजनामा आधारित सिकाइका माध्यमबाट वास्तविक अनुभव दिलाउनुका
साथै आत्मनिर्भरतामा जोड दिने।
– प्रत्येक विद्यालयमा जैविक बगैंचा निर्माण गरी विद्यार्थीहरूलाई पोषक तत्व खानेकुराको ज्ञान,
सीप र अभिवृत्तिको विकासमा टेवा पुर्याउने।
– विद्यालयलाई उदाहरणीय हरित केन्द्रका रूपमा विकास गरी समुदायका लागि अनुकरणीय सिकाइ
केन्द्र बनाउने।
– विद्यालय सेवा क्षेत्रभित्रका खाली सार्वजनिक जग्गामा वृक्षरोपण गरी हरित क्षेत्र निर्माणमा सहयोग पुर्याउने।
– विद्यालय सेवा क्षेत्रभित्र वातावरण संरक्षण गर्न विद्यार्थी, शिक्षक, अभिभावक र समुदाय परिचालन गर्ने।
– विद्यालयलाई आकर्षक र मनोरमस्थलका रूपमा विकास गर्ने।
– विद्यालयलाई एक जीवित प्रयोगशालाका रूपमा विकास गर्ने।
– विद्यार्थीले प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउने।
प्रदेशस्तरीय कार्यक्रम समन्वय तथा अनुगमन समिति
एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्ने सम्बन्धमा प्रदेशस्तरमा समन्वय गर्न, एकरूपता कायम गर्न र निरीक्षण, अनुगमन तथा मूल्यांकन गर्नका लागि सामाजिक विकास मन्त्रालयको सचिव अध्यक्ष र प्रदेश शिक्षा विकास निर्देशनालयको निर्देशक सदस्य–सचिव रहने गरी स्थानीय तहका प्रतिनिधि र अध्यक्षबाट मनोनित विभिन्न क्षेत्रका सरोकारवालाहरू सदस्य रहने गरी बढीमा १३ सदस्यीय प्रदेशस्तरीय कार्यक्रम समन्वय तथा अनुगमन समिति रहनेछ।
कार्यक्रम कार्यान्वयन जिल्ला सहजीकरण समिति
जिल्ला तहमा समन्वय, सहजीकरण र निरीक्षण तथा अनुगमन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सदस्य–सचिव रहने गरी अध्यक्षबाट मनोनित विभिन्न क्षेत्रका सरोकारवालाहरू सदस्य रहने गरी बढीमा ११ सदस्यीय एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रम कार्यान्वयन जिल्ला सहजीकरण समिति रहनेछ।
गाउँ र नगरस्तरीय कार्यक्रम कार्यान्वयन समिति
गाउँपालिका र नगरपालिकाका प्रमुखको अध्यक्षतामा स्थानीय तहमा कार्यक्रमको कार्यान्वयन, व्यवस्थापन, सहजीकरण र रेखदेख गर्नका लागि कार्यक्रमसम्बद्ध सरोकारवालाहरूको प्रतिनिधित्व हुने गरी बढीमा ९ सदस्यीय स्थानीय गाउँ र नगरस्तरीय कार्यक्रम कार्यान्वयन समिति रहनेछ।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समिति
प्रत्येक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा देहायबमोजिमको एक हरित कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समिति गठन हुनेछ– समितिको अध्यक्षमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरिएको छ। वडाले तोकेर पठाएको एकजना प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र शिक्षक अभिभावक संघका अध्यक्ष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य रहने निर्देशिकामा उल्लेख छ।
इको क्लबसम्बन्धी व्यवस्था
– एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रमलाई प्रभावकारीरूपमा सहभागितामूलक तरिकाबाट सञ्चालन गर्न, विद्यार्थी तथा अभिभावकबीच सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र विद्यार्थीबाट कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्न गराउनका लागि प्रत्येक विद्यालयमा इको क्लब रहनेछ।
– इको क्लबको प्रमुख संरक्षक विद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षक संरक्षक रहनेछन्।
– विद्यालयमा अध्ययनरत विद्यार्थीबाट इको क्लब कार्य समिति गठन गर्न सकिनेछ। उक्त कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ। पठनपाठनको अवधि समाप्त भई वा अन्य कुनै कारणबाट इको क्लब कार्यसमितिको पद रिक्त हुन गएमा रिक्त भएको १ महिनाभित्र पदपूर्ति गर्नुपर्नेछ। प्रत्येक २ वर्षको अवधि पूरा भएपछि इको क्लबको कार्यसमिति क्लबका साधारण सदस्यहरूको साधारण सभाबाट पुनर्गठन हुनेछ।
– आधारभूत तहमा बढीमा ९ र माध्यमिक तहमा ११ देखि १५ जनासम्मको कार्यसमिति सामूहिक छलफलको माध्यमबाट गठन हुनेछ। जसमा कम्तिमा ३३ प्रतिशत छात्रा हुने गरी अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ जना, कोषाध्यक्ष १ जना र बाँकी सदस्य चयन गरिनेछ।
हरित विद्यालय कार्यक्रमको कार्यक्षेत्र
विद्यालय परिसरभित्र बगैंचा तथा हरित क्षेत्र निर्माणसम्बन्धी कार्यक्षेत्र
– विद्यालयमा हरित बगैंचा,
– विद्यालयमा हरित घेराबार (जैविक घेराबार)
– औषधिजन्य जडिबुटी बिरुवाको बगैंचा
– सदावहार तथा मौसमी फूलबारी
– छत, बरन्डा, करिडोर आदिमा गमलामा अर्नामेन्टल बिरुवा तथा आकर्षक फूलका बिरुवा
– अन्य विभिन्न बिरुवा (धूपी, अशोका, साइकस, क्रिसमस ट्रि आदि)
– फलफूलका बिरुवा (अम्बा, आँप, लिची, स्याउ, नासपाती आदि) सहितको बगैंचा
हरित विद्यालय कार्यक्रम कार्यान्वयनको 
आधार तथा मापदण्ड
– विद्यार्थीको रुचि, क्षमता, सिकाइस्तर, विद्यालयको खाली जग्गा, हावापानीसमेतको आधारमा विद्यालयले हरित क्षेत्र निर्माणका लागि परिच्छेद ४ बमोजिमको क्षेत्रमध्ये कुनै वा सबै क्षेत्र छनोट गर्नुपर्नेछ।
– सबै विद्यालयले एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रम अनिवार्यरूपमा सञ्चालन गर्नुपर्नेछ। प्रत्येक विद्यालयले विद्यालय परिसरभित्र कम्तिमा एउटा बगैंचा निर्माण गर्नुपर्नेछ।
– खाली जग्गा ज्यादै कम भएका विद्यालयले गमला, कौसी, बोरा, पर्खाल, बरन्डा, छतलगायतका उपयुक्त स्थान र तरिका छनोट गरी बगैंचा निर्माण गर्नुपर्नेछ।

– विद्यालयको भवन, कक्षाकोठा, शौचालयले ओगटेको जग्गाको अतिरिक्त १ रोपनीभन्दा कम जग्गा भए फूलबारी, अर्नामेन्टल बिरुवा र औषधिजन्य (हर्बल) बिरुवा रोप्नुपर्नेछ।

– खाली जग्गा ५ रोपनीसम्म हुने विद्यालयले फूलबारी, औषधिजन्य बिरुवा र तरकारी बगैंचा वा अन्य उपयुक्त खालका बिरुवा लगाई हरित क्षेत्र निर्माण गर्नुपर्नेछ।

– खाली जग्गा २० रोपनीसम्म हुने विद्यालयले फूलबारी, औषधिजन्य रुख, तरकारी बगैंचा र फलफूल लगाउनुपर्नेछ। सोभन्दा बढी खाली जग्गा भएमा यसका अतिरिक्त भौगोलिक अवस्था र सुरक्षासमेतलाई दृष्टिगत गरी माछापालन वा माहुरीपालन थप गर्न सकिनेछ।

– विद्यालय परिसर र विद्यालय सेवा क्षेत्रभित्र वृक्षरोपण, सरसफाइ, पानीका मुहान संरक्षण गर्नुपर्नेछ।

– आफ्नो विद्यालयको विद्यार्थी, अभिभावक र समुदायमा वातावरण संरक्षणसम्बन्धी जनचेतना जगाउनुपर्नेछ।

– प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने विद्यालयले बाली विज्ञान वा पशुपालन विषय सञ्चालन गरेको भए थप बगैंचा प्रयोगशालाका रूपमा तयार गर्नुपर्नेछ।

– विद्यालयले स्थानीय तह, सामाजिक संस्था, गैरसरकारी संस्थासँगको समन्वय र सहकार्यमा एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रम सञ्चालन गर्न सक्नेछ।

– विद्यालयको आफ्नो स्वामित्वमा रहेको जग्गा लिजमा वा अन्यलाई भाडामा दिन पाउने छैन।
कार्यक्रम कार्यान्वयन प्रक्रिया
– मन्त्रालयले निर्देशिका तयार गर्ने, आवश्यकताअनुसार संशोधन एवं परिमार्जन गर्ने र प्रोत्साहन
अनुदानको व्यवस्था गर्ने।
– केन्द्रले हरित विद्यालय कार्यक्रम कार्यान्वयन स्रोत पुस्तिका तयार गर्ने र जिल्ला तहसम्म प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने।
– प्रदेश शिक्षा विकास निर्देशनालयले समन्वय, सहजीकरण र अनुगमन गर्ने।

– स्थानीय तहले आवश्यक स्रोत विनियोजन, कार्यक्रम कार्यान्वयनको रेखदेख, व्यवस्थापन, समन्वय, सहजीकरण, निरीक्षण तथा अनुगमन गर्ने, गराउने।

– शिक्षा विकास तथा समन्वय इकाईले सम्पर्क शिक्षकलाई सहजीकरण गर्ने, समन्वय गर्ने, आपसी सहयोगको वातावरण सिर्जना गर्ने।

– विद्यालयले सम्पर्क शिक्षक तोक्ने, आवश्यक स्रोतसाधन संकलन र प्रयोग गर्ने, विद्यालय बगैंचामा शिक्षक, कर्मचारी र विद्यार्थीलाई परिचालन गर्ने, विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्ने। बृहत हरित क्षेत्र निर्माणका लागि वृक्षरोपण गर्ने, संरक्षण गर्ने, बारबन्धन गर्ने, बिरुवा हुर्काउनेलगायतका कार्यहरू गर्ने।

– प्रत्येक विद्यालयले विद्यार्थीको इको क्लब बनाउने, सो क्लबको कार्यकारी समिति गठन गरी पदाधिकारीहरूलाई अभिमुखीकरण गर्ने, क्लबको विधान तयार गरी कार्यान्वयन गर्ने, कार्यक्रम सञ्चालनमा क्लबको परिचालन गर्नेजस्ता कार्यहरू गर्ने।
– विषयवस्तु मिल्दो शिक्षण क्रियाकलाप, सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलाप र अन्य जीवनोपयोगी क्रियाकलाप सञ्चालनमा इको क्लबको परिचालन गर्ने।

– सबै इको क्लबले आफ्नो विद्यालयको शैक्षिक तथा भौतिक अवस्थालाई दृष्टिगत गरी विधान तयार गरी विद्यालय व्यवस्थापन समितिबाट स्वीकृति भएपछि लागू गर्ने। विधानको ढाँचा सामान्यतया अनुसूची–१ अनुसारको हुनेछ।
विविध
– विद्यालयले समय–समयमा मूल्यांकन गरी उत्कृष्ट विद्यार्थी र सदनलाई सम्मान वा पुरस्कृत गर्ने व्यवस्था मिलाउनुपर्छ।

– यस कार्यक्रममा शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, कक्षा ४ देखि माथिका विद्यार्थी र स्वेच्छिकरूपमा अभिभावक तथा स्थानीय शिक्षाप्रेमीले भाग लिनेछन्। कक्षा ३ र सोभन्दा तल्लो कक्षाका विद्यार्थी अवलोकन कार्यमा मात्र संलग्न हुनेछन्।

– विद्यार्थीलाई विभिन्न सदनमा विभाजन गरी पालैपालो भाग लिने अवसर दिनुपर्नेछ। क्षमता र उमेरलाई ध्यानमा राखी विद्यार्थीलाई विभिन्न शारीरिक कार्य गर्न प्रोत्साहित गरिनेछ। विद्यार्थीको इच्छा, चाहना, रुचिअनुसारका कार्यक्रम परिचालन गरिनेछ।

– शिक्षक, कर्मचारी र विद्यार्थीले विद्यालयको जग्गालाई पूर्ण उपयोग गर्न नसक्ने अवस्था सिर्जना भएमा उचित पारिश्रमिक दिई अन्य कामदार लगाउन सकिनेछ। सम्भव भएसम्म बगैंचाको आम्दानीबाट पारिश्रमिक दिई यसलाई दिगो बनाउने प्रयत्न गर्नुपर्नेछ।

– विद्यालय बगैंचालाई सिकाइ र मनोरञ्जनसँग जोड्नुपर्नेछ।

– विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा सजावट, अतिथि सत्कार, स्वागत, सम्मानजस्ता कार्यमा आफ्नै बगैंचाको फूल, फूलको माला, बोटबिरुवाको पात वा अन्य यस्तै वस्तुको प्रयोग गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्