कांग्रेसभित्र फेरि किचलो



नेपाल समाचारपत्र
काठमाडौं
विधि र प्रक्रियालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको भन्दै कांग्रेसभित्र फेरि किचलो शुरू भएको छ। गत निर्वाचनमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन गर्न उपसभापतिमा गच्छदारलाई मनोनित गरे पनि सभापतिले विधि र प्रक्रिया मिचेको भन्दै आलोचना शुरू भएको छ।

कांग्रेस विधानमा एक जना मात्र उपसभापति रहने व्यवस्था छ। विधानमा भएको व्यवस्थाविपरीत काम गर्दा केन्द्रीय समितिले बाधा अड्काउ फुकाउन उक्त व्यवस्था निलम्बन गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै केन्द्रीय सदस्यहरूले सभापतिको आलोचना गरेका छन्। गच्छदारलाई सभापति देउवाले संसदीय दलको उपनेतामा पनि मनोनित गर्नुभएको थियो। संसदीय दलको उपनेतामा मनोनित गर्दा खासै विरोध भएको थिएन।
विधान संशोधन तथा परिमार्जन गर्ने मुख्य एजेन्डासहित मंसिरको अन्तिम साता महासमिति बैठक आ≈वान भइसकेका बेला गच्छदारलाई हतार गरेर उपसभापति बनाउनुको पछाडि विधानमा पदाधिकारीको संख्या थप गर्ने निश्चित भएको अनुमान लगाइएको छ। पदाधिकारी संख्या बढाउनेबारे कांग्रेसभित्र मतभिन्नता भइरहेका बेला दुई उपसभापति मनोनित गरेर सभापति देउवाले पदाधिकारी संख्या बढ्ने संकेत गराउनुभएको देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिनुभएको छ।

संशोधित विधान मस्यौदामा मनोनित उपसभापति तीन जना राख्ने वा दुई निर्वाचित एक मनोनित राख्ने विकल्पमा छलफल भइरहेको छ। विधान मस्यौदा समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काका अनुसार केन्द्रीय समितिमा सदस्यको संख्या बढाउने कुरामा सबै एकमत भए पनि पदाधिकारीका बारेमा छलफल गरी विधान मस्यौदालाई अन्तिम रूप दिने कार्य भइरहेको छ। पदाधिकारी संख्या १० राख्दा पनि उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष मनोनित गर्ने कि निर्वाचित गर्नेबारे छलफल भइरहेको उहाँले बताउनुभयो।

केन्द्रीय समितिभन्दा माथिल्लो निकायका रूपमा रहेको महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म बस्ने तय भए पनि तयारी अपुग भन्दै मंसिर २८ देखि पुस ३ सम्म बस्ने निर्णय गरिएको छ। महासमितिमा पनि सभापति देउवा पक्षको बर्चस्व रहेको छ। गुट–उपगुटमा विभाजित कांग्रेसभित्र नेतृत्वमा गच्छदार आएसँगै फेरि अर्को गुट थपिएको भन्दै कांग्रेस कार्यकर्ताले गुट–उपगुटलाई नहटाएसम्म कांग्रेस बलियो नहुने तर्क गरिरहेका छन्। मुख्य गरी कांग्रेसभित्र संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्ष गुटगतरूपमा देखिएका छन्। साथै, प्रभावशाली नेताहरूको पनि छुट्टै उपगुट छ।

गुट–उपगुटकै कारण कांग्रेसको भ्रातृ एवं शुभेच्छुक संघ–संस्था प्रभावहीन बन्दै गएका छन्। कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल तरुण दलको अधिवेशन भएको दुई वर्षसम्ममा पनि कार्यसमिति बन्न नसक्नु, नेपाल विद्यार्थी संघको अधिवेशन अनिश्चित बन्दै जानु यसको उदाहरण हो।

प्रतिक्रिया दिनुहोस्