“रिक्त मुलुकमा राजदूत छिट्टै”



टीका बन्धन, काठमाडौं

विभिन्न मुलुकमा लामो समयदेखि रिक्त रहेका राजदूत नियुक्ति प्रक्रिया अब नलम्बिने परराष्ट्र मन्त्रालयले दाबी गरेको छ। रिक्त रहेका र रिक्त हुन लागेका दूतावास र नियोगमा नियुक्ति सँगसँगै अघि बढाउने प्रक्रिया मन्त्रालयले अगाडि बढाएको छ।

राजदूत नियुक्ति प्रक्रिया अब धेरै अलमल नहुने बताउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बनिसकेको छ, निर्देशिकाले निर्देश गरेअनुसार योग्य र क्षमतावान् व्यक्तिहरूको नियुक्ति चाँडै अघि बढ्छ।’ यससँगै रिक्त हुने प्रक्रियामा रहेका दूतावास र नियोगको नियुक्ति प्रक्रिया पनि सँगसँगै अघि बढ्ने उहाँले बताउनुभयो।

भारत, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा राजदूत रिक्त छन्। यूएईमा २ वर्षअघिदेखि राजदूत पद रिक्त छ भने भारत र मलेसियामा विगत एक वर्षदेखि राजदूत नियुक्त हुन सकेका छैनन्।

राष्ट्रसंघका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईको पदावधि एक वर्षअघि सकिएपछि सरकारले केही महिनाका लागि उहाँको जिम्मेबारी थपेको थियो। थपिएको अवधि समापन भएसँगै भट्टराई स्वदेश फर्किसक्नुभएको छ।

सरकारले यसअघि गत असार अन्तिम साता भारतका लागि पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि पूर्वराजदूत उदयराज पाण्डेलाई राजदूत सिफारिस गरेको थियो। तर, उप्रेतीको विषयमा विपक्षी दल नेपाली कांग्रेसको विरोध र सत्तारूढ दल नेकपाभित्रै सहमति नजुटेपछि सो प्रक्रिया अघि बढ्न सकेको छैन। साउदी अरेबियाका पूर्वराजदूत रहिसक्नुभएका पाण्डेको विषयमा विवाद नभएकाले उहाँ यसअघि सिफारिस भएकै मुलुक मलेसियाको जिम्मेबारीमा खटिने सम्भावना उच्च रहेको परराष्ट्रका अधिकारीहरू बताउँछन्।

थाइल्यान्ड, कुवेत, दक्षिण अफ्रिका, फ्रान्स, क्यानडासँगै जेनेभास्थित स्थायी नियोगका राजदूतहरूको कार्यकाल आगामी २ महिनापछि सकिँदै छ। यी मुलुकमा परराष्ट्र सेवाका सहसचिवहरू राजदूत छन्। राजदूतहरूको कार्यकाल सकिनुअगावै ती मुलुकका लागि जिम्मेबारी तोकिने मन्त्री ज्ञवालीले बताउनुभयो।

‘अब विगतमा जस्तो लामो समय राजदूतविहीन हुने अवस्था रहँदैन, राजदूतको पदावधि सकिनुअघि नै यस्तो प्रक्रिया अघि बढाएर कूटनीतिक वृत्तमा सकारात्मक सन्देश दिइनेछ।’ –उहाँले भन्नुभयो।

पूर्ववर्ती सरकारको कार्यकालमा राजनीतिक कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउन कार्यसम्पादन मूल्यांकन भइरहेकाले कांग्रेस र राप्रपाका तर्फबाट राजदूत बनेकाहरू फिर्ता हुने सम्भावना उच्च रहेको मन्त्रालयका अधिकारी बताउँछन्। बंगलादेश, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, कतार, स्पेन, इजरायल र ओमानका राजदूत फिर्ता बोलाउन कार्यसम्पादन मूल्यांकन भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्