तराई र पहाड जोड्दै छठ



काठमाडौं । सूर्यसम्मानको पर्व छठ तराईक्षेत्रका साथै मुलुकका विभिन्न भागमा श्रद्धाभक्ति र निष्ठाका साथ मनाइँदै छ । शरदऋतुमा मनाइने पर्व छठका अवसरमा जनकपुरधाम,जलेश्वर,वीरगञ्ज,नेपालगञ्ज शहरका साथै कोशी कमला, जलाद तिनाउलगायतका नदनदी किनार तथा काठमाडौ उपत्यकाका वाग्मती, विष्णुमतीका तट तथा जलाशयमा भक्तजनको भीड लागेको छ ।

छठपर्व कार्तिक शुक्लपक्षको चतुर्थीदेखि सप्तमी तिथिसम्म चार दिन मनाइन्छ । सूर्यको पूजा गरिने यो पर्व अत्रिऋषिकी पत्नी अनुसूयाले आरम्भ गरेको उल्लेख छ ।  पाँच पाण्डवकी पत्नी द्रौपदिले पनि छठ पर्व मनाएको शास्त्रमा उल्लेख छ । घर घरमा सूर्यको वरदान प्राप्त होओस् र रविकिरणको प्रभावले आरोग्य,उर्वता,समृद्धि तथा श्रीवृद्धिले लोकवासी सुखी रहून् भन्ने कामनाले सूर्यसम्मानको पर्व छठ मनाउने परम्परा छ । यो पर्व षष्ठी तिथिमा मनाइने हुँदा षष्ठी षष्ठ हुँदै छठ भएको बताइन्छ । छठलाई कतै डालापर्व पनि भनिन्छ ।

छठको पहिलो दिनलाई नहाए खाए वा नुहाएर तनमन शुद्ध गरी खाना खाने गरिन्छ । दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन दिनभर उपवास बसी साँझ कूलदेवताको पूजा गरी खीर खाएर उपवास तोडिन्छ । छठको अवधिमा व्रतीहरुले नून,लसुन,प्याज नखाई शुद्धशाकाहारी भोजन गर्दछन् । तेस्रो दिन व्रतीहरुले स्थानीय देवताको पूजा गरी छठका बेला देवतालाई चढाउन घिउ र गौको पीठोबाट बनाइने विशेष परिकार ठेकुवा तयार पार्छन् । केरा उखु नरिवल लगायतका फलफूलका साथै छठपूजामा प्रयोग गरिने अन्य परिकार समेत तयार पारी डालामा भरिन्छ ।

उदाउँदै गरेकाे सूर्यलाई उषा अध्र्य दिएपछि मात्र ब्रत पूरा

मुख्य गरी महिलाहरु नै छठका व्रतीहरु हुने गरे पनि पूजा सामग्री सहितको डालो लिएर पुरुषहरु नदी किनारमा जान्छन् । नदी किनारमा साँझ अस्ताउँदै गरेका सूर्यको पूजा गरी रातभर भजन कीर्तनका साथै दीपावली गरेर जाग्राम बस्दछन् ।चौथो दिन एकाबिहानै नदीकिनारमा सपरिवार भेला भई उदाउँदै गरेका सूर्यलाई जलाध्र्य दिइन्छ । उदाउँदै गरेका सूर्यलाई उषा अध्र्य दिएपछि व्रत पूरा गरी प्रसाद ग्रहण गरी छठ सम्पन्न गरिन्छ ।

नदीकिनारमा भेला भएका आफन्तलाई समेत प्रसाद वितरण गरी हर्षोलासपूर्वक छठ पर्वको शुभकामना आदानप्रदान गरिन्छ । छठपर्व मुख्य गरी तराईवासी हिन्दूधर्मावलम्बीहरुले मनाउने परम्परा भए पनि आजभोलि यो पर्व उपत्यका तथा पहाडी समुदायका साथै अन्य धर्मावलम्वीले पनि उत्तिकै श्रद्धाका साथ मनाउन थालेका छन् । किनकि सूर्यसम्मानको संस्कृति संसारका धेरैजसो सभ्यतामा प्रचलित छ । सूर्य सबैका प्रत्यक्ष देवता मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्