तीन वर्षपछि नेपालमै बैंक नोट



हेटौंडा । अबको करिब ३ वर्षपछि नेपाल राष्ट्र बैंकलाई ग्लोबल टेण्डरमार्फत् नेपाली बैंक नोट छपाइका लागि करोडौं खर्च गरेर विदेश जानुपर्ने वाध्यता अन्त्य हुने भएको छ ।

बैंक नोटसहित स्मार्ट लाइसेन्स र राष्ट्रिय परिचयपत्र हेटौंडामा छाप्ने तयारीमा सुरक्षण मुद्रण केन्द्र लागेको हो । हेटौंडामा स्थापना गर्न लागिएको यो छापाखाना नेपालको पहिलो राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट हुनेछ ।

हेटौंडा–१४, मयुरधापमा स्थापित नयाँ औद्योगिक क्षेत्रमा केन्द्रले बैंक नोटलगायत छाप्ने छापाखाना (उद्योग) स्थापना गर्ने तयारी गरेको हो । हेटौंडामा स्थापित दोस्रो औद्योगिक क्षेत्रमा अत्याधुनिक प्रविधिको छपाइ गर्ने उद्योग सञ्चालनका लागि केन्द्रले सुरक्षण प्रिन्टिङ प्रेस स्थापना गर्ने तयारी गरेको छ ।

हेटौंडामा केन्द्र स्थापनापछि नेपाल राष्ट्र बैंकले ग्लोबल टेण्डर गरेर चीन, अष्ट्रेलिया वा इन्डोनेसियालगायत देशमा बैंक नोट छाप्नुपर्ने वाध्यता अन्त्य हुने छ । केन्द्रले प्रतिस्पर्धाबाट बैंक नोट छाप्दै आएको छ । वार्षिक ५० करोड रुपियाँ भन्दा बढी रकम बैंक नोट छाप्नमा विदेशिने गरेको छ ।
यहाँ जग्गा छनौटपछि आवश्यक कार्य अगाडि बढाइएको केन्द्रका प्रवक्ता÷सूचना अधिकारी शिरीष उपाध्यायले बताउनुभयो । प्रेस स्थापनाका लागि औद्योगिक क्षेत्र व्यबस्थापनसँग २ सय ५० रोपनी जमिन सम्झौता गरिएको छ ।

औद्योगिक क्षेत्रमा प्रेस स्थापना गर्दा सुरक्षाको प्रवन्ध गर्न सहज हुने भएकोले सरकारी निकायले हेटौंडाको मयुरधापलाई छनौट गरेको हो । नेपालका अन्य औद्योगिक क्षेत्रको तुलनामा सुरक्षाका लागि हेटौंडा उपयुक्त ठानिएको बताइएको छ ।

नेपाली सेना वा सशस्त्र प्रहरीसहित सुरक्षा घेरामा बैंक नोट छपाइ गरिने छ । मयुरधापमा यसका लागि विस्तृत परियोजना (डीपीआर) तयारीको कार्य जारी छ । ‘निर्माणअघिका काम भइरहेका छन्,’ प्रवक्ता उपाध्यायले भन्नुभयो–नक्सांकनको कार्य चालु आर्थिक वर्षमा सकिनेछ । निर्माणको लागत स्टिमेट भइनसके पनि अर्बौ रुपियाँ खर्च हुने उहाँको अनुमान छ । केन्द्रमा करिब ४ सय कर्मचारी रहनेछन् ।

केन्द्रले हुलाक टिकट र पासपोर्ट भने काभ्रेको पनौतीमा छाप्ने भएको छ । प्लान्ट स्थापनाका लागि करिब ३५ अर्ब आवश्यक पर्ने बताइएको छ । हाल सरकारी कामका लागि करिब ८ अर्ब र निजी क्षेत्रको करिब २ अर्ब गरी १० अर्ब रुपियाँ वर्षेनी बाहिरिने गरेको छ । प्रेस सञ्चालनमा लगानी धेरै देखिए पनि यो काम पैसा र व्यापारसँग मात्र जोडिएको नभएर देशको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँग पनि जोडिएकोले केन्द्रीय सरकार गृहकार्यमा जुटेको थियो ।

झट्ट हेर्दा सामान्य लागे पनि नोट छपाइ प्रक्रिया केन्द्रीय बैंकको सबभन्दा संवेदनशील जिम्मेवारीमा पर्छ । संविधानले सेक्युरिटी प्रेसलाई केन्द्रीय सरकारको अधिनमा राखेको छ ।

बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, अष्ट्रेलिया, इन्डोनेसिया, केन्या र माल्टाका कम्पनी नोट छपाइका लागि विश्वमा कहलिएका छन् । यिनै मुलुकका कम्पनीले नेपालको नोटसमेत छाप्दै आएका छन् । नोट छपाइको विशेष किसिमको प्रविधि र विशेषज्ञता चाहिने भएकाले थोरै मुलुकमा मात्र नोट छपाइ गर्ने कम्पनी छन् ।

सुरक्षण छपाइमा मात्र वर्षेनी अर्बौं रुपियाँ विदेशिने भन्दै सरकारले नेपालमा सुरक्षण छापाखाना स्थापना गर्न लागेको हो । नेपालमा छपाइ गर्न सकिने सम्भावना र छपाइ सम्बन्धित काम एकीकृतरुपमा समाधानको प्रयास थालिएको हो । सरकारी छपाइका लागि मुद्रण विभाग रहे पनि बैंक नोट, राहदानीलगायत अन्य सुरक्षणको छपाइ विदेशमा निर्भर हुनुपरेको छ ।

करिब दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको २४ औं बैठकले बैंक नोटलगायत अन्य सुरक्षण छपाइका लागि नेपालमै सेक्युरिटी प्रेस राख्ने निर्णय गरेको थियो ।

राणा प्रधानमन्त्री जुद्धशमशेरले २००२ सालमा सदर मुलुकीखानाबाट पहिलोपटक नोट प्रचलनमा ल्याएका हुन् । नयाँ नोट हेर्दा जति लोभलाग्दा हुन्छन्, त्यसको छपाइमा राज्यले बेहोर्नुपरेको खर्चको बोझ पनि ठूलै हुने गरेको छ ।
हरेक वर्ष दशैंताका नयाँ नोट सटही गर्नुपर्दा राज्यले ठूलै व्ययभार बेहोर्नुपरेको छ । बैंकिङ प्रणालीमा फर्किएका थोत्रा नोटलाई राष्ट्र बैंकले झुत्रो ठह¥याउँदै नष्ट गर्ने गर्छ ।

हेटौंडा बजारबाट करिब ७ किमी दक्षिणमा रहेको साबिक चुरियामाई र पदमपोखरी गाविसको बीचमा पर्ने खहरे क्षेत्रलाई व्यबस्थापन गरी प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्