जेलको भित्तामा उपदेश नै उपदेश



नेपाल समाचारपत्र, बाँके
‘क्रोधको समयमा रुक्न सिक्नुस्,
गल्तीको समयमा झुक्न सिक्नुस् ।’
वाह, कति राम्रो प्रेरणादायी बाणी । साँच्चै यो बाणीलाई व्यवहारमा उतारिदिएको भए ‘त्यो ठाउँ’मा कोही पुग्दैनथे होला ।

क्रोध भनौ या एकछिनको आवेग या त २÷४ सय छिटो कमाउने नाममा त्यहाँ पुगेका छन्, ६ सय ७९ जना । राज्यले ‘अपराधी ठह¥याएका’ ती अनेकथरीका मानिस बसेको भवनको भित्तामा यो महान बाणी लेखिएको छ ।

कतिले यो वाक्य पढेर अहिले पछुतो मान्दा हुन् । फेरि अहिले पश्चताप गरेर के गर्नु अदालतले उनीहरुलाई दोषी जो ठह¥याएर त्यहाँ पठाएको छ । हो, यो महान बाणी नेपालगञ्ज कारागारको भित्तामा लेखेर टाँसिएको छ ।

अलिकति यतापट्टी लेखिएको छ, ‘जीवन लामो हुनु भन्दा महान हुनु पर्छ ।’ मनोक्रान्तिका अभियान्ता डा. योगी विकाशानन्द अस्तिभर्खरै नेपालगञ्जमा आएर भन्दै थिए, महान या सफल व्यक्ति हुनका लागि त अर्कालाई भरोसा दिलाउनु पर्छ, विश्वास जित्नु पर्छ । कठिन परिश्रम गर्नुपर्छ ।

जुन ठाउँमा यी महान बाणी लेखेर टाँसिएको छ । त्यहाँ त ८० वर्षका बृद्धसमेत सकी नसकी बाँचिरहेका छन् । अपराध नै गरेर त्यहाँ पुगेका यी बृद्धहरुले अब के को महान हुने सपना देख्दा हुन् र ? तर, जो केही गरौं भन्ने जोश जागर भएका युवाहरु त्यहाँ छन् । क्षणिकको रमाइलो या साथीभाईको लहलहैमा लागेर लागु औषधको नसामा झुम्मिदा त्यहाँ पुगेका छन् । उनीहरुलाई त यो बाणीले पक्कै घच्घच्याउदो हो ।

‘जुन आनन्द मेहनतको कमाईले आर्जेको रोटीमा हुन्छ । त्यो अरुले खुवाएको भोजभतेरको खानामा कहाँ हुन्छ र ?’

सरकारले उपलब्ध गराएको दिनको ६० रुपैया र सात सय ग्राम चामलले जीवन धानेका बन्दीलाई यो बाणीले पनि मुटु पोल्दो हो । एकपटक जानेर÷नजानेर, आवेग या जोशिएर गरेको गल्तीले गर्दा जेलमा पुगेका युवाले पक्कै यो बाणी पढ्दा आफ्नो त्यो कार्य सम्झिदै पछुतो मान्दा हुन् । बाबु आमाले कत्रो सपना देखेका थिए, उनीहरुलाई हुर्काउदा । अहिले आफ्ना सन्तानलाई जेलमा भेट्न आउदा बाबुआमाको मन कति जल्दो हो । आफ्ना सन्तान जेलमा पुगेको कुन बाबुआमालाई राम्रो लाग्दो होला र ? तर, बाध्यता र परिस्थिति ।

जेलमा परेको व्यक्ति त्यसै पनि ‘मूर्ख’ हुन्छ भन्ने बुझाई अझै कायमै छ । एकजना परिचित भन्दै थिए, त्यो व्यक्तिले मलाई जेलमा पु¥यायो । म छुटेपछि त्यसलाई मार्छु र फेरि जेल फर्किन्छु । भलै, जेलबाट छुटेपछि उनले त्यहाँ भनेको जस्तो गरेनन् ।

यस्तै व्यक्तिलाई देखेर होला, जेलको भित्तामा लेखिएको छ, ‘नमस्कार गर्ने बानीले घमण्डलाई घटाउँछ । र, पवित्र स्वाभिमानलाई बढाउँछ ।’ अनि यहीसँग मिल्दोजुल्दो अर्को बाणी नजिकै टाँसिएको छ, ‘अभिवादनले अभिनन्दन बटुल्छ । प्रमाणले परिणाम बदल्छ ।’

हो, प्रमाणले परिणाम बदल्छ । जेलमा पुगेका सबै दोषी नै छैनन् । कोही परिबन्दमा परेका छन् । सुर्खेतकी एक महिला भन्दै थिइन्, चरेश अर्काको थियो । चिनेको मान्छे भएकाले झोला मागेपछि मैले दिएको थिए । मेरो झोलामा उसले चरेश राखेको रहेछ । प्रहरीले समात्यो । चरेशवालालाई पैसा खाएर छोडिदियो, झोलावाला मलाई जेल हालिदियो ।

पैसाको पछि भागेर जेलमा पुगेका पनि कम्ती छैनन् । छिटो र सजिलै धेरै पैसा कमाइन्छ भनेर लागु औषध बोकेका, मान्छे नै बेच्न तयार भएका, केही त सम्पतिकै लागि मान्छे नै मारेका व्यक्तिहरु जेलमा छन् । यिनीहरुलाई सम्झेर होला, भित्तामा लेखेर टाँसिएको छ, ‘भनिन्छ, पैसा जबसम्म हातमा रहन्छ, तबसम्म त्यो तागत बन्दछ । जब पैसा हातबाट दिमागमा चढ्दछ, त्यो पतन बन्दछ । पैसा हरेकका लागि अत्यन्तै अपरिहार्य बस्तु हो । तर, भुल कहाँनेर भइदिन्छ भने पैसा हातमा थोरै समय अडिन पाएको हुँदैन, दिमागमा चढि हाल्छ ।’

नेपालगञ्ज कारागारमा यी र यस्ता थुप्रै महान बाणीहरु लेखेर टाँसिएको छ । कारागारका शिक्षक भरत फडेराले यी सबै बाणीहरु लेखेर टाँसेका हुन् ।
सहायक जेलर श्याम लामिछाने भन्दै थिए, भित्तामा लेखिएको पढेर मनन गरे भने त सबै सुध्रिन्छन् ।

त्यसो त जेल एउटा सुधार गृह पनि हो । जेलबाट छुटेको व्यक्ति फेरि त्यहाँ पुग्ने काम नगरोस् भन्ने जेल प्रशासनमात्रै होइन, घरपरिवार र समाज नै चाहन्छ । नेपालगञ्ज कारागारमा लागु औषध, कर्तब्य ज्यान, मानव बेचबिखन, जबरजस्ती करणी, चोरीलुटपाटका बन्दीहरु बढी छन् । यी सबै जनाको संसार भनेकै यतिबेला जेलको चार दिवाल भित्र छ । त्यही दिवालमा लेखेर टाँसेको महान बाणीहरु पढेर दिमागमा राखिदिए भने बाहिर निस्कदा सुध्रिएर आउनेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्