तिहारमा खल्बलियो शान्तिसुरक्षा



नेपाल समाचारपत्र, हेटौंडा
यस वर्षको तिहारमा मकवानपुरका केही स्थानमा अप्रिय घटना भएका छन् । कहीं कुटपिटबाट मृत्यु त कहीं आगोले लाखौंको क्षति गरेको छ ।

हेटौंडा–१२ मा कुटपिटका कारण एक जनाको मृत्यु भएको हो । सुसुराली गएका हेटौंडा–१२ का रमेश रानामगरको हेटौंडा–११ र १२ जोड्ने झोलुङ्गे पुलनजिक भएकोे झगडामा मृत्यु भएको प्रहरीले जनाएको छ । मादकपदार्थ सेवन गरी भएको झगडाका कारण उनको मृत्यु भएको बताइएको छ ।

करिब ४० वर्षका मगरको १२÷१५ जना व्यक्तिबीच भएको झगडाका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो । स्थानीय वर्ष २५ का रञ्जित श्रेष्ठको हेटांैडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न रहेको भनिएका ७ जना पक्राउ परेका छन् । हेटौंडा–११, नवलपुर बस्ने वर्ष २३ का जिसु श्रेष्ठ, वर्ष २९ का सुरेश श्रेष्ठ, वर्ष २३ का सौरव अर्याल, वर्ष २५ का लुङ्वा भनिने अमूल लामा, वर्ष २४ का अमृत लामा, वर्ष २२ का कत्ले र भतिज भनिने रुपेश चुनीमगर र नुवाकोट घर भएर हाल नवलपुरमा डेरा गरी बस्ने वर्ष २९ का घनटाउके भनिने सुजेन लामा पक्राउ परेका हुन् ।

हेटौंडा–१६, हटिया चिसापानीमा आगलागी भएको छ । चिसापानीस्थित भरत रोक्काको घरमा आगलागी भएको हो । आगलागीका कारण रोक्काको घरमा डेरा गरी बस्ने १४ वर्षीय रेशम गौतमको खुट्टा, हात र अनुहार आगोले जलेको छ । घाइतेको उपचार चुरेहिल अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीमा रामकुमार पुडासैनीको चियापसल, एकबहादुर बलामीको मिठाइ पसल, देवकृष्ण गौतमको फलफुल र किराना पसलमा क्षति पुगेको छ । आगलागीका कारण करिब ३० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । घरमा पूजाको दियो बालेको स्थाननजिक पेट्रोलको भाँडा खोली सारफेर गर्न खोज्दा आगोले टिपेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्