ट्याक्सी र जिप ठोक्किँदा तीन जनाको मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज
पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको निजगढमा ट्याक्सी र जिप एकआपसमा ठोक्किँदा ट्याक्सीमा सवार तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा भक्तपुरका ट्याक्सी चालक समुद्र श्रेष्ठसहित निजगढ नगरपालिका–७ का आकाश माझी, सोही ठाउँका विशाल माझीको मृत्यु भएको हो । मृतक सबै ट्याक्सीमा सवार रहेका थिए । आकाश र विशालको निजगढस्थित स्वास्थ्य केन्द्र र चालक समुद्रको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा नरेश माझी र अर्जुन माझी घाइते भएका छन्।

घाइतेमध्ये नरेशको अवस्था गम्भीर रहेको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ नगरपालिका–९ स्थित भमरा पुल नजिक शुक्रबार राति १ बजे ग२च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको जिप एकआपसमा ठोक्किएको थियो। निजगढस्थित माझी टोलबाट रौतहटको सिमरी पुगेर फर्किएको ट्याक्सी र चितवनबाट तरकारी बोकेर लालबन्दीतर्फ जाँदै गरेको बलेरो पिकअप जिप राजमार्गमा ठोक्किएको थियो।

ग्रामीण बाटो हुँदै राजमार्ग निस्किन लागेको ट्याक्सीले गति नियन्त्रण गर्न नसक्दा राजमार्गमा गुडिरहेको जिपसँग ठोक्किन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास बमले जानकारी दिनुभयो। दुर्घटनापछि बोलेरो जिपका चालक फरार छन् ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाईतेको उद्धार गरी अस्पताल पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस्