जनप्रतिनिधि नाइके बनेपछि प्रहरी निरीक्षकको टाउको फुट्यो



दैलेख । दैलेख जिल्लामा कौडा र तास खेल्न नदिएको झोँकमा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका छन् ।

दुल्लू नगरपालिकाको मुख्य बजार कृति खम्बमा सडक अवरुद्ध गरी कौडा खेलिरहेको समुह र प्रहरीबीच शुक्रबार राति झडप भएको हो ।

प्रहरीले कौडा खेल्न नदिएपछि करीव ४० जनाको समूहले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

झडपमा इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट घाइते भएका छन् । उनको टाउकोमा चारवटा टाँका लगाइएको छ ।

प्रहरी सहायक निरीक्षक सुजन खड्काको समेत टाउकोमा गम्भीर चोट लागेको छ । घाइते प्रहरीको दुल्लू अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी र जुवाडेबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर समेत गर्नु परेको दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

दुल्लू ७ बाट निर्वाचित वडा सदस्य सूर्यबहादुर थापाले जुवाडेको समूहलाई उचालेकोले विवाद बढेर झडप भएको प्रहरीले आरोप लगाएको छ । प्रहरीका अनुसार अधिकांशले मदिरा सेवन गरेका थिए ।

तिहारकोे समयमा कौडा खेल्ने चलन भएकोले खेल्न पाउनुपर्ने माग स्थानीयको रहेको थियो । खेलमा महिला, पुरुष र केटाकेटीसमेत समाबेश थिए ।

प्रतिक्रिया दिनुहोस्