हेटौँडालाई स्थायी राजधानी बनाउन उद्योगीको माग, क्रसर उद्योग सङ्कटमा



हेटौंडा । उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ ।

हेटौँडा औद्योगिक, व्यापारिक, प्रशासनिक र राजनीतिकका साथै भौगोलिक वातावरणले राजधानीको लागि उपयुक्त रहेको छलफलमा सहभागीहरूले जोड दिएका छन् । हेटौँडा प्रदेश नं ३ को मुख्य नाकासमेत रहेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई स्थायी राजधानी बनाउनुपर्ने बताएका छन् । उनले हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीका लागि उपयुक्त भएकाले सबैको सहयोग आवश्यक रहेको बताए ।

प्राध्यापक रामविलाश यादवले हेटौँडा प्रदेश नं ३ को नाका भएकाले प्रदेशको लागि उपयुक्त भएको धारणा राखे । व्यवसायी रामप्रसाद घिमिरेले हेटौँडा प्रदेशको राजधानी भएमा यस क्षेत्रको थप विकास हुने बताए ।

क्रसर उद्योग सङ्कटमा
मकवानपुर जिल्लामा सञ्चालित क्रसर उद्योगहरू सङ्कटमा परेका छन् । प्रदेश र सङ्घीय सरकारले क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि त्यहाँ सञ्चालित उद्योगहरू बन्द भएका छन् । उद्योग बन्दको कारण ढुङ्गा, गिट्टी र बालुवाको कारोबारमा समस्या आएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले क्रसर उद्योग बन्दका कारणले विकास निर्माण, भवन, आवास, पुल, कल्भर्टलगायतका अन्य भौतिक पूर्वाधार निर्माण गर्न समस्या भएको जानकारी दिएको छ ।

जिल्ला समन्वय समितिले प्रदेश नं ३ सरकार र सम्बन्धित सङ्घीय सरकारलाई पत्राचार गरी क्रसर उद्योग सञ्चालन गर्न आग्रह गरेको छ । क्रसर उद्योगको कारणले वातावरणमा असर पुगेको, मानवबस्ती जोखिममा परेको र प्राकृतिक विपत्ति बढेकाले उद्योग बन्द गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्