आज गोवर्द्धन पूजा



काठमाडौं । यमपञ्चक वा तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिन्छ । नेपाली समाजमा मनाइने दोस्रो ठूलो पर्व तिहार अन्तर्गत कात्तिक शुक्लप्रतिपदाका दिन गोवर्द्धन पूजा गर्ने चलन छ । गोवर्द्धन पूजालाई लोकमा गोरुतिहार पनि भनिन्छ ।

नेपाली धरातलमा खेतीपाती गर्न सघाउने गाईका बाच्छा तथा गोरुलाई पूजा गरिने भएकाले यस पर्वलाई गोरुतिहार भनिएको हो । गोठमा गोबरको पर्वत बनाई त्यसमा फूल टाँसेर पूजा गरी गाईबाच्छा तथा गोरुलाई माला लगाइदिएर मीठा खानेकुरा दिने गरिन्छ । गोवंशको वृद्धि र सुरक्षाका लागि भगवान श्रीकृष्णले घाँसपात र पानी प्रशस्त पाइने गोवद्र्धन पर्वतको पूजा गर्ने परम्परा बसालेको कथन छ ।

पृथ्वीको हिमाली खण्डमा पाइने चौरी गाईदेखि तल समथर भूमिमा पाइने सेता गाईका बाच्छा तथा गोरुले मानवलाई हरदृष्टिले सहयोग गरेका छन् । नेवारी समुदायमा यसैदिन आत्मपूजा वा म्हःपूजा गर्ने चलन छ ।

यसै दिनदेखि नेपाल सम्वतको नयाँ वर्ष शुरु हुने हुँदा शुभकामना आदानप्रदान गर्ने चलन छ । साँझ नेवार समुदायमा आत्मपूजा वा म्हःपूजा गरिन्छ । म पूजा गर्दा दियो कलश र गणेश स्थापना गरी ज्येष्ठ महिलाबाट परिवारका सदस्यको दीर्घायु र आरोग्यका लागि पूजा गर्ने परम्परा छ । यस पूजामा सयपत्रीमध्येको ठूलो दुबो, थुंगेफूल, बिमिरोलगायतका दीर्घजीवी प्राकृत बस्तु राखेर अमर आत्माको पूजा गरिन्छ ।

गाईतिहारका दिन प्युठानको स्वर्गद्वारीमा गाईको विशेष पूजाआजा गरी गोवद्र्धनपूजाका दिन रथयात्रा महोत्सव गर्ने चलन छ । यसैदिन मिथिलाञ्चलमा अन्नकुट पर्व मनाउने गरिन्छ । गोवर्द्धन पूजाकै दिन तराई क्षेत्रमा हुर्राहुरी पर्व र थारु समुदायमा गौरापवनी पर्व मनाउने चलन छ ।

गोवर्द्धन पूजाका दिन साँझ दीपमालिकाको क्रम झन उच्च हुन्छ । राति आतासबाजी गरेको पनि देखिन्छ । साथै भोलिपल्ट पर्ने भाइटीका भव्य तयारी गरिन्छ । भैलिनी गीत गाएर, बजाएर भैलो खेल्नेले गाउँघर र शहरलाई गुञ्जायमान तुल्याउँछन् ।

प्रतिक्रिया दिनुहोस्