रुकुम पश्चिमको शहिद स्मृति पार्क ओझेलमा



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर –६ झुल्नेटा डाँडामा रहेको शहिद स्मृति पार्क ओझेलमा परेको छ ।

तत्कालिन सशस्त्र द्धन्दको समयमा साविकको मुरु, पेउघा, खारा र रुँघा गाविसबाट ज्यान गुमाएका ७६ जनाको सम्झनामा निर्माण गरिएको शहिदपार्क ओझेलमा परेको हो । २०६९ सालमा पर्यटन मन्त्रालयको सहयोगमा रु. २० लाख खर्चेर बनाईएको शहिदपार्क हाल ओझेलमा पर्दा यसक्षेत्रका स्थानीयवासी चिन्तित् बनेका छन् ।

पार्क निर्माणपछि यसको पुनःनिर्माण र संभार नगरिंदा यहाँ भएका भौतिक संरचना समेत हाल भत्किने अवस्थामा रहेका छन् । पछिल्लो समय पार्क दृश्यावलोकनका लागि यस ठाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा समेत कमी भएको छ । त्यस्तै पार्कभित्र बनाईएका स्मारक, प्रतिक्षालय, मन्दिर, बगैंचा लगायत भौतिक संरचना समेत जिर्न बन्दै गएका छन् ।

तर यहाँको गाउँपालिकाले भने यो शहिद पार्कलाई संग्राहलयको रुपमा विकास गर्न लागेको जानकारी दिएको छ । जिर्ण पार्क संरक्षणका लागि प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरिसकेकोले छिट्टै गाउँ पर्यटनबोर्ड मार्फत पार्कको पुर्ननिर्माण र संरक्षण गरिने त्रिबेणी गाँउपालिकाका प्रमुख प्रशासयिम अधिकृत तेजकुमार ओलीले बताउनुभयो ।

६ वर्षअघि निर्माण गरिएको पार्कभित्र तत्कालिन राज्य र बिद्रोही पक्षबाट सशस्त्र द्धन्दमा मारिएका साविकको चारवटै गाविसका ७६ जनाको नाम स्मारकमा लेखिएको थियो । जसअन्तर्गत मुरुका १९, खाराका २९, रुँघाका २३ र पेउघाका ५ जना विगत द्धन्दको समयमा ज्यान गुमाउने व्यक्तिको सूचिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्