गृहलक्ष्मीको आश



तिहारको पहिलो दिन यमपञ्चक अर्थात् काग तिहार। यो दिनलाई धनका देवता कुवेरको जन्मदिन र आयुर्वेदका प्रवद्र्धक धनवन्तरी दिवसका रूपमा पनि मनाइन्छ। धन्तेरसका दिन सुन, चाँदी, हीरासहित धातुका सामग्री किनेर लक्ष्मी पूजाको दिन माता लक्ष्मीलाई चढाउने प्रचलन छ।

यही विश्वासले हो क्यार त्यस्ता वस्तु तथा सामग्री किन्नेहरूको संख्या शहर बजारमा बाक्लै देखियो। चाँदीको दियो, पूजाको थाली, घण्टा, करुवा, आरती, सुकुन्दा, चाँदीको लक्ष्मी–गणेशको मूर्ति कुँदिएका असर्फी, लक्ष्मी तथा लक्ष्मीनारायण र गणेशको मूर्ति जस्ता सामान किन्नेहरू बाक्लै देखिए।

काठमाडौंको न्युरोड र छेउछाउका बजारमा चिल्लो र सुकिलामुकिला अनुहारसहितका ग्राहक सुन–चाँदी पसलमा कति हो कति। साहुजीहरू पनि उस्तै दंग, मख्ख। कोही फुस्रो अनुहार र समान्य गक्ष झल्किने ग्राहक पसलमा छिर्यो भने साहुजीहरू पत्याउँदै नपात्याउने। सुन–चाँदी पसलतर्फ धरहराले पनि निकै चासो लियो, सुकिलामुकिला अनुहारमध्ये बहुसंख्यक त सुरक्षा निकायका गृहलक्ष्मीहरू पो रैछन्।

बहुसंख्यक गृहलक्ष्मीहरूको नजर चाँदीका सामान्य सामग्रीमा भन्दा पनि बहुमूल्य धातुतर्फ लम्किएको देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो कि श्रीमान् महोदयको मेहनतले उनीहरूको ‘खास सेफ’मा लक्ष्मीको बास राम्रै छ। अनि धरहराले मनमनै भन्यो– ‘लक्ष्मीले फेरि पनि बास गरून्, गृहलक्ष्मीहरूले सधैं त्यस्तै आश गरून्।’

प्रतिक्रिया दिनुहोस्