तीन महिनामा १ अर्ब ८८ करोडको आईपीओ



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको पहिलो तीन त्रैमाससम्ममा नेपाल धितोपत्र बोर्डसमक्ष विभिन्न २५ वटा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को अनुमतिका लागि बोर्डमा पेश गरेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार निवेदनमध्ये ३ वटा जलविद्युत कम्पनी र १ वटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थालाई १ अर्ब ८८ करोड रकम बराबरको आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरिएको छ।

त्यस्तै आईपीओ अनुमतिको प्रकृयामा रहेकामध्ये १० वटा संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रकृयामा रहेकोमा २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न सूचित गरिएको छ भने ४ वटा लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम हुने गरी आईपिओ निष्काशन गर्न सूचित गरिएको छ।

त्यस्तैगरी एउटाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ। यस अवधिमा ७ वटा संस्थाले बोर्डको राय सुझाव बमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेकोमा प्राप्त जवाफको पुनरावलोकन गरी ३ वटा संस्थालाई राय सुझाव बमोजिम विवरणपत्रमा सुधार गरी पुनः पेश गर्न सूचित गरिएको छ। प्रक्रियामा रहेकामध्ये गर्जाङ उपत्यका हाइड्रो पावर, लाफिङ बुद्ध पावर नेपाल र युनिक हाइडेल कम्पनीलाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न सूचित गरिएकोमा लामो अवधि व्यतित हुँदा पनि कुनै प्रतिक्रिया प्राप्त नभएको बोर्डले जनाएको छ।

चालू आवको पहिलो त्रैमासमा मात्र ११ वटा संस्थाले आईपीओको अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेका छन्। गत अवको सोही अवधिमा जम्मा १९ वटा संस्थाको निवेदन आईपीओ अनुमतिको प्रक्रियामा रहेका थिए। गत आवको सोही अवधिमा जम्मा १ वटा कम्पनीलाई१ करोड ८० लाख बराबरको आईपीओ निष्काशन अनुमति प्रदान गरिएको तुलनामा चालू आवको पहिलो त्रैमासमा आईपीओ अनुमतिको संख्या र रकम दुवैमा उल्लेख्य वृद्धि भएको बोर्डको भनाइ छ।

यस अवधिमा २ वटा संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन पेश गरेको समेत गरी जम्मा ११ वटा संगठित संस्थाको निवेदन प्रक्रियामा रहेका थिए। गत आवको सोही अवधिसम्ममा जम्मा ३१ वटा संगठित संस्थाको हकप्रद शेयर निष्काशन अनुमति सम्बन्धी निवेदन प्रक्रियामा रहेका थिए। चालू आवको पहिलो त्रैमासमा हकप्रद निष्काशनको संख्या तथा रकममा कमी आएको छ। अधिकांश बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको देखिएकाले हकप्रद शेयर निष्काशनमा कमी आएको छ।

प्रक्रियामा रहेकामध्ये यस अवधिमा ३ वटा लघुवित्त वित्तीय संस्थालाई रु १६ करोड ९० लाख रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको छ। पेश गरिएका निवेदनमध्ये ६ वटा संस्थाको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरण अध्ययन गरी आवश्यक सुधार गर्न राय सुझाव पठाइएको छ भने एउटा संस्थाको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरण पुनरावलोकनको प्रक्रियामा रहेको छ।

प्रक्रियामा रहेको मध्ये अपि पावर कम्पनीले पेश गर्नुपर्ने अद्यावधिक विवरण प्राप्त नभएको बोर्डले जनाएको छ। बोर्डका अनुसार गत आवको सोही अवधिमा जम्मा १४ वटा कम्पनीलाई ५ अर्ब ९८ करोड बराबरको हकप्रद निष्काशन अनुमति प्रदान गरिएको थियो। यस अवधिमा बोर्डले २ वटा संस्थालाई ३ अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न समेत अनुमति प्रदान गरेको छ।

गत आवको सोही अवधिमा ऋणपत्र निष्काशनको लागि कुनै पनि संगठित संस्थाले निवेदन पेश गरेका थिएनन्। त्यसैगरी बोर्डले १७ वटा संगठित संस्थाकोे ५ अर्ब ७६ करोड रकम बरावरको बोनस शेयर दर्ता गरिएको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा संख्यात्मक हिसाबले ८८ दशमलव ८९ प्रतिशत तथा रकमको हिसाबले ५४३ दशमलव ५४ प्रतिशतले बढी हो।

प्रतिक्रिया दिनुहोस्