“मी टु”को सुनामी



विनोद नेपाल

‘मी टु’ एक यस्तो उपकरण वा हतियार बनेको छ, जो रातारात कसैलाई एकैपटक माथि र कसैलाई तल पुर्याउन सक्ने सामथ्र्य राख्छ। हामीकहाँ मात्र होइन, यो समस्या यौनलाई गम्भीररूपमा नलिइने पश्चिमी समाजमा पनि देखा परेको छ। यस अभियानको शुरुआत नै संयुक्त राज्य अमेरिकाबाट भएको थियो।

ही समययता ‘मी टु’ भन्ने शब्दावली निकै चर्चामा छ। भारतमा त ‘मी टु’को सुनामी नै आएको छ। यसको चपेटामा थुप्रै परेका छन्, पर्दै छन्। नेपालमा पनि यसले छोइसकेको छ।

‘मी टु’ यौन दुव्र्यवहारविरुद्धको अन्तर्राष्ट्रिय अभियान हो। यस अयिभानमार्फत महिलाले आफूसँग भएका यौन उत्पीडनका सम्बन्धमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेका हुन्। यसको प्रारम्भ अक्टोबर २०१७ मा भएको थियो। पहिलोपटक हलिउडका चर्चित निर्माता वाइन्सटिनमाथि केही महिलाले यौन उत्पीडनको आरोप लगाएपछि यसको प्रारम्भ भएको थियो। भारतमा यस आन्दोलनको प्रारम्भ भएको र अहिलेसम्म विभिन्न क्षेत्रका थुप्रै नाम चलेका व्यक्तिहरू यसमा मुछिएका छन्।

यो आन्दोलन मूलतः यौनशोषणका सिकार भएका महिलाहरूको सहयोगका लागि शुरु गरिएको हो। सन् २००६ मा अमेरिकी नागरिक अधिकार कार्यकर्ता तराना बर्कले यस आन्दोलनको शुरुआत गरेकी हुन्। तराना बर्क स्वयम् यौन दुव्र्यवहार भोगेकी व्यक्ति हुन्। एक अन्तर्वार्तामा उनले बाल्यकालदेखि लिएर ठूलो हुँदासम्म तीनपटक आफ्नो यौनशोषण भएको बताएकी थिइन्। प्रारम्भमा उनले नै यस किसिमको उत्पीडनमा कोही एक्लो छैन भन्ने अनुभूति गराउनका लागि ‘म पनि’ आन्दोलन प्रारम्भ गरेकी हुन्। ‘मी टु’ भन्ने शब्द सर्वप्रथम अमेरिकी सामाजिक सक्रियताकर्मी तराना बर्कले प्रयोग गरेकी थिइन्। उनले विश्वभरका महिलाहरूलाई आफूमाथि भएको यौन हिंसा विश्वका सामु ल्याउनका लागि प्रोत्साहित गरेकी थिइन्।

यसरी यस अभियानको मुख्य उद्देश्य महिलाहरूका साथ खासगरी कार्यस्थलमा हुने यौन दुव्र्यवहारबारे जानकारी गराउनु हो। आफूमाथि हुने दुव्र्यवहारमा चुप नलाग्नु भन्ने पनि यसको उद्देश्य हो। यो अभियान प्रारम्भ भएयता थुप्रै महिलाले आफूमाथि भएका यौन दुव्र्यवहारका घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

सन् २०१७ को अक्टोबरमा प्रसिद्ध अखबार न्यूयोर्क टाइम्स र द न्यूयोर्करले अमेरिकी सिने निर्माता हार्भे वाइन्सटिनलाई लिएर ठूलो खुलासा गर्यो। यसमा हार्भे वाइन्सटिनमाथि अभिनेत्री रोज मेकगोवान तथा एस्ले जुडसमेतका महिलाले आफूहरूमाथि तीन दशकअघि यौन दुव्र्यवहार गरेको भन्दै आरोपित गरेका समाचार सार्वजनिक भयो। यस रिपोर्टमा ८० भन्दा बढी महिलाले कामको क्रममा वाइन्सटिनमाथि बलात्कार तथा यौनशोषणको आरोप लगाएको सार्वजनिक भयो।

यस आरोपपछि उनलाई वाइन्सटिन कम्पनीको बोर्डबाट बर्खास्त गरियो। उनीमाथि अनुसन्धान हुन थाल्यो। यसै बीच १६ अक्टोबर २०१७ मा हलिउड कलाकार एलिसा मिलानोलाई सामाजिक सञ्जालमा एक म्यासेज प्राप्त भयो, जसमा यदि आफूमाथि कहिल्यै यौन दुव्र्यवहार भएको छ भने ‘मी टु’सँग जोडिन अर्थात् सामाजिक सञ्जालको स्टाटसमा ‘मी टु’ लेखिदिन आग्रह गरिएको थियो, ताकि त्यसबारे अरुलाई पनि जानकारी होस् र विषयको गम्भीर्यता अवगत होस्। सो सन्देशअनुरूप मिलानोले ‘मी टु’ लेखेर ट्वीट के गरेकी थिइन्, त्यो भाइरल भयो, व्यापकरूपमा फैलियो। थुप्रै महिला सामाजिक सञ्जालमा यस ह्यासट्यागको प्रयोग गरेर आफूमाथि भएका यौन दुव्र्यवहारबारे सार्वजनिक गर्न थाले। हेर्दाहेर्दै यस अभियानमा हलिउडपछि अन्य विभिन्न क्षेत्रका महिला पनि सामेल भए र यसले विश्वव्यापी रूप लियो।

भारतमा सामाजिक सन्जालमा ‘मी टु’ अभियान हालै अभिनेत्री तनुश्री दत्ताका तर्फबाट लगाइएको आरोपपछि प्रारम्भ भयो। तनुश्रीले सन् २००८मा आएको चलचित्र हर्न ओके प्लिजको एक आइटम डान्सको छायांकनका क्रममा नाना पाटेकरबाट यौन दुव्र्यवहार भएको आरोप लगाइन्। उनले आरोप लगाइन् कि पाटेकर उनको नजिक आए र उनलाई गलत तरिकाले छुन थाले। उनले कोरियोग्राफर गणेश आचार्यमाथि पनि पाटेकरलाई सघाएको आरोप लगाइन् र दुवैका विरुद्ध उजुरी दर्ता गराइन्। यसपछि यो व्यापक भएको छ। यसको पक्ष र विपक्षमा मतहरू छन्। भारतमा त निर्माता, निर्देशक र अभिनेता तथा सहकर्मीमाथि यौन दुव्र्यवहारको आरोप लगाउने क्रममा नायिकाहरू परस्पर आरोप–प्रत्यारोप पनि गर्र्दै छन्।

हालसम्म जति पनि उजुरी परेका छन्, तीमध्ये अधिकांश वर्षौं पुराना छन्। तिनको प्रमाण पहिल्याउनु र कसैलाई दण्डित गर्नु सहज छैन। किनकि अदालतले हरेक कुराको प्रमाण खोज्छ। यसैले आरोपितहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने आधार भने भेटिन मुस्किल पर्छ। तसर्थ जति पनि उजुरी पर्छन्, सम्बन्धित व्यक्तिहरू जसलाई पीडकको रूपमा औंल्याइएको छ, तिनलाई बदनाम गराउन मात्र सहयोग पुग्छ। तर यो अभियान अबका दिनमा सचेतना र सजगताका लागि सहयोगी बन्न सक्छ।

एउटा कुरा केचाहिँ राम्रो हो भने, कसैले आफूलाई कसैप्रति चित्त बुझेको छैन र उसलाई बदनाम गराउनु छ मात्रै भने पनि यस हतियारको प्रयोग हुन सक्ने वा उसको नाम यौन दुव्र्यवहारमा जोडिदिए हुने अवस्था हुन्छ। यसैले पनि विगतका घटना चर्चामा आउन र बदनाम गराउनका लागि सहयोग हुनेछन् भने अबका दिनमा सचेत रहनका लागि चाहिँ यस्ता उजुरीले सहयोग पुग्न सक्छ। यसैले यो अभियान सकारात्मक हो। तर आफ्नो स्वार्थ पूरा गर्नका लागि जे–जसो गर्न पनि तयार हुने र स्वार्थ पूरा भएपछि अर्कालाई बदनाम गराउने नियतले गरिने उजुरीले सहमतिमै भएका कामका लागि पनि पुरुष दोषी ठहरिनुपर्ने, बदनामीको भागीदार हुनुपर्ने अवस्था आउन सक्छ। यसैले यो गम्भीर विषय हो।

यो अभियानले एकपछि अर्को व्यक्तिलाई पोल्दै जान थालेपछि भारतमा केन्द्र सरकारले कार्यस्थलमा यौनसँग सम्बन्धित विषयलाई लिएर एक मन्त्री समूह गठन गरेको छ। यो ‘मी टु’ आन्दोलनको दबाबका कारण गठन भएको हो। यो समूह यौनहिंसाका विरुद्धका विद्यमान व्यवस्थालाई कार्यान्वयनमा ल्याउनका लागि आवश्यक कदम चाल्नेछ। सँगसँगै वर्तमान कानुनी एवम् संस्थागत ढाँचालाई अझ राम्रो र बलियो बनाउनका लागि सुझाव प्रदान गर्नेछ। केन्द्रीय गृहमन्त्री राजनाथ सिंह यसका अध्यक्ष बनाइका छन्। सामाजिक सञ्जालबाट उठेको यस आन्दोलनले कार्यस्थलमा हुने यौनशोषणको समस्यालाई प्रभावशाली ढंगबाट उठायो र यसको दबाब त्यहाँको सरकारमाथि पर्न पुग्यो। पूर्वपत्रकार एवम् विदेश राज्यमन्त्री एमजे अकवरले स्वयंमाथि लागेको यौन उत्पीडनका आरोपको दबाबमा परी राजीनामा दिन बाध्य भए। अब यो समिति गठन गरेर सरकारले यो स्पष्ट गरेको छ कि सरकार महिलाको जीवन र सम्मानसँग जोडिएका विषयमा आँखा चिम्लिन सक्दैन, जुन स्वागतयोग्य कदम हो। तर यस कदमको सार्थकता तब सिद्ध हुनेछ जब यो समूह तत्काल सक्रिय हुनेछ र महत्वपूर्ण कदम चाल्नेछ। कार्यस्थलमा यौन दुव्र्यवहार रोक्नका लागि सरकारी प्रावधानहरूको अभाव नभए पनि तिनको कार्यान्वयन नहुँदा महिलामाथिको यौन दुव्र्यवहार बढेको हो।

भारतको सिनेमा उद्योगमा महिला कलाकारका साथ भएका विभिन्न यौन दुव्र्यवहारको खुलासापछि नायक, निर्देशकहरू अप्ठ्यारोमा परेका छन्। कतिपयलाई कामको बाध्यताले दबाब सिर्जना गरेका र कतिपयलाई दबाबमा यौनशोषण गरिएको पीडित भनिएकाहरूको दाबी छ। कतिपयले अहिले आएर यसै प्रकरणमा आफ्नो पद, प्रतिष्ठा र कामसमेत गुमाउन पुगेका छन् भारतमा। जस्तो कि निर्देशक सुभाष घई, साजिद खान र सुभाष कुपर, संगीतकार अनु मलिक आदि विवादमा तानिएका छन्। लेखक चेतन भगत सामाजिक सञ्जालको आक्रमणमा परेका छन्। कलाकार नन्दिता दासका बाबु जतिन दास पनि विवादमा परेका छन्। अरु पनि थुप्रै–थुप्रै यसमा मुछिएका छन्। कतिपयले सार्वजनिक रूपमै माफी पनि मागेका छन्।

वास्तवमा समय परिवर्तनशील छ, ‘मी टु’ बदलिएको समयको परिणाम हो। सामाजिक सञ्जालहरू यति प्रभावशाली भएका छन् कि यी छिन्भरमै कुराहरू फैलाइदिन्छन्। ‘मी टु’ एक यस्तो उपकरण वा हतियार बनेको छ, जो रातारात कसैलाई एकैपटक माथि र कसैलाई तल पुर्याउन सक्ने सामथ्र्य राख्छ। हामीकहाँ मात्र होइन, यो समस्या यौनलाई गम्भीररूपमा नलिइने पश्चिमी समाजमा पनि देखा परेको छ। यस अभियानको शुरुआत नै संयुक्त राज्य अमेरिकाबाट भएको थियो। यतिखेर हरेक दिन ‘मी ट’ुमा नयाँ खुलासा भइरहेका छन्।

नयाँ–नयाँ उजुरी सार्वजनिक भइरहेका छन्। यसमा पुरुष मात्र दोषी भने अवश्य छैनन्। कैयौं वर्षअगाडिका कुरालाई ल्याएर यतिखेर कसैको बदनामी गर्ने प्रयास कतिसम्म जायज हो ? त्यो भने सोच्नुपर्ने अवस्था छ। समाज खुल्ला र उदार हुँदै गएको छ। विभिन्न किसिमका विचलनहरू पनि देखा परेका छन्। यस समयमा आएर विगतका यौन दुव्र्यवहारका बारेमा खुलासा गर्ने साहस गर्नु आफैंमा भविष्यका लागि सजगताको लागि पाठ हुन सक्छ। तर हिजो कुन अवस्थामा र कसरी त्यस्तो अवस्था आयो, त्यसतर्फ पनि सोच्न सके बेस हुन्छ। यसो हुन सकेमा आगामी दिनमा हुने व्यवहारहरू सम्य र शिष्ट हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस्