पद्मरत्नप्रति श्रद्धा–सुमन



स्वतन्त्र वामपन्थी एवम् मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको भौतिक शरीर हामीबीच अब रहेन । उहाँ नेपालको पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनका एक अभिन्न व्यक्तित्व हुनुहुन्छ । उहाँको निधनसँगै लोकतान्त्रिक आन्दोलन र भाषिक आन्दोलनको दिशामा पूर्णविराम लाग्ने देखिन्छ । समतामूलक समाज निर्माणका लागि उहाँको संघर्षमय जीवनगाथाको सम्झना मात्र बाँकी रहेको छ । उहाँको विचार र निष्ठा नेपाली समाजको लोकतान्त्रिक रूपान्तरण, समावेशी लोकतन्त्र र सामाजिक न्यायको लागि सान्दर्भिक र अनुकरणीय रहेको छ ।

नेपालभाषाको पत्रकारिताको माध्यमबाट सार्वजनिक जीवनमा देखा पर्नुभएका तुलाधरले मानव अधिकार अभियन्ताका रूपमा जीवनको अन्तिम घडीसम्म निरन्तर सक्रिय रहनुभयो । नेपाली समाजको रूपान्तरणका निम्ति आफ्ना रचनात्मक कार्यबाट निरंकुश एकदलीय पञ्चायती शासनका बेला स्वतन्त्रताको धिपधिपे दियोलाई निभ्न दिनुभएन । पञ्चायती सरकारले २०४३ सालमा गराएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा काठमाडौंबाट सूर्य चिह्नसहित जनपक्षीय उम्मेदवार बन्नुभएका तुलाधर पञ्चायती व्यवस्थाविरुद्धको आवाजलाई बुलन्द बनाउने प्रभावशाली नेता हुनुहुन्थ्यो । नेता तुलाधरको साहस अतुलनीय थियो । साथै उहाँको जमात उचाल्ने भाषण हुन्थ्यो ।

पञ्चायतविरुद्धको आन्दोलनको अगुवा गर्ने क्रममा २०४६ तिर नेता तुलाधर वामपन्थी र प्रजातन्त्र पक्षधर शक्ति नमिलेसम्म पञ्चायती व्यवस्थालाई ढाल्न नसकिने निष्कर्षमा पुग्नुभएको थियो । यही बुझाइ अनुरूप नेता तुलाधर वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर आन्दोलनलाई सफल बनाउन क्रियाशील रहनुभयो ।

तत्कालीन मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो वामपन्थी सरकारमा उहाँ स्वास्थ्य तथा श्रममन्त्री हुनुहुन्थ्यो । २०५४ सालमा एमाले विभाजनपछि नेता तुलाधर सक्रिय राजनीतिबाट क्रमशः मानवअधिकार अभियानमा सक्रिय रहनुभएको थियो । तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुहुने तुलाधर २०६२÷६३ को आन्दोलनताका नागरिक समाजको अगुवाका रूपमा सक्रिय रहनुभएको थियो । त्यसपछि पहिचानको आन्दोलनमा सर्वमान्य नेताको रूपमा सक्रिय रहनुभएको थियो ।

पद्मरत्न तुलाधरका लागि राजनीति असमानता र अन्यायका विरुद्ध लड्ने मञ्च थियो । कमाउने र आसेपासेलाई पोस्ने तरिकाको राजनीति उहाँले कहिल्यै गर्नुभएन । पद्मरत्न लामो समय सत्तावृत्तमा रहनुभएन । छोटो समयका निम्ति मन्त्री बन्नुभए पनि त्यसमै रमाएर अनियमिततामा आफूलाई संलग्न गराएको पनि सुनिएन । एउटा आदर्श नेताका रूपमा उहाँले आफूलाई उभ्याइरहनुभयो । सत्ताबाहिर रहँदा पनि सधैँ उहाँ सर्वसाधारणको मनमा बस्न सफल रहनुभयो, जुन राजनीतिक दल र तिनका नेताका लागि अनुकरणीय रहेको छ । उहाँप्रति हार्दिक श्रद्धा–सुमन ।

प्रतिक्रिया दिनुहोस्