मुटुजन्य रोगको नयाँ उपचार विधिको पहिचान



विश्वमा नै बढ्दोरूपमा देखापरेको मुटुजन्य रोगको जोखिम बढ्दै जाँदा त्यसको समाधानको उपाय पनि तीव्ररूपमा खोजिँदै गएको छ। वैज्ञानिकहरूले मुटुको उपचारलाई कसरी प्रभावकारी बनाउने र बिरामीको ज्यान बचाउने भन्नेमा नयाँ–नयाँ विकल्प खोज्दै आएका छन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रजनीश कपुरले शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो– ‘विश्वमा नै बढ्दै गएको नसर्ने रोगको प्रकोप नेपालमा पनि बढ्दै गएको छ।’ यसको मुख्य कारण मुटुरोग भएको बताउँदै उहाँले मुटुरोगबाट जोगिन खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। मेदान्त अस्पताल संसारकै उत्कृष्ट उपचार दिने अस्पताल रहेको भन्दै नेपालीले उत्कृष्ट सेवा लिन चाहे सहजरूपमा उपलब्ध हुने बताउनुभयो।

पछिल्लो समय इजरायलको सेन्सिबल मेडिकल इनोभेसन नामक कम्पन्नीले एउटा सेन्सिवल भेस्ट बनाएको छ। सो अत्याधुनिक प्रविधि जडित भेस्टले फोक्सोको अवस्थाको बारेमा चिकित्सकलाई जानकारी गराउँदछ। मुटुले असन्तुलितरूपमा रगत प्रवाह गरेर श्वास–प्रश्वास असामान्य हुँदा त्यसको असर फोक्सोमा हुने र फोक्सोमा तरल पदार्थ जम्मा हुँदा त्यसले हृदयघात हुने अवस्थामा पुर्याउन सक्ने वैज्ञानिकहरूको दाबी छ।
गतवर्ष अमेरिकाले प्रयोगमा ल्याएको यो प्रविधि शरीरमा पहिरिँदै गर्दा त्यसमा जडित यन्त्रले फोक्सोको अवस्थाका बारेमा चिकित्सकलाई जानकारी गराउँदछ। यसैबीच भारतको चर्चित अस्पताल मेदान्ताले आफूकहाँ आउने बिरामीका लागि यो प्रविधिवाला उपचार सेवा उपलब्ध गराउने बताएको छ।

‘यो प्रविधिले हृदयघात हुने जोखिम बाइपास गर्नुपर्ने अवस्था आउनबाट रोक्ने काम गर्न निकै नै मद्दत गर्ने बताइएको छ। त्यसैले हामीले यी प्रविधिको प्रयोग गर्दै छौं।’ –मेदान्तका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रजनीश कपुरले भन्नुभयो। बजारमा छिट्टै आउन लागेको नयाँ प्रविधि भेस्टले बिरामीले कपडाको माथि लगाएर फोक्सोमा भएको क्रियाकलापलाई परीक्षण गर्ने सक्नेछन्।

जब मुटुले राम्ररी रगत प्रवाह गर्न छोड्छ, तब श्वास–प्रश्वासको तथा अन्य कारणले फेक्सोमा तरल पदार्थ थुप्रिन थाल्छ। यो प्रक्रिया बिरामीले चालै नपाई एक÷दुई हप्ताअघि नै शुरू भइसकेको हुन्छ। तसर्थ उपचारका लागि हतारिनुभन्दा यो नयाँ प्रविधिको भेस्ट प्रयोग गरेर ३ मिनेटमै लक्षण थाहा पाउन सकिन्छ। जसले सूचना प्रवाह गर्ने र औषधि उपचार, खानपिनमा संयमतालगायत सजगता अपनाउन सकिन्छ। हरेक मुटु रोगीले विशेषत पर्यावरणीय दूषितबाट जोगिनुपर्ने पनि जानकारी गराइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्