भाइटीकाका दिन चीन उड्दै ‘मिस नेपाल’



हेटौंडा,(नेस)
चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिवार हुने ‘मिस वल्र्ड’ प्रतियोगिताका लागि मिस नेपाल वल्र्ड मकवानपुरे चेली श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकी छिन् ।

यसका लागि खतिवडा कार्तिक २३ गते शुक्रबार भाइटीकाका दिन सान्यातर्फ जाने भएकी हुन् । खतिवडाले त्यहाँ संसारभरका विभिन्न देशबाट आएका एक सय २० सुन्दरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ‘ब्युटी पिजन्ट’ अन्तर्गत् विभिन्न इभेन्टमा उनीहरुको ट्यालेन्टका आधारमा मिस वल्र्ड छनौट हुनेछ ।

मिस नेपाल खतिवडाका अनुसार प्रतियोगिताका लागि फरक इभेन्टमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमध्ये एक हो–ब्युटी विथ अ पर्पस् अर्थात् उद्धेश्यसहित सौन्दर्य । यसका लागि विभिन्न देशका सुन्दरीले आआफ्नो उद्धेश्यसहित वृत्तचित्र प्रस्तुत गर्नुपर्ने हुन्छ । सन् २०१३ मा नेपालका लागि पहिलो पटक इशानी श्रेष्ठले उक्त उपाधि जितेकी थिइन् ।

मिस नेपाल वल्र्ड हुनुअघि नै उनले महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी र त्यसपश्चात् पनि यस्ता कार्यमा निरन्तर लागिरहेकी छिन् । खतिवडा भन्छिन्–प्रतिष्पर्धामा कामको डकुमेन्ट्रीसमेत प्रस्तुत गर्नुपर्ने हुन्छ । ‘म त्यसका लागि केही अघिमात्र गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका–७, भार्तामा रहेको चेपाङ बस्तीमा गएको रिपोर्ट प्रस्तुत गर्नेछु । त्यहाँका बृद्धबृद्धा, बालबालिकासँग भएका कुराकानी तथा समस्याको रिपोर्ट र समस्याका हल गर्ने विषयमा गरिएका मेरा प्रयासलाई देखाउनेछु,’ उनले भनिन् ।
‘कुपोषणग्रस्त चेपाङ गाउँको यथार्थ प्रस्तुत गर्दैछु,’ खतिवडाले भनिन् । उनले उपाधि जित्न र देशको नाम उच्च बनाउन आफूले मेहनत गर्ने बताइन् ।

उनको सहयोगमा त्यहाँ स्वास्थ्यचौकी भवन बनेको छ । डिजाइनअनुसार स्वास्थ्य चौकी अपांग, अशक्त तथा बालबालिकामैत्री, वातावरणमैत्री, तापरहित एवम् हलुका छ । चौकी निर्माणसँगै गाउँमा सुरक्षित डेलिभरी, स्वास्थ्य जनचेतना कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजनका कार्यक्रमले तीव्रता पाउने छन्,’ उनले भनिन् । स्वास्थ्यलाई सुविधा हैन, आवश्यकताका रुपमा हेरिएको उनले बताइन् ।

मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्यचौकी बनाउन हङकङका नेपालीले १२ लाख रुपियाँबराबर सहयोग गरेका थिए । हङकङबासी नेपालले च्यारिटी डिनर गरी सहयोग संकलन गरेका हुन् ।

मिस वल्र्डमा श्रृंखलाले नेपाली सँस्कृति झल्किने प्रस्तुति पनि दिने बताइन् । उनको इन्ट्री भिडियो सुटका लागि नेपाली दक्ष भिडियोग्राफी टोलीसँगै आफू केही दिनअघि रसुवाको गोसाइँकुण्ड गएको उनले जानकारी दिइन् । नेपाल टुरिजम बोर्डले डकुमेन्ट्रीका लागि सहयोग गरेको उनले बताइन् ।

ट्यालेन्ट शोका लागि उनले जोन लेननको गीत ‘इम्याजिन’ गाउने तयारी गरिरहेको जानकारी दिइन् । जोन लेननका प्रसिद्ध ‘इम्याजिन’ गीत कालजयी छन्, प्रत्येक समय परिस्थितिमा उत्तिकै सुहाउने । कुनै बेला लेननले विश्व एक भएको र जताततै शान्ति छाएको सपना देखेका थिए ।

गीतजस्तो कालजयी थियो, लेनन आफंै पनि कालजयी रहे । उनको हत्या भएको तीन दशक पुगिसकेको छ, चिसो डिसेम्बर महिनामा न्युयोर्क सिटी अपार्टमेन्ट बाहिर । आफ्नै प्रशंसकबाट उनी मारिएका थिए । नेपाल पनि लेनन ‘मेनिया’ बाट अछुतो छैन । सन् ७० तिर विशेषतः काठमाडौंका युवामा यो छाएको थियो । त्यसयता त्यो मोह कहिल्यै टुटेन ।
नेपाली कला, सँस्कृति एवम् चिनारी झल्किने गरी थप केकस्ता प्रोजेक्ट गर्न सकिन्छ भन्नेबारे आफू अझ तयारीमा रहेको उनले बताइन् ।

‘प्रधानमन्त्री केपी शर्माओलीले जितको आशीर्वाद दिनुभएको छ,’ उनले थपिन्–मलाई मिस वल्र्ड बन्न भोटको आवश्यकता पर्दछ, नेपालीबाट भोटको आशा राखेको छु । खतिवडा पूर्ण तयारी र पूर्ण विश्वस्त छिन्, पोजिटिभ पनि । त्यति नै स्वीट, वौद्धिक र बोल्ड पनि । उनको वौद्धिकताको प्रशंसक नै धेरै भइसकेका छन् ।

स्कुले दिनदेखि नै पढाइमा उत्कृष्ट श्रृंखलाले एसएलसी र प्लस टु दुवैमा डिस्टिङ्ग्सन ल्याएकी थिइन् । पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक उनी थेसिस टपर हुन् । उनले लुमन्ती सपोर्ट समूहमा आर्किटेक्टका रुपमा काम गरेको अनुभवसमेत बटुलिसकेकी छन् । उनी लेखनमा पनि उत्तिकै रुचि राख्छिन् ।

विशेष गरी अंग्रेजी भाषामा उनको लेखन दक्षता सुन्दर छ । उनलाई एक बलियो प्रतिस्पर्धीका रुपमा हेर्ने गरिएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि मिस नेपाललाई बिदाइ गरिएको छ । आयोजक संस्था द हिडन ट्रेजरले मिस नेपाल वल्र्ड खतिवडालाई बिदाइ गरेको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्वपूर्ण काम के गर्नुपर्ला ?’ भनेर सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै २८ चैत २०७४ को रात हेटौंडाकी २३ वर्षीया खतिवडा ‘मिस नेपाल वल्र्ड–२०१८’ को विजेता बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्