प्रदीप र जसिताको लभ स्टेसन काठमाडौंमा



लिली बिली जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित अर्को फिल्म लभ स्टेसन दार्जलिङको सुटिङ पूरा गरी काठमाडौंको सुटिङमा जुटेको छ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ र मिरिकमा ६० प्रतिशत छायांकन पूरा गरी निर्माण टोलीले दशैंलगत्तै इलामको पशुपतिनगरमा सुटिङ
गरेको थियो।

एक साता इलाम बसाइमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायांकन पूरा गरी लभ स्टेसन यतिबेला काठमाडौंको सुटिङमा जुटेको हो। तिहारसम्ममा काठमाडौंको छायांकन सम्पन्न गर्ने निर्माता गोविन्द शाहीले जानकारी गराए। फिल्मको दुई गीतबाहेक बाँकी छायांकन तिहारअघि नै पूरा गरिने उनले बताए। ‘लक्ष्मीपूजासम्म करिब ९० प्रतिशत छायांकन सक्दै छौं।

तिहारपछि एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै छायांकन पूरा हुनेछ’, निर्माता शाहीले भने– ‘हामीले तोकेको निर्धारित ४५ दिनभित्रै सम्पूर्ण छायांकन पूरा हुनेछ। यो वर्षको अन्तिममा रिलिजमा ल्याउनेछौं।’

निर्देशक उज्ज्वल घिमिरेले लभ स्टेसन सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म हुने बताए। प्रदीप र जसिताको काम अहिलेसम्मकै राम्रो भएको उनले बताए। प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको भन्दा लभ स्टेसन केही पृथक हुने बताए। फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोल, दिनेश काफ्ले,
कालु रानालगायतले अभिनय गरेका छन्।

काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत तथा आलोक शुक्लाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्