मालामा आत्मनिर्भर बनाउन सामूहिक फूलखेती



नरेन्द्र केसी, घोराही, दाङ
अचेल दाङको घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँमा निकै भीड लाग्न थालेको छ । पहिलोपटक गरिएको सामूहिक सयपत्री फूल खेतीबाट देखिएको आकर्षणसँग रमाउँदै सेल्फी हान्न दिनमा सयभन्दा बढी यहाँ पुग्ने गरेका छन् ।

माओवादी पूर्वजनमुक्ति सेनाका ब्रिगेड सहायक कमाण्डर क्षितिज मगरको नेतृत्वमा लोकेन्द्र रोका र इन्द्रा बुढाले साढे दुइ बिघा जमीन भाडामा लिएर सामूहिक फूल खेती गरेका छन् । शहिदमार्ग दक्षिणतिरको ठुलो पलटमा गरिएको यो खेतीले अहिले धेरैको ध्यान तानेको छ ।
यो बर्षमा कम्तीमा ५० हजार माला उत्पादन गर्ने लक्ष्यसहित खेती गरिएको इन्द्रा बुढाले जानकारी दिनुभयो । अब तिहार शुरु भएसँगै माला बुन्न शुरु गरिने छ । स्थानीय महिलालाई रोजगारी दिने गरी प्रतिमाला बनाएको पाँच रुपैयाँ दिने तयारी गरिएको छ । ‘लक्ष्मीपूजाको अघिल्लो दिनबाट माला बनाउन शुरु हुन्छ’– उहाँले भन्नुभयो– ‘धेरै माला त गोबर्धन पूजाका दिन बनाइने छ किनकि ग्राहकमा ताला माला दिनु हाम्रो उद्देश्य हो ।’

मालाको साईज अनुसार ८० देखि एक सय ५० रुपैयाँ सम्म मूल्य निर्धारण गरिएको छ । यो बर्ष पाँच लाख जति आम्दानी गरेर आगामी बर्षदेखि फार्म नै दर्ता गरेर व्यावसायिकरुपमा फूल खेती गर्ने माओवादी पूर्वजनमुक्ति सेनाका बिग्रेड सहायक कमाण्डर रहेका क्षितिज मगरले जानकारी दिनुभयो ।

प्लाष्टिकको माला बिस्थापित गरी मालामा आत्मनिर्भर गराउनु आफूहरुको उद्देश्य रहेको मगरले बताउनुभयो । ‘हामी राष्ट्रियता ठूला ठूला कुरा गर्छौं तर तिहारमा लगाउने मालासमेत भारतबाटै ल्याउँछौं’– उहाँले भन्नुभयो– ‘यसले एकातिर हामीलाई परभिर्नर बनाएको छ भने अर्कोतिर प्लाष्टिकको मालाले वातावरण प्रदूषण गरेको छ, त्यसैले मालामा आत्मनिर्भर बनाउन र वातावरण जोगाउन सहयोग पुगोस भनेर जोखिम मोलेरै यो खेती गरेका हौं, खेती राम्रो भएकाले खुशी नै छौं ।’ आफूहरुको प्रयासबाट मात्रै फूल खेतीमा आत्मनिर्भर नभए पनि यसबाट सिकेर अरुले पनि खेती गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

दाङमा गरिएको सामूहिक फूल खेती नयाँ भएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालले ब्यापारीहरुलाई पनि बाहिरबाट प्लाष्टिकका माला नभित्र्याउन र पुगेजति स्थानीय फूलका माला बिक्री गर्नतिर जोड दिन आग्रह गरिएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिकाका वातावरण समिति संयोजक शक्तिराम डाँगीले पनि यसलाई समग्र कृषि उत्पादनसँग जोडेर लैजान उमहानगरले योजना बनाउने बताउनुभयो । ‘बजार प्लाष्टिकका मालाले आक्रान्त छ, वातावरण पूरै प्रदुषित छ’– उहाँले भन्नुभयो– ‘अहिले केही किसानले सिकाएको पाठ अनुकरणीय छ, यसबाट उपमहानगरले पनि सिक्ने छ ।’

 

प्रतिक्रिया दिनुहोस्