रुकुमको अदुवाले पायो दोब्बर भाउ



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले उत्पादन गरेकोे अदुवाले यसवर्ष राम्रो बजार भाउ पाएको छ । गतवर्षको तुलनामा भन्दा यो वर्ष यहाँका किसानले उत्पादन गरेको अदुवाले दोब्बर भाउ पाएको किसानले बताएका छन् । गएको वर्ष प्रतिक्विन्टल १७ देखी १८ सयमा बिक्रि हुने गरेको अदुवाले यसवर्ष ४ हजार सम्मको बजार भाउ पाएको छ ।

अदुवाका लागि पकेट क्षेत्र मानिने खारा, मुरु, पेउघा, नुवाकोट लगायत छिमेकी जिल्ला सल्यान बाँफूखोलाका किसान समेत अदुवाले राम्रो बजार भाउ पाउँदा खुशी भएका छन् । गतवर्ष यहाँका किसानले उत्पादन गरेको अदुवाले सोचेजस्तो बजार भाउ नपाउँदा केही किसानले घरमै अदुवा थन्काएर राख्नु परेको थियो ।

तर यो वर्ष अदुवाको सिजन शुरु भएसंगै बजार भाउ राम्रो भएको स्थानीय चोपबहादुर खड्काले बताउनुभयो । खड्काका अनुसार यसक्षेत्रका अदुवा किसानले प्रत्यक वर्ष प्रतिघर १० देखी १५ क्विन्टल सम्म अदुवा उत्पादन हुने र त्यसबाटै घरपरिवार धान्न सजिलो हुने बताउँदै आएका छन् । स्थानीय बिरबहादुर ओलीले गतवर्ष त्रिवेणी गाउँपालिकाबाट एक करोड १७ लाख बराबरको अदुवा देश तथा विदेशका विभिन्न ठाउँमा निर्यात भएको बताउनुभयो । ओलीले बिक्रि नभएको अदुवाको भने यहाँका किसानले सूटो बनाएर स्थानीय बजारमा बिक्रि गरेको बताउनुभयो ।

विशेष गरेर त्रिवेणी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, र ७ का किसानले सबैभन्दा बढी अदुवा उत्पादन गर्ने गर्दछन् । यहाँका किसानले उत्पादन गरेको अदुवा संकलनका लागि हाल घरआँगनमै व्यापारीले प्रतिकिलो ४० रुपैंयामा अदुवा खरिद गर्न शुरु गरेका छन् । देशका विभिन्न ठाउँबाट अदुवाको माग बढ्दै गएपछि किसानको घर सम्म पुगेर अदुवा संकलन गरिएको स्थानीय व्यापारी धनवीर ओलीको भनाई छ ।

उहाँका अनुसार किसानबाट खरिद गरिएको अदुवा प्रतिकिलो ५० रुपैंयाका दरले बिक्रि भईरहेको बताईएको छ । केही दिन अघि मात्र किसानबाट खरिद गरिएको ४० टरक अदुवा समेत जिल्ला बाहिर निर्यात गरिएको ओलीले जानकारी दिनुभयो । अदुवा उत्पादनका हिसाबले जिल्लामै पकेट क्षेत्र मानिएको त्रिवेणी गाउँपालिकाबाट बर्षेणी ३ टन भन्दा बढी अदुवा उत्पादन हुने गर्दछ । यसक्षेत्रको अदुवा दाङ्ग, नेपालगञ्ज, बुटवल, काठमाडौं तथा भारतको गोरखपुर र कानपुर सम्म निर्यात हँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्