सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर



सामाजिक सञ्जालको दुरुपयोग बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालय र मातहतका निकायलाई मर्यादित ढंगबाट सञ्जालको प्रयोग गर्न निर्देशन दिएको छ । फेसबुक, ट्वीटर लगायतका माध्यम मार्फत व्यक्तिको मानमर्दन हुने गरी टीकाटिप्पणी गर्ने, सरुवाबढुवा लगायतका विषयमा विभाजित अभिव्यक्ति दिने क्रम बढेपछि मन्त्रालयले ‘सामाजिक सञ्जाल र मोवाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन’ जारी गरेको हो । मन्त्रालय र मातहतका निकायसँग जोडिएका गतिविधी, विभिन्न दलका नेता र महत्वर्पूण तहमा कार्यरत पदाधिकारीको समर्थन र विरोधमा व्यङ्ग्यात्मक कार्टुन र सामग्री सम्प्रेषण गर्ने क्रम बढेपछि यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय र मातहतमा कार्यरत सबै कर्मचारी सहित विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षकले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्दा प्रोफाइलमा समेटिने विवरण र तस्वीर वास्तविक हुनुपर्ने मार्गनिर्देशनमा उल्लेख छ । कुनै सम्प्रदाय विशेषको पक्ष वा विपक्षमा विचार व्यक्त गर्ने, अरुले विचार गरेको तथा सेयर गरेको नकारात्मक विषयको टिप्पणी, सम्मानित व्यक्तिको चरित्रको सम्बन्धमा अनावश्यक टिप्पणी गर्ने क्रम बढेपछि मन्त्रीस्तरिय बैठकले यस्तो मार्गनिर्देशन जारी गरेको हो । राजनीतिक पार्टीको झन्डा फेसबुकको कभरमा राख्ने, चुनावको समयमा राजनीतिक दलको झन्डा वा उम्मेदवारको फोटो शेयर गर्ने जस्ता गतिविधी रोक्न आवश्यक भएको मन्त्रालयले प्रष्ट्याएको छ ।

मन्त्रालयले जारी गरेको ६ बुँदे मार्गनिर्देशनमा शिक्षक, कर्मचारी, तथा विश्वविद्यालयका प्राध्यापकद्धारा हुने व्यक्तिगत प्रयोग र मन्त्रालय अन्र्तगतका निकायले प्रयोग गर्ने सामाजिक सञ्जालको पेजका लागि छुट्टै निर्देशन गरिएको छ । मोवाइल फोनका कारण कार्यकक्ष, बैठककक्ष र कक्षाकोठाको गतिविधी तथा शिक्षण शिकाई प्रभावित पार्न प्रभावित पार्न नमिल्ने मन्त्रालयको ठहर छ ।

विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीको सामाजिक सञ्जालको प्रयोगको अनुगमन र अभिलेख सम्बन्धित निकायले राख्नुपर्ने, विद्यालयको हकमा अभिलेख राख्ने काम प्रधानाध्यापकले गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी सामाजिक सञ्जालका आधिकारिक पेज वा ह्यान्डलमा सम्प्रेषण गरिने सूचना तथा सामाग्री सम्बन्धित संस्थाका कर्मचारीको व्यक्तिगत छवीलाई नभई संस्थाको सकारात्मक गतिविधीलाई प्रस्तुत गर्ने प्रकृतिको बनाउन निर्देशन दिइएको छ ।

सामाजिक सञ्जालको प्रयोगले देश विदेशका अभ्यास, खवर र अन्य सूचना प्राप्त गर्न प्रभावकारी भूमिका खेलेपनि यसको सदुपयोग भन्दा दुरुपयोगका घटना बढिरहेका छन् । त्यसैले शिक्षा मन्त्रालयले अघि बढाएको यस्तो पहल अन्य मन्त्रालय, कार्यालय र सबै सार्वजनिक सेवा प्रदायक संघ÷संस्थामा पनि उत्तिकै खाँचो भइसकेको छ ।

सामाजिक सञ्जालका कारणले केही वर्षयता पारिवारिक विखण्डन मात्रै होइन आफन्त र साथीभाई इष्टमित्रसँगको मित्रता र साइनो समेत तोडेका पर्याप्त उदाहरण छन् । अपराधका गतिविधी बढाउन सामाजिक सञ्जाल प्रमुख कारण बन्न थालेको सुरक्षा अधिकारी बताउन थालेका छन् । सामाजिक सञ्जालका उपयोगिता र फाइदा धेरै हुँदा हुँदै पनि विकृति नियन्त्रण गर्न राज्यले गम्भिर पहल अघि बढाउन ढिलो भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्