दशैँका सम्बन्धमा भन्नै पर्ने कुरा



-मुक्तिबन्धु
नेपालीहरुका लागि दशैँ धार्मिक चाडभन्दा बढी सांस्कृतिक चाड हो । कतिका लागि धार्मिक चाड पनि हो । यसले नेपाली जनताको मायाममता पाएको छ । वार्षौंदेखिको गोडमेल र मलजल पाएको छ । झारपात उखेलेर बोटबिरुवाको गोडमेल गर्ने र स्नेहसाथ हुर्काउने, फुलाउने, फलाउने काम कृषि संस्कृतिमा सुविज्ञात नै हो । अपरिचित होइन ।

दशैं रामरमिताको चाड हो । दशैंमा पिङ खेल्ने चलन नेपालमा पुरानै हो । पुरानो समयमा पिङ आनन्दको सुलभ स्रोत मानिन्थ्यो । दशैंमा गाउँबस्तीको सरसफाइ गरिन्थ्यो । पानी पँधेराहरुको सरसफाइ गरिन्थ्यो । घरआँगनको सरसफाइ गरिन्थ्यो । घरघरमा रमाइलो भित्रिन्थ्योे । सार्वजनिक स्थान र चौतारीहरुमा रमाइलो डाकिन्थ्यो । दशैमा गाउँबास्तीका गारेटो बाटोहरुमा पनि चहलपहल बढ्थ्यो । आज पनि त्यो स्थिति सरदर कायमै छ ।

भारतमा जतिबेला दशहरा आउँछ । नेपालमा दशैं आउँछ । नेपालमा दशहरा गृष्ममै आउँछ । दशैं मनोरम शरद् ऋतुमा आउँछ । नेपाली चाडबोधक निक्खरा नेपाली शव्द हो दशैँ । नेपालमा दशैंको विशेष महत्व छ । मेचीदेखि महाकालीसम्मका जनताले साझा रुपमा मनाइँदै आएको चाड हो दशैं । दिनभरी यत्रतत्र चर्न गएका चराहरु साँझ गुँडमा आइपुगेजस्तै दशैंमा नेपालीहरु घर आइपुग्छन् । दशैं नयाँनयाँ कपडा लगाउँने र यथासम्भव मिठोमसिनो खाने, रमाउने चाड हो । यो आफन्तहरुबीच आपसी मिलन र आशीर्वचन आदानप्रदानको चाड पनि हो । दशैंमा टीका जमरा साक्षी राखेर आशीर्वाद आदानप्रदान गर्ने चलन नेपालको मौलिक हो । क्षत नभएको चामललाई अक्षता भनिन्छ । यवाङ्कुरलाई जमरा भनिन्छ । अक्षता र जमरा स्वस्थ जीवनका प्रतीक हुन् । यिनलाई कुनै धर्मसँग जोडेर बुझ्नुपर्ने आवश्यकता देखिँदैन । यति हुँदाहुँदै पनि दशैंलाई कतिपय सन्दर्भमा राणाकालले बिटुल्याएको थियो ।

राणकालमा दशैं उत्कट चाकरी प्रमाणीकरणको औपचारिक समय पनि थियो । दशैंमा धर्म परम्पराका आवरणमा औपचारिक रुपमै भयङ्कर चाकरी चल्थ्यो । चाकरीकै बलमा दशैंको टीकामा चाकरहरु कतिको जागीर बहाली हुन्थ्यो त कतिका जागीर पजनी पनि हुन्थ्यो । राणाशासनपछि केही वर्षसम्म गाउँबस्तीमा थरी मुखिया जिम्वाल आदिले आफ्ना रैतीहरुबीच चाकरीको त्यस बाध्यात्मक टीकाप्रथालाई प्रकारान्तरले कायम राखेका थिए । मुलुक क्रमशः यस जन्जालबाट मुक्त भयो । पारिवारिक मिलन र आशीर्वचनको राष्टिय चाडका साथै मिठो खाने राम्रो लाउने प्रमुख चाडका रुपमा नेपालीहरु बीच दशैको महत्वमा खास परिवर्तन आएन ।

हिजो राजतन्त्रमा राजाले जे–जे गथे{, आज राष्ट्रपतिले पनि त्यही अवतार ग्रहण गरी राजकीय ठानमान र शानका साथ भव्य सवारी व्यवस्था गरेर जनतालाई वाक्क–दिक्क हुने गरी मन्दिर–मन्दिरमा पुग्नुपछ{, पूजा–अच{ना गनु{पछ{ भन्ने सोच कति गणतान्त्रिक, कति संवैधानिक ? यस्ता ठानमानमा गरिने खच{को वैधानिकता पुष्टि कसरी हुन्छ ? मुख्यतः सवारी र विशेष पूजा–अच{नाका कारण जनताले बेहोनु{पने{ दुःख–कष्टको वैधानिक औचित्य के हुन सक्छ ?

राजनीतिक जागरणसँगै हराउँदै गएको चाकरी टीका–प्रथाको यसपटक शीतल निवास र प्रधानमन्त्री निवासमा विधिवत् पुनर्मञ्चन भएको देखियो । प्रधानमन्त्री त धपेडी हुने गरी पनि टीकादानमा सरिक हुनुभयो । राष्ट्रपतिकोमा चाकरीका कतिपय दृश्यले राणाकाललाई पनि उछिनेको समेत देखियो । बदलिँदो समयको परिप्रेक्ष्यमा यो सबै संविधानसम्मत काम थिएन । यसैले शोभनीय पनि थिएन ।
नेपालमा अहिले नेताहरुले टाकटुक मिलाएर ल्याएको नयाँ सविधान छ । त्यो सबिधान लागु भइसक्यो पनि भनिएको छ । त्यो सविधान धर्मनिरपेक्ष्य छ । धर्मनिरपेक्षताको तात्पर्य कुनै पनि धार्मिक काममा राज्यले समय र पैसा खर्च नगर्नु हो । धार्मिक क्रियाकलापबाट राज्य अलग्गै बस्नु हो । निरपेक्ष्य बस्नु हो । राज्यका विभिन्न क्षेत्र र निकायमा क्रियाशील व्यक्ति जसकसैले पनि सरकारलाई दिएको समयबाहिर सरकारी साधन–स्रोत प्रयोग नगरी केवल व्यक्तिगत आस्थाका रुपमा धार्मिक क्रियाकलापमा संलग्न हुन पाउँछ । सरकारी स्तरमा रहेर सरकारी साधन–स्रोत प्रयोग गरेर धार्मिक क्रियाकलापमा संलग्न रहन सविधानले मिल्दैन । धर्मनिरपेक्ष्य भनिएका मुलुकमा सरकारी व्यक्तित्वहरुले सरकारी स्तरमै धार्मिक क्रियाकलापमा सम्मिलित हुनु सम्विधानको सरासर उल्लङ्घन हो ।

टीकालाई धर्मका रुपमा नलिएर संस्कृतिका रुपमा मात्र लिँदा पनि टीका लाइदिने र टीका लगाइमाग्नेका बीच नातासम्बन्ध, उमेर, पात्रता, श्रद्धेयता आदिका कुरा आउँछन् । उच्च पदासीन र निम्न पदासीनका बीचको सम्बन्ध पदीय मर्यादा र अनुशासनमा आधारित सम्बन्ध हो । यस्ता सम्बन्धहरुमा श्रद्धेयता पनि उपस्थितै रहन्छ भन्न सकिँदैन । धर्म संस्कृतिका आधारमा सन्चालित गरिने व्यक्तिगत तथा पारिवारिक सम्बन्धलाई सरकारीकरण गर्न पनि तदनुकूल कानुनको तर्जुमा गर्नु पर्ने हुन्छ । त्यस्ता कानुन सविधान अनुकूल हुनु पनि वान्छनीय हुन्छ । सरकारी मानिसले सरकारी ठानमान र खर्चमा आफ्ना ज्वाइँ भानिज आदि आफन्तलाई टीका दक्षिणा, खानपान उपलव्ध गराउनु पनि सविधानसम्मत देखिँदैन । यस्तो रकमको हिसाव मिलान कसरी हुन्छ ? कुन कानुनमुतावीक हुन्छ ?

यी कोणहरुबाट यसपालीका शीतल निवास टीका र प्रधानमन्त्री निवास टीकालाई कसरी हेर्ने ? टीकामा सरकारी स्थान समय र रकम त मनग्गे खर्च भएको छ । त्यसको उत्पादकता र उपयोगिता के हो ? सत्तासीनहरुको यो ठानमानबाट जनतालाई के फाइदा छ ?
हाम्रा धर्मसंस्कृतिहरु पुरातात्विक सम्पदा पनि हुन् । यद्यपि हाम्रा धर्मसंस्कृतिहरुमा सामन्तकालीन अवशेषहरु छन् । रीतिस्थितिहरु छन् । तिनको ऐतिहासिक सांस्कृतिक महत्व पनि छ । पर्यटकीय महत्व पनि छ । त्यसको आवश्यक जगेर्ना विधिसम्मत रुपमा गर्नपर्छ । यसको अर्थ हिजो राजतन्त्रमा राजाले जे–जे गर्थे, आज राष्ट्रपतिले पनि त्यही अवतार ग्रहण गरी राजकीय ठानमान र शानका साथ भव्य सवारी व्यवस्था गरेर जनतालाई वाक्क–दिक्क हुने गरी मन्दिर–मन्दिरमा पुग्नुपर्छ, पूजा–अर्चना गर्नुपर्छ भन्ने सोच कति गणतान्त्रिक, कति संवैधानिक ? यस्ता ठानमानमा गरिने खर्चको वैधानिकता पुष्टि कसरी हुन्छ ? मुख्यतः सवारी र विशेष पूजा–अर्चनाका कारण जनताले बेहोर्नुपर्ने दुःख–कष्टको वैधानिक औचित्य के हुन सक्छ ?

विगतका सामन्तहरुका राजकीय ठानमान शानले वाक्कदिक्क हामी नेपाली जनतालाई आजका नवसामन्तहरुको फजुलखर्ची ठानमान, शान पनि रुचेको छैन । पचेको छैन । हामीले त्यही त्यस्तै निरन्तरताका लागि ज्यान दिएर आन्दोलनहरु गरेका थिएनौं । हामीलाई हाम्रा कतिपय संस्कृति आज पनि प्रिय छन् । यसको तात्पर्य हामी विकृतिलाई पनि त्यत्तिकै प्रिय मान्छौं भन्ने कुरा होइन । हामीलाई लाग्छ, सत्तामा पुगेपछि आफुलाई नयाँ राजारानी ठान्ने सोच विचार लोकतान्त्रिक सोच समझको अनिकाल हो । यो गतिलो लक्षण होइन ।

हाम्रा पूर्वजहरु भन्थे– स्थानभ्रष्टा नशोभन्ते दन्ताः केशा नखा नराः । अर्थात् दाँत, केश, नङ र मान्छे ठाउँ छाडेर उम्रेको राम्रो देखिँदैनन् । ठीक ठीक ठाउँमा मात्र शोभनीय देखिन्छन् । हाम्रा सत्तासीनहरु हिजोआज जसरी आफ्नो ठाउँ छाडेर उम्रेका देखिन थालेका छन् त्यसले बिचरो यो बुढो संसदीय लोकतन्त्रलाई पनि थप कुरुप बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्