मर्यादित पद बदनाम भएपछि कसको आश गर्ने ?



चितवनमा विशेषज्ञ डाक्टरका रुपमा ख्याति कमाएका डा. भक्तमान श्रेष्ठ अन्ततः भ्रष्टाचारी ठहर भएका छन । नेपाली समाजमा चिकित्सक, शिक्षक, प्राध्यापक र राष्ट्रसेवक कर्मचारीहरु आमनागरिकभन्दा औसतरुपमा बढी सम्मानित र मर्यादीत मानिन्छन् । त्यहीँबाट यस्तो घणृत काम भएपछि सिंगो समाजले के सोच्ने र कसको आश गर्ने ? मयार्दीतबाट समाज र सिंगो मुलुकले तोकिएको सेवा र कर्तव्यभन्दा पनि बढी योगदानको अपेक्षा राखेको हुन्छ । तर, जब यिनीहरु नै पथभ्रष्ट हुन्छन्, त्यति बेला समाजमात्र नभएर सिंगो राष्ट्रकै लागि लज्जाबोध हुन्छ र अहिले त्यही भएको छ । उनीहरुजस्ता छानिएका विषय विशेषज्ञ राष्ट्रसेवकहरुले बाटो बिराएर भ्रष्टाचारको दलदलमा फस्दा समाजको शिर निहुरिनु अस्वाभाविक होइन ।

विशेष अदालत काठमाडौँले डा. भक्तमान श्रेष्ठलाई मंगलबार भ्रष्टाचारी ठहर गरेको छ । भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विषय विशेषज्ञ र कार्यकारी निर्देशक हुँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनी यसअघि २७ लाख रूपैयाँको बैंक ग्यारेन्टी धरौटी राखेर विशेष अदालतबाटै ०७३ साल चैत २ गते तारेखमा छुटेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनलाई एक करोड ६७ लाख ५७ हजार ११३ रूपैयाँको सम्पत्ति अवैधरुपमा आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गरेको थियो । १३ वटा बैंकमा खाता भएका भक्तमानले आफूलाई मर्या्दित डाक्टरको पेसा र वरिष्ठ पदलाई बेवास्ता गरेर भरतपुरमा आफ्नो आर्थिक क्षमता र हैसियतभन्दा बढीको आलिसान महल ठड्याएका थिए, जसको वैध स्रोत देखाउन नसकेपछि उनी अख्तियारको फन्दामा परेका थिए ।

नेपालीमा एउटा उखान पनि छ– पाप धुरीबाट कराउँछ । हो, भक्तमानको हकमा यही उखान चरितार्थ भएको छ । चितवनमा सम्मानित एवम् मर्यादित क्यान्सर रोग विशेषज्ञको छवि बनाएका डा. भक्तमानलाई अवैधरुपमा सम्पत्ति कमाउन लोभ गर्नुपर्ने कारण थिएन । छिट्टै कमाउने लालसामा उनले आफ्नो पदीय मर्यादा र ख्याति पैसामा विनिमय गरे ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६ रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । अदालतले सो रकमबराबर श्रेष्ठको सम्पत्ति जफत हुने फैसलासमेत गरेको छ । चितवनका नाम चलेका तीन अस्पतालमा मुख्य शेयर लगानीसमेत गरेका भक्तमानको आर्थिक हैसियत, पदीय जिम्मेवारी र सँगै गाँसिएको नैतिक चरित्रलाई तुलना गर्न हामी बाध्य भएका छौँ । कुनै पनि राष्ट्रसेवकले सामाजिक मूल्य र मान्यतामा विचलन आउने काम गर्नुहुँदैन । डा. भक्तमानले यसको सीमारेखा नाघेका कारण नै उनी अख्तियारको फन्दामा परेका हुन् ।

पैसाले जीवनभरि कसैलाई पनि पुग्दैन । यसको आयतन झनै फराकिलो बन्दै जान्छ । अहिले मानिसहरु आफ्नो नैतिकतासमेत बेचेर दिनरात धन कमाउने होडमा लागेका छन् । जब कानुन र ऐन, नियम मिचेर पैसाको मोहजालमा फसिन्छ, तब व्यक्तिभित्रको नैतिकता र इज्जत, प्रतिष्ठाको समेत एकैसाथ मृत्यु हुनेगर्छ । डा. भक्तमान भ्रष्ट समाजका बौद्धिक भ्रष्ट प्रतिनिधि पात्र हुन् । सूक्ष्मरुपमा अनुसन्धान गर्ने हो भने थुप्रै भक्तमानहरु कृत्रिम इज्जत बोकेर बेसरम राष्ट्रदोहनमा तल्लीन छन् । करोड पर्ने कार चढेर आलिसान महलमा बसे पनि नियत कालो छ भने मानसम्मान र प्रतिष्ठा प्राप्त हुँदैन । क्षणिक लोभ र लाभले एकदिन जेलभित्र पुग्न सकिन्छ भनेर डा. भक्तमानबाट धेरै युवा चिकित्सकले पाठ सिक्नुपरेको छ । आउँदा दिनमा यस्ता घटना नदोहोरिऊन् ।
– मधु कार्की रोल्पा, हाल ः चितवन ।

 

प्रतिक्रिया दिनुहोस्