‘काठमाडौंमा मोनोरेल ३ तह मिलेर’



नेपाल समाचारपत्र, हेटौंडा
काठमाडांै महानगरपालिकाको बहुप्रतीक्षित योजना मोनोरेलबारे ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मेयर विद्यासुन्दर शाक्यसँग जानकारी लिनुभएको छ ।

महानगरले मोनोरेल (सडकमाथि गुड्ने रेल) को विषय अगाडि बढाइरहेको विषयमा मुख्यमन्त्री पौडेलले विशेष चासो व्यक्त गर्नुभएको हो । महानगर र प्रदेशमात्र नभएर देशकै गौरवको योजना रहेकोले मोनोरेलको निर्माण तीनै तहको सरकार मिलेर सम्पन्न गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो । मोनोरेल देशकै मेगा प्रोजेक्ट भएकाले यसलाई सम्पन्न गराउने विषयमा मुख्यरुपमा छलफल गरिएको थियो ।
काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययनको समझदारी भएको थियो । चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाबीच यसका लागि जेठ ११ गते द्विपक्षीय समझदारी (एमओयु) भएको हो ।

काठमाडौं महानगर प्रमुख शाक्य र कर्पोरेसनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । सीआरसीसीलाई ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने गरी जिम्मा दिइएको थियो । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्रयाक र आठ वटा पुल बन्ने प्रस्ताव गरिएको छ ।

महानगरले मोनोरेल सञ्चालन सम्बन्धि प्रकाशन गरेको आशयपत्रमा रेलवे गु्रपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुखस्तरीय निर्णयबाट रेलवे कम्पनीसँग सम्झौता गरिएको हो ।
सम्झौताअनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दीगोपनाजस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु सिफारिस गर्नेछ ।

शाक्यले आफ्नै कार्यकालमा मोनोेरेल सञ्चालन गर्ने प्रतिवद्धता दोहो¥याउनुभएको थियो । काम थालनी भएपछि रेल सञ्चालन हुन समय नलाग्ने, महानगर त्यही दिशामा लक्षित रहेको मेयर शाक्यले उल्लेख गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो । महानगरबासीलाई सरल जीवनयापन गर्ने सुविधाका लागि मोनोरेल सुन्दर उपहार हुने बताइन्छ ।

मोनोरेलको चर्चा सन् २०१६ बाट सुरु भएको थियो । काठमाडौं मोनोरेल प्रालिले आफ्नै लगानीमा पूर्वसम्भाव्यता अध्ययन पनि गरेको थियो ।
मोनोरेलको प्रारम्भिक सम्भाव्यता अध्ययनले साढे २८ किलोमिटर क्षेत्रमा मोनोरेल चलाउन करिब ८० अर्ब रुपियाँ खर्च लाग्छ । चक्रपथमा कम्पनीले करिब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तो रेल काठमाडौं उपत्यकामा कलंकीदेखि कोटेश्वर, चाबहिल, महाराजगञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने एलिभेटेड रेल हुने बताइन्छ । काठमाडौंको चक्रपथमा दैनिक एक÷डेढ लाखसम्म यात्रुलाई सेवा दिने सम्भाव्यता अध्ययनमा देखिएको छ । प्रतिघण्टा १० हजार यात्रुलाई सेवा दिने रिपोर्टको आँकलन छ । १४ वटा स्टेशन र तीन वटा डिब्बासहित मोनोरेल कुदाउने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्