राजावादी दलबीच एकताको तयारी



ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताएका छन् ।

पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आएका अध्यक्ष थापाले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उनको भनाइ छ ।

शान्ति स्थायित्व कायम गर्न र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि नीतिगत त्रुटिलाई समेत सच्याउन आवश्यक भएकोमा उनको जोड छ ।

मुलुकमा हाल देखा परिरहेको बिखण्डनको चुनौती सर्वसत्तावादलाई सामना गर्नसक्ने शक्ति निर्माणका लागि समान विचारधारा भएका अन्य राजनीतिक पार्टीबीचमा एकताको तयारी भइरहेको समेत उनले बताए ।
रासस

प्रतिक्रिया दिनुहोस्