दोहोरो पर्यटक शुल्क फिर्ता लिन व्यवसायीको दबाब



नेपाल समाचारपत्र
भक्तपुर
नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदूरहरू आन्दोलित भएका छन्। यसैक्रममा उनीहरूले चाँगुनारायण नगरपालिका घेराउ तथा ज्ञापन पत्र बुझाएका छन्।

नगरकोट घुम्न आउने पर्यटकसँंग चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले २०० मिटरको फरकमा दोहोरो पर्यटन शुल्क लिएपछि व्यवसायीले त्यसको विरोधमा ज्ञापन पत्र बुझाएका हुन्। यसअघि पनि विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको नगरकोट नाल्दुम पर्यटन व्यवसायी संघले ज चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई नगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष इन्द्र लामाले एकै ठाउँमा आउने पर्यटकसंँग शुरूमा चाँगुनारायण नगरपालिकाले र मण्डन देउपुर नगरपालिकाले शुल्क उठाएपछि नगरकोटमा पर्यटन व्यवसाय संकटमा परेको बताउनुभयो। कार्यक्रममा संघका सचिव धनबहादुर लामाले नगरकोट आउने पर्यटक ५० प्रतिशतभन्दा बढी घटेको बताउँदै आएका पर्यटकले पनि दुई ठाउँमा कर तिर्नु पर्दा उल्टै गाली गर्ने र अब नगरकोट नआउने भन्दै फर्किने गरेको बताउनुभयो। व्यवसायीले नगरपालिकामा धर्ना दिएर जनप्रतिनिधिमाथि आक्रोश व्यक्त गरेका थिए।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख मिश्रले तिहारपछि बस्ने नगरपालिकाको बोर्ड बैठकमा ज्ञापन पत्र र व्यावसायीको मागबारे छलफल गर्ने बताउँदै आफू एक्लैले कुनै निर्णय गर्न नमिल्ने बताउनुभयो। चाँगुनारायण नगरपालिकाले गत आर्थिक वर्षमा ५१ लाख रुपियाँ प्रवेश शुल्क उठाउन ठेक्का दिएको थियो भने आर्थिक वर्ष २०७५÷७६ को लागि ३ करोडमा (कर बाहेक) ठेक्का दिएको छ। त्यसैगरी काभ्रेको मण्डन देउपुर नगरपालिकाले गतअसोज २९ गतेदेखि छुट्टै पर्यटन शुल्क उठाउन थालेको छ। चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ तेलकोट, वडा नम्बर ८ को कलमसी र चाँगुनारायण मन्दिर अगाडि न्यु दक्षिणकाली निर्माण सेवाले पर्यटकसंग शुल्क उठाउदैं आएको छ भने चाँगुनारायणले सार्क राष्ट्रका पर्यटकसंँग २ सय र सार्क बाहिरकालाई ३ सय प्रवेश शुल्क लिँदै आएको छ।

यता मण्डनदेउपुर नगरपालिकाले नगरकोट आउने पर्यटकमध्ये मन्जरी निर्माण सेवाले सार्क राष्ट्रका पर्यटसँंग २२६ र सार्क बाहिरका पर्यटकसंँग ३३९ पर्यटन शुल्क लिँदै आएको छ।
ज्ञापन पत्र बुझाएपछि संघका प्रवक्ता गोकुल शर्माले दोहोरो पर्यटन शुल्कको लिँदा सरकारले मनाउने पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष्य रुपमा असर पार्ने बताउँदै नगरकोट आउन होटल बुक गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेको बताउनुभयो।

भक्तपुर र काभ्रेको सिमानामा रहेको चर्चित पर्यटकीय स्थान नगरकोटमा जाने बाह्य देशका पर्यटकसँग दुई स्थानीय सरकारले एकै स्थानको लागि दोहोर कर लिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। यस अघि दबाब स्वरुप कालो झण्डासहित विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर उनीहरूले नगरकोट बजारको परिक्रममा गरेका थिए। नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष नवीन गुरुङले पर्यटकहरूबीच एकदम गलत सन्देश गएकाले अहिलेको मध्य सिजनमा गतवर्ष भन्दा ३० प्रतिशत कम पर्यटक नगरकोट आएको जानकारी दिनुभयो।

भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहँुदा असोज २९ गतेदेखि दोहोरो कर लागेको हो। भक्तपुर र काभ्रेको करिब ३ सय मिटर फरकको दूरीमा नै दोहोर कर तिर्न परेको छ।
मण्डनदेउपुर नगरपालिकाले २०७५÷७६ का लागि नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्र भित्रका काभ्रेचोक, भ्यू टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरूसँग प्रवेश शुल्क उठाउने भएको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ५१ लाख रुपियाँ नगरकोट जाने पयर्टकसंँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्