माहुरी चरनमा असुरक्षित बन्दै दाङ



नरेन्द्र केसी, दाङ
माहुरी चरणका लागि निकै आकर्षक मानिने दाङ पछिल्ला वर्षमा माहुरी चरणका लागि असुरक्षित बन्दै गएको छ। बाहिर जिल्लाबाट चरणका लागि ल्याइएका माहुरीमा घारमा अज्ञात समूहले बिष हाल्ने क्रम बढेसँगै चरण असुरक्षित भएको हो।

२०५७ सालदेखि अहिलेसम्म २ सय ४० वटा घारमा अज्ञात समूहले बिष हाल्दा ठूलो परिमाणमा माहुरी नष्ट भएका छन् भने लाखौंको नोक्सान भइसकेको छ। अहिलेसम्म अज्ञात समूहले हालेको बिषबाट दाङका किसानले चरणका लागि राखेको ६७ घार माहुरी नष्ट भएको छ भने बाहिर जिल्लाबाट चराउन ल्याइएका १ सय ६७ घार माहुरी नष्ट गरिएको छ।

गत कार्तिक ६ गते घोराही उपमहानगरपालिका १२ सिस्नेरीमा राखिएका ४४ घार माहुरीमा बिष हालेर नष्ट गरिएको छ। चितवनका व्यवसायी विकास नेपालले राखेको ६१ घारमध्ये ४४ घार माहुरीलाई बिष हालेर नष्ट गरिएको छ। सो ठाउँमा रहेको तोरी बारीमा चितवनका व्यवसायीले ४ सय ३१ घार माहुरी चरणका लागि राखेकोमा ४४ घार माहुरी नष्ट गरिएको छ।

जसबाट झण्डै २० लाख बढीको क्षति भएको छ।

४४ घारमा राखिएको ४ सय ४० घार फ्रेमको माहुरी, ४४ वटा घार र प्रतिघार ६० किलोका दरले महको मूल्य जोड्दा २२ लाख जति नोक्सान भएको पीडित माहुरीपालक नेपालले जानकारी दिनुभयो।दाङमा चरणमा राखिएका माहुरी बिष हालेर नष्ट गरिएको यो चौथो घटना हो। यसअघि २०५७, २०७२ र २०७३ सालमा यसरी नै चरणमा राखिएका माहुरीका गोलामा बिष हालेर नष्ट गरिएको माहुरीपालक किसानले बताएका छन्।

जसअनुसार २०५७ सालमा चितवनका लक्ष्मीनारायण मानन्धर र सूर्य मानन्धरले गिठेपानीमा राखेका ५४ घार, २०७२ सालमा दाङकै महेन्द्र बुढाले बगालेमा राखेका ६७ घार र २०७३ सालमा रामपुर पन्तटोलमा राखिएका चितवनकै विष्णु भुसालका ५९ र खेमराज न्यौपानेका १६ घार गरी अहिलेसम्म चारपटकमा कूल २ सय ४० घार माहुरी नष्ट भएको नेपाल माहुरी पालक महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्षमा दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो।

दाङमा तोरी र च्यूरी फूलको सिजनमा बाहिरबाट माहुरी ल्याउने गरिएको छ। विगतका घटनामा प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कारबाही नगर्दा घटना दोहोरिने गरेको व्यवसायीको गुनासो छ। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले यो घटनाप्रति आफू गम्भीर भएको बताउनुभयो।

‘यो सामान्य घटना होइन’– उहाँले भन्नुभयो– ‘यस्ता घटनाले दाङकै बदनाम गराउने खतरा रहेकाले यस्ता घटना रोक्नु सबैको दायित्व बनेको छ, यसको अनुसन्धान शुरू भएको छ र जसरी पनि दोषी पत्ता लगाएर कारबाही गरिनेछ।’ उहाँले पीडित किसानले विगतका घटनाबारे पनि प्रशासनलाई जानकारी गराएको औल्याउँदै कारबाहीको अभावमा घटना दोहोरिएको गुनासो आउन नदिने गरी अनसुन्धान थालिएको र जनस्तरमै पुगेर दोषीलाई पत्ता लगाइने आश्वासन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्