हजारौं ग्रहका खोजकर्ता केपलर अभियान समाप्त



टेम्पा, (एजेन्सी)
सौर्य मण्डलबाट बाहिर अन्तरिक्षमा ग्रहहरूको खोजी गर्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोप अभियानको अन्त्य भएको छ।

यो दुरबिन ९ वर्षको सेवापछि अवकास हुन लागेको हो। २ हजार ६ सय ग्रहको खोजमा मद्दत गरेको केपलर दुरबिनको इन्धन समाप्त भएको वैज्ञानिकहरूले बताए। त्यसैले उक्त अन्तरिक्ष दुरबिनलाई अवकास दिन लागिएको उनीहरूले बताए। सन् २००९ मा अन्तरिक्षमा स्थापित उक्त दुरबिनले अर्बौं लुकेका ग्रहका बारेमा अवगत गराएको र ब्रह्मान्डको विषयमा मानव बुझाइलाई व्यापक बनाएको विशेषज्ञहरूले बताए।

नासाका तर्फबाट जारी गरिएको बयानमा राती आकाशमा देखिने २० देखि ५० प्रतिशत तारा तथा सौर्यमण्डलमा पृथ्वी आकारका ग्रह रहेको र उनीहरू आफ्नो ताराबाट उपयुक्त दुरीमा रहेको तथ्यसँग केपलरले साक्षात्कार गराएको उल्लेख गरेको छ। ती ग्रहहरू जीवनका लागि अत्यावश्यक तथा सबैभन्दा महवपूर्ण पानी हुन सक्ने सम्भावना रहेको दुरीमा छन्। केपलर जानु कुनै अनपेक्षित नभएको नासाका एस्ट्रोफिजिक्स विभागका निर्देशक पल हर्टजले बताए। केपलरको इन्धन समाप्त भएको संकेत करिब दुई हप्ताअगाडि प्राप्त भएको थियो। उसको इन्धन पुरै समाप्त हुनुअगाडि नै वैज्ञानिकहरू त्यसमा भएका सबै डाटा संकलन गर्न सफल भएको बताइएको छ।

अहिले केपलर पृथ्वीबाट सुरक्षित दुरीमा कक्षमा रहेको नासाले जनाएको छ। नासा केपलरका ट्विटर सञ्चालकले त्यसका बारेमा विस्तृत जानकारी दिँदै ट्विट पनि गरेका छन्। उक्त टेलिस्कोप साढे ९ बर्ष अन्तरिक्षमा रह्यो। यसले ५ लाख ३० हजार ५ सय ६ ताराको अवलोकन गरे। यसमा २ हजार ६ सय ६३ ग्रह पुष्टि भयो।

प्रतिक्रिया दिनुहोस्