झगडाको कारण बस दुर्घटना



बेइजिङ, (एजेन्सी)
चीनमा एउटा नदीमा दुर्घटनाग्रस्त भएको बसमा रहेको सुरक्षा क्यामेराको फुटेजमा बस दुर्घटना हुनु एकछिन अघिसम्म ड्राइभर एकजना यात्रुसँग झगडा गरिरहेको भेटिएको शुक्रबार आधिकारिक सरकारी समाचार निकाय सिन्हवाले जनाएको छ।

उक्त यात्रुवाहक बस आइतबार पचास मिटर उचाइमा रहेको पुलबाट चोङकिङस्थित यान्जे नदीमा खस्दा कम्तिमा १३ जना मानिसको ज्यान जानुका साथै अन्य २ जना बेपत्ता भएका थिए।

यसअघि उक्त दुर्घटनाको अनुसन्धानमा लागेको टोलिले विपरीत दिशाबाट आइरहेको सवारी साधनसँग ठोकिनबाट जोगिँदा बस नदीमा खसेको जनाएको थियो। तर नयाँ फुटेजले ड्राइभरलाई एकजना महिला यात्रुले पिटिरहेको र केहीछिनमै ड्राइभर पनि उनीमाथि जाइलागेको देखिएको देखाएको छ।

तिव्र गतिमा गुडिरहेको सो बस अगाडिको लेनमा पल्टिएपछि सुरक्षा पर्खाल भत्काउँदै नदीका खसेको थियो। सरकारी अखबार पिपुल्स डेलीले प्रहरीले दुर्घटनाको कारण त्यही झगडा भएको बताएको जनाएको छ। प्रहरीका अनुसार लिउ थरका ती ४८ वर्षीया महिला आफ्नो स्टपमा बस नरोकिएकाले आक्रोसित भएकी थिइन्।

उनले आफू ओर्लने ठाउँमा बस नारोकिएपछि र्यान नामक ती ड्राइभरलाई मोबाइलले हिर्काएकी थिइन्। प्रत्यक्षदर्शीहरूले बाङझोउ जिल्लामा सो बस सडकको गलत दिशामा गुल्टिँदै पुलबाट खसेको बताएका छन्। बसमा सवार सबै व्यक्तिको ज्यान गएको थियो। शुक्रबार सामाजिक सञ्जाल बेइबोमा मानिसहरूले ती महिला र ड्राइभर दुवैको नराम्ररी आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्