युवराजद्वारा खासोगी खतरनाक इस्लामवादी भएको आरोप



वासिंगटन, (एजेन्सी)
साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खासोगी एक खतरनाक इस्लामवादी भएको अमेरिकालाई बताएको अमेरिकी सञ्चार माध्यमले दाबी गरेको छ।

पत्रकार तथा लेखक खासोगीको टर्कीस्थित साउदी दूतावासमा हत्या गरिएको थियो। युवराज बिन सलमानले ह्वाइट हाउसमा एक फोनवार्तामा उक्त कुरा बताएका थिए। अमेरिकी अखबार द वासिंगटन पोस्ट र न्युयोर्क टाइम्सअनुसार उक्त फोन खासोगी बेपत्ता भएपछि तर साउदी अरेबियाको तर्फबाट उनको हत्या स्वीकार गर्नु अगाडि गरिएको थियो। साउदी अरेबियाले उक्त दाबीको खन्डन गरेको छ। साउदी नागरिक खासोगी अमेरिकामा बस्थे र त्यहीं सञ्चार माध्यमका लागि काम गर्थे। उनी साउदी अरेबियाको सत्ताका कडा आलोचक मध्यमा पर्थे।

उनको शव अहिलेसम्म प्राप्त भएको छैन। तर टर्की, अमेरिका र साउदी अरेबिया सबैले अक्टोबर २ मा इस्तानबुलको वाणिज्य दूतावासभित्र उनको हत्या भएको मानेका छन्। युवराज बिन सलमानले उक्त फोन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईं जेयर्ड कुस्नर र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई गरेको वासिंगटन पोस्टले दाबी गरेको छ। उक्त फोन वार्तामा उनले खासोगीलाई अतिवादी संगठन मुस्लिम ब्रडरहुडका सदस्य बताएका थिए।

उक्त फोन खासोगी बेपत्ता भएको एक हप्तापछि अक्टोबर ९ मा भएको अखबारले दाबी गरेको छ। बिन सलमानले ह्वाइट हाउससँग अमेरिका साउदी सम्बन्ध बचाइ राख्न निवेदन पनि गरेको बताइएको छ। खासोगीका परिवारले उनी मुस्लिम ब्रडरहुडका सदस्य भएको आरोपलाई अस्वीकार गरेको अखबारले जनाएको छ। परिवारका तर्फबाट जारी बयानमा जमाल खासोगी कुनै पनि हिसाबले खतरनाक व्यक्ति नभएको र उनलाई खतरनाक बताउनु मुर्खतापूर्ण भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्