लाकोजूको कविता हिन्दी भाषामा



काठमाडौं। कवि सूर्यप्रसाद लाकोजूको कविता सङ्ग्रह घामको चुम्बन हिन्दीमा अनुवाद भएको छ। घामको चुम्बनलाई हिन्दीमा दिवाकरका चुम्बन नाम दिएर अनुदित कृति प्रकाशित भएको हो। सो कविता सङ्ग्रहको विमोचन एक कार्यक्रमका बीच राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्नुभएको थियो। पूर्वोत्तर भारतको आसाम राज्यको तेजपुर निवासी साहित्यकार तथा अनुवादक चन्द्रमणि उपाध्यायले सो पुस्तक हिन्दीमा अनुवाद गर्नुभएको हो।

विमोचनका अवसरमा राष्ट्रकवि घिमिरेले नेपाली साहित्य अन्य भाषामा अनुवाद हुनु सुखद कुरा भएको बताउनुभयो। कवि लाकोजूका कविता पठनीय भएकाले हिन्दीमा अनुवाद भएको उहाँको भनाइ थियो। सो पुस्तकका बारेमा प्रा.डा. गोविन्दराज भट्टराई र असमेली साहित्यकार समालोचक ज्ञानबहादुर क्षेत्रीले प्रकाश पार्नुभएको थियो। समालोचक भट्टराईले लाकोजूका कविताहरू समय सान्दर्भिक र सामाजिक रूपान्तरणको सन्देश दिने खालका भएकाले हिन्दीमा अनुवाद भएको बताउनुभयो।

त्यस्तै असमेली समालोचक ज्ञानबहादुर क्षेत्रीले अनुदित कृति पठनीय र बलशाली रहेको विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा डा. तुलसी भट्टराई, कुमार कोइराला, असमेली साहित्यकार माधव भट्टराई, छत्रमान सुब्बा, प्राञ्जल बोरा, विष्णु शास्त्री, दिनानाथ निरौला, प्रल्हाद केसी, खेम पोखरेल, विजय कर्माचार्य, शम्भुलाल श्रेष्ठलगायतको उपस्थिती थियो। पुस्तक भारतीय साहित्य प्रकाशन, तेजपुरले प्रकाशित गरेको हो।

प्रतिक्रिया दिनुहोस्