स्वस्तीमा मलको भीडबाट नाच्दै निस्किएपछि…



आगामी फागुनमा रिलिज हुने फिल्म बुलबुलको एउटा रमाइलो गीत रमाइलै शैलीमा सार्वजनिक गरिएको छ। नायिका स्वस्तिमा खड्काको लाइभ नृत्यसँगै खुद्राखुद्री बोलको गीत राजधानीको काठमाडौं मलमा फ्ल्यास मोब शैली (भीडमा रहेका कलाकार अचानक गीत बजेसँगै एकजुट भएर नाच्नु) मा सार्वजनिक गरिएको हो।

फिल्मको निर्माण युनिटले काठमाडौंसहित पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट बिहीबार एकसाथ फ्ल्यास मोब शैलीमा गीत सार्वजनिक गरेको हो।

काठमाडांै मलमा अभिनेतृ स्वस्तिमा खड्कासहितको टोलीले गीतमा नृत्य गरेका थिए। फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन्। गीतमा उनका अभिनेता तथा निर्देशक पति निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका छन्।

यसलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन्। फिल्मको गीतमा स्वस्तिमा र अभिनेता मुकुन भुसालले नृत्य गरेका छन्। विनोद पौडेलको निर्देशनमा निर्माणाधीन फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयष पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराईलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। निर्देशक पौडलकै पटकथा रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका छन्। अबिरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्तरूपमा निर्माण गरेको फिल्मको रामराजा दाहाल कार्यकारी निर्माता हुन्। फिल्म फागुन ३ बाट देशभर रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्