डीआईजी भण्डारीको रहस्यमय गाडी दुर्घटनापछि पत्रकार भाइलाई पत्रकार दिदीले लेखेको एउटा मार्मिक चिठी



प्यारो जीवन भाइ,

जीवन आखिर माटो रहेछ, खरानी भएछ। भर्खरसम्म यो देश र आम नागरिकको नैसर्गिक अधिकारका विषयमा संघर्ष गर्छु भनेर लागिपरेको व्यक्ति क्षणभरमै खरानीमा परिणत भयो। यो संसारको नियति नै यस्तै रहेछ। लाऊँ–लाऊँ र खाऊँ–खाऊँको उमेरमा भर्खर २५औं वसन्तमा फक्रँदै गरेको एउटा फूल एकाएक दुष्टको आँखामा पर्दा क्षणभरमा माटोमा विलिन हुन पुग्यो।

दैवका आँखा पनि राम्रै र महत्वपूर्ण चिजमै पर्दो रहेछ। यति निर्दयी किन भयौ दैव आखिर त्यो कलिलो मुनाले के बिगारेको थियो र ? हो यस्तै यस्तै भावना सपरिवार र आफन्तमा मात्र होइन, जीवन भनेर चिन्ने सबैको मनभरि मडारिएको छ। बिहानसम्म ‘जान्छु दिदी’ भन्दै हिँडेको व्यक्ति मध्याह्नमै अस्ताउला भन्ने कसले सोचेको थियो र ? काँधमा क्यामराको झोला भिरेर हँसिलो र चम्किलो मुहारमा निस्किएका भाइ जीवन पराजुलीले साँचेको उज्ज्वल भविष्य र बुनेको सपना शनिबार काभ्रेमा दुर्घटना भएको गाडीको सिसासँगै चकनाचुर भइसकेको कुरा अहिले पनि पत्याउन मानिरहेको छैन।

यो देशका लागि तिम्रो ठूलो खाँचो थियो, तर त्यो निर्दयीले तिम्रो इहलीला नै समाप्त पारिदियो। अब कोही कसैसँग पनि तिम्रो त्यो अपत्यारिलो घटनाको सत्यतालाई अस्वीकार गर्ने क्षमता छैन। हो तिमी त्यति आँटिलो, घरपरिवार, समाज, साथीभाइ, अग्रजसँग जसरी यति छोटो समयमा घुलमिल गर्न सक्षम भयौ त्यो सबैको वशको कुरा थिएन। तिम्रो बाल्यकालदेखिकै तिक्ष्ण दिमाग र गरेर देखाउँछु भन्ने अठोट नै तिम्रो पहिचान बनेको थियो। यति छोटो समयमै तिमीले अपत्यारिलो किसिमले आफ्नो सार्थकता प्रमाणित गरेर देखाइसकेका थियौ। जीवन यो हो भनेर चिनायौ र एकाएक सबैका सामु त्यसरी नै छिटो अस्तायौ पनि। यो अवस्थामा तिमी हाम्रोमाझ नरहे पनि तिम्रो आत्माले शान्ति पाओस् अनि समाज र देशले तिम्रो योगदानको सदा कदर गरिरहोस् भन्ने कामनाबाहेक यो दिदीले अरू के नै गर्न सक्छु र !

सायद छोटो समयमा तिमीले छोडेर गएका योगदानकै कारणले होला, आज जता गए पनि तिम्रै चर्चा छ। पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जाल फेसबुकभरि तिम्रै फोटा र तिम्रा सुभचिन्तकले व्यक्त गरेका समवेदनाका शब्दहरूले छाएको छ। आज तिम्रो भौतिक शरीर हाम्रोसामु नभए पनि यी सबै कुराहरू तिम्रो आत्माले हेरिरहेकै हुनुपर्छ। तिम्रो अभावमा आज धेरैका आँखा रसाएका छन्, मुटु भकानिएका छन्। मलाई पूर्ण विश्वास छ, आज तिमीलाई यो अवस्थामा पुर्याउने त्यो दुष्टलाई तिम्रो आत्माले तड्पाई तड्पाई यातना दिनेछ। तिमीसँगको निकटतालाई दुरूपयोग गरी तिम्रै नियति भोग्न विवश गराउने अपराधीलाई तिनै आत्माले पनि यो घटनालाई त्यति सजिलै दुर्घटना भनेर स्वीकार्न सकिरहेको छैन भन्ने लागिरहेको छ।

आम नागरिकको आँखामा लागिरहेको मण्डन देउपुर नगरपालिका–६ भाङेटारमा तिमीसँगै दुर्घटनामा परेको कात्तिक १० गतेको त्यो रहस्यमयी जिप दुर्घटनाको सत्यतथ्य छानबिनका लागि सरकार अहिले नै सुस्ताइसकेको छ। बहालवाला डीआईजी सुशील भण्डारी, पूर्वडीएसपी विनोद गौतम, पत्रकार जीवन पराजुली, टे«ड युनियन कांग्रेस क्षेत्र नं ३ का अध्यक्ष विनोद कार्की, स्थानीय धनराज पुरीलाई लिएर बालुवाखानीको खोजीमा निकै पुरानो जिप आफैंले चलाएर गएका क्रसर उद्योगी प्रदीप बोगटी मात्र सकुशल रहनु र दुईजना घाइतेबाहेक तिमीसहित तीनजनाको भने इहलीला नै समाप्त हुनुलाई सामान्य दुर्घटना मात्र हो भनी घटनाका प्रत्यक्षदर्शी कोही पनि विश्वास गर्न सकिरहेका छैनन्।

यस्तो असहज स्थिति आएपछि म स्वयं घटनास्थलको अवलोकनका लागि दुर्घटनाको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका साथमा देउपुर मण्डन नगरपालिकाका मेयर टोकबहादुर वाइबा, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाका साथ महासंघका पदाधिकारीसमेतको टोलीले स्थलगत अवलोकन गरेका थियौं। घटनास्थलको प्रकृति हेर्दा र प्रत्यक्षदर्शीहरूको भनाइ बुझ्दा पनि घटना निकै शंकास्पद देखियो।

अवलोकनका क्रममा स्थानीय प्रत्यक्षदर्शी भोला ढकाल यसरी घटनाको वर्णन गर्दै हुनुहुन्थ्यो– ‘कात्तिक १० गते दिउँसोको डेढ बजेतिर एउटा जिप हुइँकिएर मण्डन देउपुर नगरपालिका–६ को ढकालथोकबाट अगाडि बढ्यो। २५ मिनेट जतिमा पुनः फर्किने क्रममा ढकालथोक नजिकै भाङेटार सडकबाट तल कोदोबारीबाट हावा भरिएको भकुण्डो उफ्रिएझैं उफ्रिदै तलतिर झर्यो। बारीको ४ काल्नामुनि नारानपातीको सानो बुटोमा पुग्दा एउटा मान्छे झर्यो, अर्को काल्नामुनि खन्यौको बुटामा हुँदै काल्नैपिच्छे मान्छे झर्न थाले। म पारि पाखामा दाउरा चिर्दै थिएँ, अतालिएर गाउँमा साथीहरूलाई फोन गर्दै गाडी झरेको बारीपट्टि कुदें।

मैले अलि पर गाडी झरेको रोडतर्फ हेर्दा एउटा मान्छे झर्दै गरेको देखें। हतारहतार कुदेर २० मिनेटको हिँडाइपछि घटनास्थल पुग्दा त्यो व्यक्तिले पहिला गाडीबाट खसेको मान्छेलाई भित्तातिर पल्टाएर उसैले बोकेको ब्यागको सिरानी हालिदियो र टोपीले मुख छोपिदियो। दुर्घटनामा परेका सबै घाइतेलाई पल्टाउने, उनीहरूको साथमा भएका मोबाइल लिने र उनीहरूलाई त्यही छोडेर कहिले बारीको माथि त कहिले तल, वरपर गर्दै त्यो व्यक्ति घुमिरहेको देखिन्थ्यो।

घटनास्थलमा पुगेर ‘के भयो, ड्राइभर खै?’ भन्दा ‘मै’ हो भन्यो। कसरी यस्तो भयो भन्दा ‘माथि बिजुलीको तार देखेर हेर्दै थिएँ। गाडी काल्नामुनि खस्यो। कोदाको नलमा चिप्लिएर यस्तो भयो भन्यो। हामी ६ जना आएको १ जना कता पुगे हेरेर सहयोग गरिदिनुस् न भन्यो। यसपछि म साथीहरूलाई बोलाएर फटाफट घाइतेलाई माथि उतार्न थालें। ड्राइभर यताउता भौतारिँदै थियो।

एकजना घाइतेले हेलिकोप्टर हेलिकप्टर बोलाइदिनुस् भन्दै थिए। हामीलाई हेलिकोप्टर झिकाउनेबारे कुनै ज्ञान थिएन। त्यसैले एम्बुलेन्स बोलायौं। घाइतेले त्यसो भनिरहँदा गाउँलेहरू धेरै जम्मा भइसकेका थिए। त्यसपछि ड्राइभरले मलाई गाह्रो भो भन्न थाल्यो। स्थानीयले पानी खन्याइदिएपछि जाडो भो भन्दै थियो। जब प्रहरीहरू पुगे अनि उसले मुर्छा परेजस्तो गर्यो। उसलाई हामीले उठाएर सडकमा लगेर राख्यौं। त्यसपछि एम्बुलेन्स आइपुग्यो। ती ड्राइभर हतारहतार आफैं एम्बुलेन्समा चढे। पछि प्रहरीले सनाखत गरेपछि पहिलो एम्बुलेन्समा तीनै ड्राइभर प्रदीप बोगटी र धनराज पुरीलाई पठायौं। २० मिनेटपछि दोस्रो एम्बुलेन्स आयो, त्यसमा डीआईजी सुशीलराज भण्डारी र पूर्वडीएसपी विनोद गौतमलाई राखेर पठायौं। प्रदीप बोगटीले यसअघि घाइतेहरूको ४ वटै मोबाइल हातमा लिएर पालैपालो फोन उठाइरहेका थिए।’

यसै गरी दोस्रो प्रत्यक्षदर्शी प्रकाश ढकाल घटनालाई यसरी वर्णन गर्नुहुन्छ– ‘परदेखि नै गाडी छेउ लाग्दै आइरहेको थियो। यसरी हेर्दा यो योजनाबद्ध जस्तै देखिन्छ। गाडी पल्टनुअघि नै ड्राइभर रोडमै हाम फालेको देखिन्थ्यो। मान्छे धेरै जम्मा भएपछि मात्र उनी नर्भस भएको अभिनय गर्न थालेका थिए।’ यसै गरी धनबहादुर पुरीको भाइबुहारी विमला पुरी भन्नुहुन्छ– ‘घटना २ बजेको हो। ३ बजे मात्र गाडी र मान्छे जम्मा भएका हुन्। मंसिरको समय भएकाले गाउँमा कोही केटा मान्छे थिएनन्, सबै खेत खेतमा थिए। गाउँबाट बेसी फोन गर्दा मान्छे जम्मा हुन समय लाग्यो।’

अर्का प्रत्यक्षदर्शी स्थानीय मनकुमारी बिक भन्नुहुन्छ– ‘गाडी लडेको आवाज सुनेर हतारहतार दौडेर आउँदा बेस्सरी धुलो उडिरहेका कारण शुरूमा गाडी देखिनँ। गाडीभन्दा पहिला लाश देखिहालें। ड्राइभरले मलाई देखेपछि भन्न थाल्यो– ‘यहाँ त एउटा मान्छे पनि रहेनछ बोलाइदिनुस् न। त्यसपछि म आत्तिँदै घरमाथि गएर छिमेकीलाई कराएर बोलाउन थालें। म आफू पनि मृगौलाको बिरामी छु। त्यसैले तलसम्म हिँडेर पुग्न सकिनँ। जीवनको लाश घोप्टो अवस्थामा टाउको डिलभन्दा तल र खुट्टा भित्तापट्टि फर्किएको थियो। ड्राइभर भने तलमाथि गर्दै थियो। एकैछिनपछि मान्छे बोलाएर फर्कंदा लाशलाई उत्तानो पारेर ब्यागको सिरान हालेर मुखमा टोपीले छोपिसकेको रहेछ।’

यसै गरी स्थानीय गणेशप्रसाद ढकाल भन्नुहुन्छ– ‘म पसलमा बसिरहेको थिएँ, फोन आयो। हतारहतार आउँदा दुई ठाउँमा लाश देखें। ३ सय मिटर तल मौवाको रुखमा गाडी अड्किएको रहेछ।’ यसैबीच भोला ढकाल थप्नुहुन्छ– ‘बोगटीले तारलाई छल्न खोज्दा यस्तो भयो भन्दै थियो। तर घटनास्थल हेर्दा तार गाडीले छुने अवस्थामा नै छैन। यतिबेला दैनिकरूपमा खेतबाट ठूल्ठूला गाडीहरूले नै पराल ओसारीराखेको छ। त्यसले त नछोएको तार जीपले कसरी छुन्छ ? जाँदा नछोएको तारले आउँदा छुने कुरै छैन। त्यतिबेलासम्म पनि डीआईजी भण्डारीले मलाई १ सयमा फोन गरेर हेलिकोप्टर बोलाइदिनुस् भनिरहनुभएको थियो। हामीलाई कसरी बोलाउने थाहा थिएन, त्यसैले एम्बुलेन्स बोलाएँ।’

सुशील ढकाल भन्दै हुनुहुन्थ्यो– ‘गाडी पल्टेको १ घण्टापछि ड्राइभरले बान्ता आउन लाग्यो भन्दै एक्टिङ गर्दै थियो। गाडी पल्टेको अवस्था हेर्दा कोही सकुशल नहुनुपर्ने हो तर ड्राइभरलाई केही भएको रहेनछ। घटनाको प्रकृति हेर्दा जानाजान खसालेझैं लाग्छ। १५ वर्षअघि बनेको यो १२ फुटको बाटो ३ किमीअघि चुरेथुम्का सिपाघाटको बाटो साँखुमा जोड्ने योजनामा छ। घाइते सुशीललाई हामीले आधाघण्टा हम्केर बसेका थियौं। डीआईजी भनेर पछि मात्र थाहा भएको हो। काठमाडौं घर हो भन्दै हुनुहुन्थ्यो।

उहाँलाई बोल्न भने गाह्रो भइरहेको थियो। नाकमा सानो चोट लागेको भए पनि बाहिर कुनै ठूलो घाउ देखिएको थिएन।’

हिङ्वापाटी प्रहरीचौकीका इन्चार्ज कृष्ण अधिकारी भन्नुहुन्छ– ‘जिल्लाबाट एसपी सापले घटनाको जानकारी गराउनुभएको २० मिनेटमा एम्बुलेन्स लिएर सुरक्षाटोली घटनास्थल पुगिसकेका थियौं। घटनास्थलभन्दा पश्चिमतर्फ रहेको धनराज पुरीको बारीमा बालुवा खानी हेर्न गएका रहेछन्। उक्त टोली गएको गाडी पानी जमेको ठाउँमा फसेपछि स्थानीयको सहयोगमा निकालेर फोरह्वील लगाएर गाडी निकालेर बालुवा खानी नै नपुगी फर्केका रहेछन्। पुरीको जग्गा घटनास्थलबाट ५ मिनेट पैदल जाँदा पुगिने रहेछ।’

स्थानीय ढालप्रसाद ढकाल भन्नुहुन्छ– भण्डारीले म बाँच्छु हेलिकोप्टर….. भन्दै हुनुहुन्थ्यो। उहाँको मोबाइल बज्यो मैले नै उठाएँ। फोनमा रूँदै बोलेको सुनिन्थ्यो, साइडमा अरू पनि रोएको सुनिन्थ्यो। त्यो फोन पक्कै पनि घरपरिवारको हुनुपर्छ। मैले फोन उठाएर आत्तिनुपर्दैन, उहाँ सामान्य अवस्थामा नै हुनुहुन्छ भने। फोन खुलै राख्नुस् है भनें, त्यति के बोलेको थिएँ, ड्राइभरले फोन ल्याउनुस् भनेर तानेर लग्यो। ३ पटकसम्म उहाँले हेलिकोप्टर, हेलिकोप्टर भनिरहँदा ड्राइभरले नै यो डीआईजी हो, यो पूर्वडिएसपी भन्दै देखाउँदै उनीहरूको फोन खोसेर लियो। तर उसले प्रहरी, एम्बुलेन्स कतै पनि फोन गरेको देखिएन। दायाँबायाँ हेर्दै तलमाथि गर्दै आफूले घाँटीमा लगाएको सिक्री एउटा हातले छोपेर मात्र बसिरहेको थियो।’

यसै गरी शिक्षक युवराज डोटेल भन्नुहुन्छ– ‘श्री सरको छोराजस्तो लाग्यो। प्रहरीलाई टोपीले छोपेको मुख खोल्न लगाएर हेर्यौं, पक्का भयो। ड्राइभरले नै मुख छोपेर क्यामरा बोकेको ब्यागको सिरानी हालिदिएको रहेछ।’ एम्बुलेन्सचालक रामकुमार मोक्तानले तिम्रो क्यामरासहितको ब्याग पाँचखाल प्रहरीमा बुझाएका रहेछन्। क्यामरा र ब्याग परिवारलाई जिम्मा लगाइएको भए पनि तिम्रो मोबाइल परिवारलाई नबुझाएकोबाट पनि तिमी अकालमै मृत्युवरण गर्न बाध्य भएको र यो घटना साँच्चिकै रहस्यमय भएको बुझ्न गाह्रो छैन।

तिम्रा आफन्तका अनुसार तिम्रो त्यहाँ जाने कार्यक्रम नै थिएन रे !

अघिल्लो दिन तिमीले नै सिताराम हुमागाईंलाई पनि फोन गर्दै थियौ। उनी पनि जाने योजनामा थिए। उनलाई छुटाएर बोगटीले किन छानीछानी मान्छे लगे भन्ने कुरामा पनि हामीलाई शंका लागेको छ। तिमीसँगै बहालवाला डीआईजीसमेत शंकास्पद घटनामा मरेका छन्।

घटना घटाएको आरोप लागेका प्रदीप बोगटीले प्रमुख जिल्ला अधिकारी र एसपी घटनास्थलको अवलोकन गरेर फर्की नसक्दै धुलिखेल अस्पतालबाट हतार–हतार डिस्चार्ज भएर बी एन्ड बी अस्पताल ग्वार्को पुगिसकेका थिए। धुलिखेल अस्पतालले उनलाई खासै कुनै चोटपटक नलागेको र सामान्य अवस्थामा रहेको जनाई डिस्चार्ज गरेको थियो। यी सबै घटनाबाट पनि बोगटीलाई शंकाको घेरामा राखेर छानबिन गर्नुपर्ने माग भइरहेको छ। धेरै दबाब भएपछि घटनाको एक सातापछि एउटा छानबिन समिति बनेको छ। त्यसो त चालक बोगटीलाई बी एन्ड बी अस्पतालबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्ला अदालत पेश गरेलगत्तै अदालतले १० दिनको म्याद पनि थपिसकेको छ। घटनाको छानबिनका लागि तीनै परिवारका आफन्तले किटानी जाहेरी दिइसकेका छन् र चालकलाई सवारी ऐनअन्तर्गत पक्राउ गरी थुनामा राखिएको छ। तैपनि दिदीजस्तै पत्रकार बन्ने हो भन्दै कर्मपथमा लागेका मेरो प्यारो भाइ, मलाई त यो घटना र छानबिन पनि कतै निर्मला हत्याकाण्डजस्तै रहस्यमय बन्ने त होइन भन्ने पो पीर पर्न थालेको छ। जे भए पनि इमानदारीपूर्वक घटनाको छानबिन भई जबसम्म सत्य–तथ्य बाहिर आउँदैन, तबसम्म न तिम्रो आत्माले शान्ति पाउँछ, न मैले चैन पाउँछु !

तिम्रो प्यारी दिदी
भगवती तिमल्सिना

प्रतिक्रिया दिनुहोस्