प्रधानमन्त्री बालुवाटार फिर्ता



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ शिक्षण अस्पतालबाट डिस्चार्ज भई बालुवाटार फर्कनुभएको छ।

कात्तिक १२ गते बिहान छातीमा समस्या देखिएपछि उहाँ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना हुनुभएको थियो। उहाँमा देखिएको समस्या पूर्णरूपमा निदान भएपछि अस्पतालले डिस्र्चाज गरेको हो। उहाँ अस्पतालबाट सीधै सरकारी निवास बालुवाटर पुग्नुभएको थियो। डा. अरुण सायमीको टोलीले उहाँको उपचार गरेको थियो।

चिकित्सकहरूले उहाँलाई चिसोबाट बच्न र धेरै धपेडी नगर्नसमेत सुझाव दिएका छन्। उहाँ बालुवाटारमा केही दिन आरामपछि मात्रै नियमित काममा फर्कनुहुने भएको छ।

उहाँ अस्पतालबाट बाहिरिने क्रममा सबैलाई अभिवादन गर्दै मुस्कुराएर सरकारी सवारीमा बस्नुभएको थियो।

सरकारी निवास बालुवाटार पुगेपछि प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिनुका साथै आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने पार्टी नेता, कार्यकर्ता, आमजनताप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँले मुलुकमा भएका पछिल्ला घटनाक्रमको जानकारीसमेत सरकारी अधिकारी तथा आफ्नो सचिवलायमार्फत लिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्