२६४ दिनपछि बर्खास्त भए मन्त्री स्थापित



नेपाल समाचारपत्र
हेटौंडा
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको दोस्रो वरीयतामा रहनुभएका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गर्नुभएको छ।

मन्त्री स्थापितको बर्खास्तगीपछि स्थापितले सम्हाल्दै आएको मन्त्रालय तत्कालका लागि मुख्यमन्त्री आफैले सम्हाल्ने हुनुभएको छ। संविधानले दिएको अधिकारअनुसार मुख्यमन्त्रीले मन्त्री स्थापितलाई बर्खास्त गर्नुभएको हो।

एक मन्त्रीलाई प्रदेश सरकारका मुख्यमन्त्रीले बर्खास्त गरेको नेपालमा सम्भवतः यो नै पहिलो हो। मुख्यमन्त्रीले बर्खास्तगीबारे प्रदेश प्रमुख अनुराधा कोइरालालाई शुक्रबार नै जानकारी गराउनुभएको छ। २०७४ माघ २९ गते पद तथा गोपनीयताको शपथ लिनुभएका मन्त्री स्थापितलाई २ सय ६४ दिनपछि पदबाट हटाइएको हो। उहाँ काठमाडौंबाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ।

मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड (ख) अनुसार स्थापितलाई बर्खास्त गरी उहाँको मन्त्रालयको जिम्मेवारी आफैले लिनुभएको पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो।

मन्त्री स्थापितलाई हटाउन प्रदेशका धेरैजसो मन्त्री सहमत भए पनि पार्टी नेतृत्व र प्रधानमन्त्रीसँगको छलफल बाँकी रहेकाले मुख्यमन्त्री पौडेल बिहीबार काठमाडौं जानुभएको थियो। त्यहाँ प्रधानमन्त्री केपी ओलीसँग पौडेलले यस विषयमा परामर्श गर्नुभएको थियो। र, प्रधानमन्त्रीको ‘ग्रिन सिग्नल’पछि स्थापित बर्खास्तगीमा पर्नुभएको हो।

मुख्यमन्त्रीले स्थापितसँग ‘काम गर्न नसकिने’ भन्दै असन्तुष्टि जनाएपछि हटाउन मन्त्रीहरू र पार्टी नेतृत्वसँग छलफल गर्नुभएको थियो। स्थापितलाई ‘हटाउने’ प्रयोजनकै लागि मुख्यमन्त्री पौडेल र अर्थ तथा योजनामन्त्री कैलाश ढुंगेललगायत बिहीबार काठमाडौं जानुभएको थियो।

मन्त्री स्थापितलाई ‘बर्खास्त’ गरिएको पत्र तयार पारेर मुख्यमन्त्री पौडेल काठमाडौं जानुभएको थियो।

स्थापितलाई नहटाए आफूले काम गर्न नसक्ने भनाइ पौडेलले प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमै पुगेर राख्नुभएको थियो।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भन्दै काठमाडौं जानुभएको थियो। मुख्यमन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरी यसबारे परामर्श गर्नुभएको थियो। स्थापित पनि प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे पनि भेट्न नपाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्