युवाहरुको लगानीमा गाउँमै साबुन उद्योग



धनवीर दाहाल, रुकुम ।
गरे असम्भ के छ र ? धन कमाउनका लागी हरेक दिन बिदेशिने युवाहरुलाई चुनौती दिँदै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –११ सिमबजारमा पाँच जना युवाहरुको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय पाँचजना युवाहरुको लगानीमा ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो ।

यहाँको स्थानीय वनमा साबुन उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चापदार्थ चिउरी प्रसस्तै पाइने र साबुनको बजारको सम्भावना पनि राम्रो देखिएकोले यसतर्फ लागेको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताउनुभयो । पहिलो चरणमा करिब दुईहजार साबुन उत्पादन गरिएको कामीको भनाई छ ।

उत्पादन गरिएका साबुनलाई बजारसम्म पठाउनका लागि साबुनको कभर छाप्ने काम भइरहेको र कभर छापिएपछि प्याकिङ गरेर बजारमा पठाउने कम्पनीले जनाएको छ । परीक्षणको लागि कतिपयले विनाकभर लिएको साबुन प्रयोगपछि राम्रो भएको प्रतिक्रिया जनाएका छन् ।

सुगन्धित, छाला चम्किलो बनाउने र चायाँपोतो समेत हटाउने यस साबुनको विशेषता रहेको छ । प्रति साबुन ५० रुपैयाँ रहेको यसको नाम ‘चिउरी हर्वल साबुन’ राखिएको कम्पनीका सहनिर्देशक वीरबहादुरले बताउनुभयो ।

अहिलेलाई १५ लाख रुपैयाँको लगानीमा साबुन उत्पादन गर्न सुरु गरिएको यस कम्पनीमा स्थानीय प्रेमवीर कामी, वीरबहादुर कामी, नवीना कामी, जयमती कामी र रत्ने कामीले लगानी गर्नुभएको छ । ५ जनाले रोजगारी समेत प्राप्त गरेको यस उद्योगबाट उत्पादित साबुनलाई यस जिल्लाको साथै छिमेकी जिल्ला जाजरकोट र डोल्पासम्म पु¥याउने लक्ष्य रहेको कम्पनीका निर्देशक प्रेमवीर कामीले जानकारी दिनुभयो ।

बाहिरबाट आउने साबुनलाई भन्दा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न नगरपालिकाले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले नुहाउने साबुन मात्र उत्पादन गरिएपनि उद्योगबाट विस्तारै कपडा धुने साबुन पनि उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

उद्योग प्रवद्र्धनका लागि यस आर्थिक वर्षमा नगरपालिकाबाट पनि सहयोग प्रदान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो ।
यस्ता उद्योगहरु सञ्चालनका लागि नगरपालिकाले लघु उद्यम प्रबद्र्धन कोष मार्फत लगानी गर्नका लागि बजेटको व्यवस्था गरेको उहाँको भनाई छ । स्थानीय स्तरमै उद्योगमार्फत आम्दानीका स्रोत बढाउन नगरपालिकाले पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्