चंगा चेट र मालिका सँगै



यो साता एकसाथ दुई फिल्म चंगा चेट र मालिका रिलिजमा आउने भएका छन्। आज शुक्रबार यी दुवै फिल्म अल नेपाल रिलिजमा आउन लागेका हुन्।

पशुपतिप्रसाद निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन रहेको छ। फिल्म पैसाको पछि लाग्ने युवा पुस्ताको कथावस्तुमा आधारित रहेको र समाजका हरेक युवाले आफ्नो कथा फिल्ममा पाउने निर्देशक खनालले बताए। फिल्म कमेडी जनरामा रहेको पनि उनले बताए। उनले आफूले निर्देशन गरेका अहिलेसम्मका व्यावसायिक फिल्ममा चंगा चेट ठूलो फ्रेममा भएको बताए।

फिल्ममा सुरक्षा पन्त, प्रियंका कार्की, आयुषमान देशराज, परमिता राज्यलक्ष्मी राणा, सन्दीप क्षत्री, अर्पण थापा, शिशिर वाङ्देल, सरिता गिरी, ज्याक श्रेष्ठ, निश्चल बस्नेत, बेनिषा हमाल, ऋचा शर्मालगायतका कलाकार प्रमुख भूमिकामा रहेका छन्। रविन आचार्यको छायांकन निर्देशन रहेको फिल्मलाई नवराज उप्रेतीले खिचेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन्। यो फिल्ममा समावेश गीत गोजीमा दाम छैनले युट्युबमा डेढ करोड भ्युज पाएको छ। फिल्म माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन्।

अर्को फिल्म मालिका नायिका रेखा थापाको निर्माण निर्देशन र अभिनयमा बनेको छ। महिला सशक्तीकरणका विषयमा निर्माण गरिएको भनिएको फिल्ममा रेखाले जाजरकोटकी किशोरी कमला वलीलाई मुख्य भूमिकामा प्रस्तुत गरेकी छिन्। फिल्ममा उनी स्वयं लेडी हिरोका रूपमा प्रस्तुत भएकी छिन्। फिल्म सरस्वती थापाको निर्माण र नरबहादुर कार्की कार्यकारी निर्माणमा बनेको हो।

प्रतिक्रिया दिनुहोस्